कोशीका पूर्वमुख्यमन्त्रीले शौचालयमा थुन्ने धम्की दिएको भन्दै सचिवद्वारा जिप्रकामा उजुरी – Nepal Press

कोशीका पूर्वमुख्यमन्त्रीले शौचालयमा थुन्ने धम्की दिएको भन्दै सचिवद्वारा जिप्रकामा उजुरी

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने धम्की दिएको एक मन्त्रालयका सचिवले सीडीओसँग शान्ति सुरक्षाको माग गरेका छन् । सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई हिजो साँझ ४ बजेर ५३ मिनेटमा कार्कीले फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको दिएको उल्लेख गर्दै निवेदन दिएका हुन् ।

उनले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रदेश प्रमुख सचिव केदारनाथ शर्मासमक्ष सुरक्षाको माग राख्दै निवेदन दिएका हुन् । पूर्वमुख्यमन्त्रीले नै कुटपिट गर्ने धम्की दिएपछि आफू असुरक्षित भएकाले सुरक्षाको माग राख्दै निवेदन दिएको भट्टराईले बताए ।

उनले भने, ‘पूर्वमुख्यमन्त्रीले फोन गरेर तँलाई चुट्दै शौचालयमा लगेर थुन्छु भन्नुभयो । मलाई असुरक्षा भयो मैले सुरक्षाको माग राख्दै निवेदन दिएको हुँ ।’

आफूसित धम्कीको अडिओ रेकर्ड भने नरहेको सचिव भट्टराईले बताए ।

विराटनगरमा सञ्चालन भएको विराट गोल्ड कपको पैसा मन्त्रालयले नदिएर असहयोग गरेको भन्दै आफूलाई धम्की दिएको सचिव भट्टराईको दाबी छ । केदार कार्की मुख्यमन्त्री हुँदा विराटनगरमा भएको गोल्डकपका लागि दिने भनिएको रकम अर्थले सहमति नदिएपछि रोकिएको थियो । आफू मुख्यमन्त्री हुँदै अर्थले सहमति नदिएर रोकिएको बजेटको विषयमा फोन गरेर कुटपिट गर्ने धम्की आएको सचिव भट्टराईले बताए ।

सो बेला कार्कीले अर्थमन्त्रालयसमेत सम्हालेका थिएँ । आफैं विभागीय मन्त्री भएको बेला कानूनको अभावमा अर्थले रकम निकासाको सहमति दिएन ।

भट्टराईले भने ‘मैले के गरौँ ? भनेर पूर्वमुख्यमन्त्रीलाई बहालमा हुँदै सोधेको थिएँ । त्यति बेला केही निर्णय गरिदिनु भएन । अहिले आएर सोही बजेटका विषयमा आक्रमणको धम्की दिनुभयो ।’

सामाजिक विकास मन्त्रालयले यस वर्ष विराट गोल्ड कपसँगै झापा गोल्ड कप र बुढासुब्बा गोल्डकपका लागि बजेट माग गरेको थियो । तर, पुरानो रकम भुक्तानीमा अर्थले सहमति नदिँदा पुरानो भुक्तानी गर्न मन्त्रालयले सकेको थिएन । सोही विषयमा असहयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री कार्कीले धम्की दिएका हुन् ।

मोरङका सीडीओ प्रेमप्रसाद भट्टराईले आफूकहाँ निवेदन परेको बताए । उनले निवेदन परेपछि आफूले सचिव भट्टराईको सुरक्षाको प्रबन्ध मिलाएको बताए । उनले सुरक्षा समितिको बैठक बसेर थप सुरक्षाको प्रबन्ध मिलाउने बताए ।

निवर्तमान मुख्यमन्त्री कार्कीले भने यस्ता ससाना इस्यूमा कुरा नगर्न अग्रह गरे ।

उनले भने, ‘यो कर्मचारीसँगको कुरामा के समाचार लेख्नुहुन्छ ? उहाँले जे भन्नु भयो त्यही लेख्नुस् । यसमा मेरो कुनै प्रतिक्रिया छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *