कांग्रेसले भन्यो- मुख्यमन्त्रीबाट प्रदेश प्रमुखको अपमान भयो, राजीनामा दिनुस् – Nepal Press

कांग्रेसले भन्यो- मुख्यमन्त्रीबाट प्रदेश प्रमुखको अपमान भयो, राजीनामा दिनुस्

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुखको अपमान गरेको बताएको छ ।

मङ्गलवार एक विज्ञप्ति जारी गर्दे संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुखको अपमान गरेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।

मङ्गलवारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारी उपस्थित भएनन् । प्रदेश प्रमुखसमक्ष प्रदेशका एक चौथाइ सांसद उपस्थित भएर विपद्का विषयमा सरकारलाई निर्देशन दिन भन्दै अधिवेशन आह्वान गर्न लिखित आग्रह गरेका थिए ।

एमाले कांग्रेसका २१ जना सांसदको हस्ताक्षरसहित आह्वान गरिएको बैठकमा मुख्यमन्त्री सोडारी उपस्थित नहुनुलाई कांग्रेसले गैर संवैधानिक, गैरजिम्मेवार र सत्तालिप्सा कार्य रहेको ठहर गरेको छ ।

‘माननीय प्रदेश प्रमुखले यस्तो प्राकृतिक विपत्तिमा परेका प्रदेशवासीलाई उद्धार राहत पुनर्स्थापना र घाइतेको उपचारका लागि प्रदेश सभामा आवश्यक छलफल गर्न आव्हान गरेको प्रदेश सभाको अधिवेशनमा माननीय मुख्यमन्त्री अनुपस्थित हुनु गैरसंवैधानिक, गैरजिम्मेवार, सत्तालिप्सा र प्रदेश प्रमुखको समेत अपमान भएको संसदीय दलको ठहर छ’ संसदीय दलका नेता शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ‘, यस्तो विपत्ति र प्रदेश बजेट शून्यताको अवस्थामा आइपुग्दा कुनै कोणबाट विश्वासको मत प्राप्त गर्न नसक्ने अल्पमतमा रहेको कामचलाउ प्रदेश सरकारका माननीय मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दल आग्रह गर्दछ।’

विज्ञप्तिमा गम्भीर परिस्थितिमा संवेदनशील भई प्रदेशको गरिमा बढाउन प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सभा सदस्यहरूलाई पनि आग्रह गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट पारित नभएपछि अहिले प्रदेश सरकार बेखर्ची भएको छ । २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले अहिले सम्म विश्वासको मत लिने मिति निर्धारण गरेका छैनन् । कांग्रेसले यस विषयमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘बजेटमाथिको छलफल र वैधानिक विकल्पहरूको खोजी समेत नगरी काम चलाऊ सरकारले प्रदेश बजेट शून्यताको अवस्था पुर्‍याएको प्रति नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशमा बजेट शून्यताका कारण सिङ्गो अर्थतन्त्रमाथि नै गम्भीर असर परिरहेको छ । प्रदेश सरकारका मन्त्रालय र मातहतका निकायहरूले राजश्व संकलन गर्ने र खर्च गर्ने कार्यमा समेत अवरोध भई प्रदेशको समग्र आर्थिक प्रणाली नै तहसनहस हुने अवस्था वर्तमान सरकारले गरेको छ ।’

मनसुन सुरु भएदेखि सुदूरपश्चिम प्रदेशमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो, चट्याङ, डुबान र नदी कटानले गर्दा ठुलो जनधनको क्षति भएको भन्दै सरकारले राहत क्षतिपूर्ति र पुनर्स्थापनामा पनि कुनै चासो नदिएको कांग्रेसको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर