नियमअनुसार विद्युत बक्यौता उठाइन्छ : प्रधानमन्त्री ओली
'सरकार र विद्युत प्राधिकरणबीच बाहिर आएजस्तो कुनै पनि मतभेद छैन'
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियमअनुसार उद्योगहरुको विद्युत बक्यौता उठाइने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै यस्तो बताएका हुन् ।
उनले अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगहरूमा काटिएको विद्युत लाइन अहिले जोडिएको जानकारी दिँदै सरकार र विद्युत प्राधिकरणबीच बाहिर आएजस्तो कुनै पनि मतभेद नरहेको पनि स्पष्ट पारेका छन् ।
उनले लेखेका छन्, ‘हामीलाई उद्योगहरुबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ । यस विषयमा सरकार र विद्युत प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन ।’
बक्यौता नतिरेपछि प्राधिकरणले उद्योगको लाइन काटेको थियो । प्रधानमन्त्री ओलीले लाइन जोड्न निर्देशन दिएका थिए ।