भारतसँग नेपालको फराकिलो हार
काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ । भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालकी सीता रानामगरले सर्वाधिक १८ रन जोडिन् । बलिङमा भारतकी दिप्ती शर्माले सर्वाधिक ३ विकेट लिइन् ।
यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो ।
भारतका लागि ओपनर शफाली बर्माले सर्वाधिक ८१ रन बनाइन् । बर्माले दयालन हेमलतासँग मिलेर पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरेकी थिइन् । हेमलता ४७ रन बनाएर आउट भइन् । सजीवन सजना १० रन बनाएर आउट हुँदा जेमिमाह रोड्रिग्ज २८ र ऋचा घोष ६ रनमा अविजित रहे । बलिङमा नेपालकी सीता रानामगरले दुई विकेट र कविता जोशीले एक विकेट लिएकाएका थिए ।
हारसंगै नेपालले एसिया कपको यात्रा टुंगाएको छ । पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसंग ९ विकेटले पराजित भएको थियो ।