लुम्बिनीमा सरकार विस्तारः एमाले मन्त्रीको नाम मुख्यमन्त्रीको गोजीमा, कांग्रेस दलका नेता देउवाको खोजीमा – Nepal Press

लुम्बिनीमा सरकार विस्तारः एमाले मन्त्रीको नाम मुख्यमन्त्रीको गोजीमा, कांग्रेस दलका नेता देउवाको खोजीमा

रुपन्देही । मुख्यमन्त्री नियुक्तिपछि लुम्बिनी प्रदेशमा सरकारमा जानका लागि सत्तारुढ नेकपा एमाले र नेपाली काँग्रेसका सांसदहरुको दौडधुप सुरु भएको छ ।

सोमबार प्रदेश प्रमुख अमिक शेरचनले एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेपछि सांसदहरु पुनः दौडधुपमा लागेका हुन् ।

बुधबार बिहान मुख्यमन्त्रीसहित ९ मन्त्रीको पनि शपथ तयारी भएपनि अहिलेसम्म दुवै पार्टीले कुनै मन्त्रीको नाम सार्वजनिक गरेका छैनन् । बुधबार कांग्रेसका ५ र एमालेका ४ मन्त्रीले शपथ लिनेगरी तयारी गरिएको छ ।

एमालेको नेतृत्वमा सरकार बनेपछि दुवै पार्टीमा मन्त्री बन्न चाहनेको लिष्ट लामो बनेको छ । एमाले नेताहरुका अनुसार पार्टी केन्द्रले मन्त्रीका लागि पठाएको नाम मुख्यमन्त्री बनेका संसदीय दलका उपनेता चेतनारायण आचार्यले पाइसकेका छन् ।

तर अहिलेसम्म भोलि मन्त्री हुने सांसदहरुलाई पनि केही भनिएको छैन । नेपाली कांग्रेसका मन्त्रीहरुको नाम टुंगाउन दलका नेता डिल्लीबहादुर चौधरी सोमबार काठमाडाैं गएका छन् ।

प्रदेश प्रमुख कार्यालयमा एमालेका सांसदहरुसहित मुख्यमन्त्री दावी पेश गर्न गएका उनी पार्टीको काम परेकाले काठमाडाैं जान लागेको बताए । उनले मन्त्रीको नाम आफू फर्केपछि मात्रै टुंगो लाग्ने सुनाए । ‘पार्टी सभापतिले बोलाउनुभएको छ, म आजै काठमाडाैं गएर फर्केपछि मन्त्रीको नाम टुंगो लाग्छ, यो पटक सबै मन्त्री एकै पटक शपथ लिनेगरी समय मिलाउन लागेका छौं, पटक पटक गर्दा सन्देश राम्रो गएन’ चौधरीले भने ।

लुम्बिनीमा १२ मन्त्रालय छन् । स्रोतका अनुसार दुई ठुला दलबीच मन्त्रालय थपघट नगर्ने सहमति भइसकेकोले र साना दललाई स्पेस दिनका लागि अहिले ९ मन्त्रालयमध्ये ५ कांग्रेस र ५ एमालेलाई दिने समझदारी बनेको हो ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, जनमत र लोसपाका ३–३, जसपाका २ र जसपा नेपालका १ प्रदेश सभा सदस्य छन् । ४ सदस्य रहेको राप्रपाले कुनै निर्णय गरेको छैन । माओवादीका १० सांसद रहेका छन् । भने नेकपा एस, जनमोर्चा र स्वतन्त्रबाट एक एक सांसद रहेका छन् उनीहरु सहित १३ जना प्रतिपक्षमा बस्ने भएका छन् ।

५–५ मन्त्रालय एमाले कांग्रेसले लिने र २ मन्त्रालय सरकारलाई समर्थन गर्ने साना दलहरूलाई दिने दुई दलको तयारी छ । साना दललाई बिना सर्त सरकारलाई समर्थन गर्न उनीहरूले आग्रह गरिरहेका छन् । एमाले नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति, जनमत, जसपा, जसपा नेपाल र लोसपाले समर्थन गर्ने जनाएका छन् ।

मुख्यमन्त्री नियुक्त हुँदा यी दलले समर्थन भने गरेका छैनन् । एमाले प्रमुख सचेतक तुलसी चौधरीले साना सबै दललाई सहकार्यका लागि आग्रह गरिएको तर कुनै शर्तलाई मान्य नहुने जानकारी दिइएको बताए ।

कांग्रेसबाट सरकारको नेतृत्व गर्ने र मन्त्री बन्नेहरूको लबिङ र दौडधुप पनि सुरु भएको छ । कांग्रेसबाट दाङका राजु खनालले पार्टीको नेतृत्व गरेर सरकारमा जाने सम्भावना छ । खनाल यसअघि स्वास्थ्यमन्त्री बनेका थिए ।

अर्को पक्षले गुल्मीका धनेन्द्र कार्की पनि हुनसक्ने बताएका छन् । आर्थिक मामिला मन्त्रालय लिएर खनालले नै नेतृत्व गर्नसक्ने सम्भावना रहेको कांग्रेस नेताहरुको भनाइ छ । खनाल संस्थापन इतर र कार्की संस्थापन पक्षका हुन् ।

कांग्रेसबाट प्युठानका सरोज थापा (रोज राणा), बर्दियाका जन्मजय तिमिल्सिना, बाँकेका बादशाह कुर्मी पनि मन्त्री बन्दै पहिलो सूचीमा छन् । त्यसबाहेक पाल्पाका बिरबहादुर राना, बर्दियाका भुवनेश्वर चौधरी, दाङका प्रचण्ड विक्रम न्यौपाने, प्यूठानकी निमा गिरी पनि मन्त्रीको लबिङमा छन् ।

त्यस्तै एमालेमा पनि मन्त्रीका आकांक्षीहरू धेरै छन् । मन्त्रीका लागि रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरी, कपिलवस्तुका विष्णु पन्थी बाँकेका रत्न खत्री र बाँकेकै बसन्ती न्यौपाने, दाङकी सीता चौधरी बलिया दावेदार हुन् ।

ढकाल यसअघि सहरी विकास तथा खानेपानी मन्त्री, पन्थी आन्तरिक मामिला मन्त्री, खत्री सामाजिक विकासमन्त्री थिए । श्रेष्ठ पूर्व मन्त्री हुन् भने प्रमुख सचेतक रहेका चौधरी अहिलेसम्म मन्त्री बनेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर