लुम्बिनी नाउपामा पनि विवाद, सरकारमा जाने अघिल्लो दिन दलको नेताबाट हटाइए रन्जितानिकट धर्म – Nepal Press

लुम्बिनी नाउपामा पनि विवाद, सरकारमा जाने अघिल्लो दिन दलको नेताबाट हटाइए रन्जितानिकट धर्म

रुपन्देही । केन्द्रमा विवादित रहेको नागरिक उन्मुक्ति पार्टी लुम्बिनीमा पनि उस्तै गरी विवादमा तानिएको छ । अध्यक्ष रन्जिता चौधरी र संस्थापक रेशम चौधरीबीचको विवादले केन्द्रमा जस्तै लुम्बिनीमा पनि दलको नेता फेरेको छ ।

बुधबार सरकारमा जाने तयारी गरेका रन्जिता समूहका धर्मबहादुर चौधरीलाई दलको नेताबाट हटाएर रेशम चौधरी समूहका राजकुमार चौधरीलाई दलको नेता बनाइएको छ ।

लुम्बिनीमा ४ सांसद रहेको नाउपामा अहिले दुई जना रन्जिता र दुई जना रेशम समूहमा देखिएका छन् । रन्जिता समूहमा रहेका धर्मबहादुर चौधरी एमालेकांग्रेस गठबन्धनको सरकारमा जाने तयारीमा थिए । बुधबार बिस्तार हुन लागेको मन्त्रीपरिषदमा उनले जाने जनाउ दिइसकेका थिए ।

नयाँ जिम्मेवारी पाएका दलका नेता राजकुमार चौधरीले प्रदेश सभा सचिवालयलाई आफ्नो पार्टीको निर्णयबारे जानकारी दिएको जनाएका छन् । नाउपाले दलको नेतासँगै प्रमुख सचेतक र सचेतक पनि फेरेको हो ।

यसअघि प्रमुख सचेतक रहेका राजकुमार चौधरी दलको नेता बनेपछि सो स्थानमा नरमाया ढकाललाई सचेतकमा निर्मलादेवी थारुलाई जिम्मेवारी दिइएको जनाइएको छ ।

यता दलको नेताबाट हटाइएका धर्मबहादुर चौधरीले यो विषयमा कुनै सत्यता नभएको दावी गरेका छन् । उनले आफू र नरमाया ढकाल त्यो बैठकमै नगएको र निर्मलादेवी चौधरीलाई जबरजस्ती हस्ताक्षर गराइएकोले यो निर्णय बुधबार नै अवैध हुनेगरी प्रदेश सभामा निवेदन दिने उनले दाबी गरे ।

‘यसमा कुनै वैधानिकता छैन, बहुमत हामीतिरै छ, निर्मलादेवीलाई झुक्काएर हस्ताक्षर गराइएको छ, यो विषयमा उहाँले भोलि नै विज्ञप्ति निकाल्नुहुन्छ’ चौधरीले नेपाल प्रेससँग भने ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर