विशेष अधिवेशनमा नेकपा एसका केही गएनन्, सरकारले बहिस्कार गर्दा कृषिमन्त्री पुगिन् – Nepal Press
सुदूरपश्चिम

विशेष अधिवेशनमा नेकपा एसका केही गएनन्, सरकारले बहिस्कार गर्दा कृषिमन्त्री पुगिन्

२ मिनेट मै सकियो बैठक, अनिश्चितकालसम्मको लागि स्थगित

कैलाली । प्रदेश प्रमुख नजिर मियाँले आह्वान गरेको सुदूरपश्चिम प्रदेशको विशेष अधिवेशनमा नेकपा एकीकृत समाजवादीका कुनै पनि सांसद उपस्थित भएनन् ।

४ गते प्रदेश प्रमुख मियाँसमक्ष २१ जना सांसदहरूले विपद्का विषयमा सरकारलाई निर्देशन दिन आवश्यक रहेको भन्दै अधिवेशन आह्वान गर्न लिखित आग्रह गरेका थिए ।

प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेश सभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने संविधानको धारा १८३ मा व्यवस्था रहेको छ ।

उक्त व्यवस्था अनुसार प्रदेश प्रमुख मियाँले आज २ बजेको लागि बैठक आह्वान गरेका थिए । प्रदेश प्रमुखले तोकेको समय र मितिमा बैठक आह्वान गरे पनि नेकपा एकीकृत समाजवादीका कोही पनि सांसद बैठकमा उपस्थित भएनन् । सुदूरपश्चिममा नेकपा एसका चार सांसद छन् । संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री छन् भने प्रमुख सचेतक माया पन्त उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारीमा छन् ।

ती बाहेक अन्य दुई सांसद प्रकाश रावल र नरेश शाही पनि बैठकका उपस्थित थिएनन् । मुख्यमन्त्री सोडारीले आफ्ना केही सांसदहरूलाई बैठकमा सरकार सहभागी नहुने सन्देश दिएका थिए ।

मुख्यमन्त्री सोडारीको सोही योजना अनुसार सोडारी र पन्त बैठकका आएनन् । अन्य दुई नेताले भने प्राविधिक कारणले आफू संसद्मा उपस्थित हुन नपाएको जनाएका छन् ।

‘म उपचारको निम्ति काठमाडौँ छु त्यो भएको हुँदा बैठकमा जान पाइन’ नेकपा एसका उपनेता रावलले भने ‘ बैठकमा उपस्थित हुने वा नहुने भन्ने विषयमा त्यस्तो विमर्ष भएको होइन ।’

मुख्यमन्त्री सोडारीले सरकारका मन्त्रीहरूलाई भने बैठकका उपस्थित नहुने बताएका थिए । बजेट पारित गर्न नसकेपछि सरकारले अध्यादेश ल्याउने तयारी गरेको थियो तर, त्यो भन्दा पहिले नै एक चौथाइ सांसदले लिखित रूपमा प्रदेश प्रमुखलाई बैठक आह्वान गर्न भनेर बैठक आह्वान भएपछि अध्यादेश ल्याउने मुख्यमन्त्रीको तयारीमा ब्रेक लागेको थियो ।

मुख्यमन्त्री सोडारी त्यसपछि रुष्ट भएका थिए । आजको बैठकमा पनि उनले सहभागी नहुने बताएका थिए । हिजोको कार्य व्यवस्था परामर्श समितिमा पनि सरकारको तर्फबाट कोही सहभागी भएका थिएनन् ।

सरकारका कोही पनि बैठकमा सहभागी नहुन भनिए पनि कृषि तथा भूमि सुधार मन्त्री टिका थापा बैठकमा सहभागी भएकी थिइन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री भएकी हुन् । नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले पनि उनलाई बैठकमा आउन भनेका थिए ।

‘मैले पनि उहाँलाई प्रदेश सभा बैठकमा आउन भनेको थिए ’ संसदीय दलका नेता चौधरीले भने ‘बैठकमा नआउने कुरा ठिक होइन भन्ने उहाँलाई पनि लागेको होला उहाँ आउनु भयो ।’

मन्त्री थापाले आफूलाई केही दिन पहिले मुख्यमन्त्री सोडारीले केही दिन काठमाडौँमै बस्न भनेको तर, प्रदेश सभा बैठक आह्वान भएपछि बैठकका सहभागी भएको बताइन् । उनले संसदीय दलको नेताले पनि आफूलाई बैठकमा आउन भनेको बताइन् ।

‘मुख्यमन्त्रीले केही दिन पहिले काठमाडौँ हुँदा केही दिन उतै बस्नुहोला भन्नु भएको थियो त्यो बेला कुरा प्रस्ट भन्नुभएन आज बैठकका अन्य कुनै पनि मन्त्री उपस्थित हुनुहुन्थेन’ उनले भनिन्, ‘प्रदेश सभा बैठक आह्वान भएपछि म गएको हो । दलको नेताले पनि खबर गर्नु भएको थियो । ’

सरकारको तर्फबाट एक मन्त्री उपस्थित भएपछि सभामुख भीम भण्डारीले बैठक सुरु गरेका थिए । उनले प्रदेश प्रमुख मियाँले पठाएको पत्र पढेर सुनाएका थिए । त्यस लगत्तै सभामुख भण्डारीले अनिश्चितकालसम्मको लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर