किन राम्रो हो सामान्य प्रसूति ? – Nepal Press

किन राम्रो हो सामान्य प्रसूति ?

बच्चा जन्माउनु भनेको एउटा प्राकृतिक प्रक्रिया हो । जब महिला र पुरुष प्रजनन उमेरमा पुग्छन्, बच्चा जन्माउनु महत्वपूर्ण कार्यभित्र पर्छ । यसको लागि महिलाले विशेष भूमिका निभाउनुपर्ने हुन्छ । किनकि गर्भधारण समयदेखि बच्चा जन्माउनेसम्मको जिम्मेवारी महिलाको नै धेरै हुन्छ । यसलाई प्रकृतिले महिलालाई दिएको महत्वपूर्ण वरदानको रुपमा लिन सकिन्छ । महिलाले जब प्रसव व्यथा पार गरी बच्चा जन्माउन सफल हुन्छिन्, उनलाई जीवनमा ठूलो सफलता हासिल गर्न सकेको अनुभव हुन्छ ।

गर्भवतीदेखि बच्चा जन्माउने समयसम्म महिलाले जीवनमा फरक खालको अनुभव संकलन गर्छिन् । बच्चा जन्माउने काम महिलाको जीवनको अविस्मरणीय क्षणभित्र पर्छ । यस समयको अनुभवलाई राम्रो बनाउन महिलाले प्रसव र प्रसूति समयमा पाएको हेरचाह र सहयोग महत्वपूर्ण हुने गर्छ । यस समयमा स्वास्थ्यकर्मी र घरपरिवारका सदस्यहरुको साथ र सहयोगले महिलालाई विशेष ऊर्जा दिन्छ ।

सामान्य प्रसूति भन्नाले गर्भवती महिलाको पूरा महिनाको गर्भभित्र आफैं प्रसव व्यथा शुरु भई योनीबाट बच्चा जन्माउनु हो । महिला र उनको पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्था ठीक छ र कुनै प्रकारको जटिलता छैन भने महिलालाई सामान्य प्रसूतिबाट बच्चा जन्माउन प्रोत्साहन गर्नुपर्छ । सामान्य प्रसूति गराउँदा आमा र बच्चा दुवैको लागि धेरै नै फाइदाजनक हुन्छ । सामान्य प्रसूतिलाई अत्यन्त राम्रो मानिन्छ, तर त्यससम्बन्धी आमगर्भवती महिलामा सचेतनाको कमी छ ।

अहिलेको परिप्रेक्ष्यमा शल्यक्रियाबाट बच्चा जन्माउनेदर विश्वभरि नै बढेको छ । विश्वको तथ्यांक हेर्ने हो भने वल्र्ड हेल्थ अर्गनाजेसनका अनुसार प्रत्येक ५ जना (२१ प्रतिशत) महिलामा १ जनाको शल्यक्रियाबाट बच्चाको जन्म भइरहेको छ ।

कतिपय अवस्थामा महिलाले सामान्य तरिकाले बच्चा जन्माउँछु भन्दाभन्दै पनि आमा र बच्चाको स्वास्थ्य र आकस्मिक अवस्थाहरुका कारणहरुले सामान्य प्रसूति गराउन मिलिरहेको हुँदैन । यद्यपि महिला र उनको पेटमा रहेको बच्चाको स्वास्थ्यका हिसाबले विभिन्न स्वास्थ्य समस्या र आकस्मिक अवस्था छन् भने शल्यक्रिया नै अन्तिम विकल्प हो । किनकि शल्यक्रिया नै जोखिममा रहेका आमा र बच्चाको ज्यान बचाउने मुख्य उपाय हो । अहिलेको परिप्रेक्ष्यमा शल्यक्रियाबाट बच्चा जन्माउनेदर विश्वभरि नै बढेको छ । विश्वको तथ्यांक हेर्ने हो भने वल्र्ड हेल्थ अर्गनाजेसनका अनुसार प्रत्येक ५ जना (२१ प्रतिशत) महिलामा १ जनाको शल्यक्रियाबाट बच्चाको जन्म भइरहेको छ ।

त्यस्तै नेपालको तथ्यांक नेपाल डेमोग्राफी र हेल्थ सर्भे २०२२ अनुसार १८ प्रतिशत प्रसूति शल्यक्रियाबाट भएको पाइन्छ । राष्ट्रिय विवरणले यस्तो नतिजा देखाए पनि यसको दर धेरैजसो अस्पतालहरुको तथ्यांकअनुसार योभन्दा बढिरहेको पाइन्छ । आजकल कतिपय महिलाहरुले शल्यक्रियाको कुनै तोकिएको अवस्था नभए तापनि डाक्टरलाई अनुरोध गरी शल्यक्रिया गराउने दर बढिरहेको छ ।

सामान्य प्रसूति गराउँदा हुने फाइदाहरुको बारेमा महिला र उनका परिवार पनि सजग हुन आवश्यक छ । विभिन्न अध्ययनअनुसार शल्यक्रियाबाट जन्मिएका बच्चाहरुमा पछि श्वासप्रश्वाससम्बन्धी समस्या सामान्य प्रसूतिबाट जन्मिएका बच्चाहरुमा भन्दा बढी पाइएको छ । सामान्य तरिकाबाट बच्चा जन्माएकी आमाको सुत्केरी अवस्था प्रायःजसो सामान्य हुन्छ र बच्चा पाइसकेपछि तुरुन्त खानपिन गर्न मिल्छ । त्यस्तै उनले केहीबेर आराम गरेपछि हिँडडुल गर्न सक्छिन्, उनलाई खासै अरुको सहारा चाहिँदैन । आफ्नो बच्चाको स्याहारका साथै आफैं स्तनपान गराउन सक्छिन् ।

सामान्य प्रसूति गराएकी आमाको स्वास्थ्य संस्था वा अस्पतालबाट डिस्चार्ज पनि छिटो हुन्छ । यदि आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ भने २४ घण्टापछि डिस्चार्ज गर्न सकिन्छ । सामान्य प्रसूतिभन्दा शल्यक्रियाद्वारा गरिने प्रसूतिको खर्च बढी लाग्ने गर्छ ।

सामान्य प्रसूतिपछि आमाको स्वास्थ्य अवस्था शल्यक्रिया गराएकी आमाको भन्दा छिट्टै सुधार हुन्छ । सामान्य प्रसूति गराएकी आमाको स्वास्थ्य संस्था वा अस्पतालबाट डिस्चार्ज पनि छिटो हुन्छ । यदि आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ भने २४ घण्टापछि डिस्चार्ज गर्न सकिन्छ । सामान्य प्रसूतिभन्दा शल्यक्रियाद्वारा गरिने प्रसूतिको खर्च बढी लाग्ने गर्छ । त्यस्तै स्वास्थ्य संस्था वा अस्पताल बसाइ कम भएपछि लाग्ने लगानी अथवा आर्थिक भार कम हुन्छ । सामान्य प्रसूतिबाट बच्चाको जन्म भएको छ भने शल्यक्रियाको विभिन्न जोखिमलाई (धेरै रगत बग्नु, संक्रमण हुनु, एनेस्थेसियाको असर) कम गराउँछ । सामान्य तरिकाले बच्चा जन्माएकी महिलाहरुमा अर्को बच्चा जन्माउने क्रममा पनि शल्यक्रिया गरेकी महिलाभन्दा स्वास्थ्यमा पनि जटिलता कम देखिने हुन्छ ।

गर्भवती महिलाहरुले सामान्य प्रसूति भनेको के हो, सामान्य तरिकाबाट प्रसूति गराउँदा बच्चा कसरी जन्मिन्छ, थाहा पाउनु राम्रो हुन्छ । विकसित देशहरुमा यसको लागि बच्चा पाउने समय नजिक आएपछि बच्चा जन्माउन गइरहेका महिला, पुरुष दुबै राखी तयारी क्लास लिने चलन छ, तर हाम्रो जस्तो विकासोन्मुख देशमा यस्ता कुरा शुरु हुन अझै समय लाग्ने देखिन्छ । यसको लागि आवश्यक गर्भवती महिला र उनका श्रीमानले इन्टरनेट सुविधा भएको ठाउँमा यूट्युब भिडियो, जुन नेपाली भाषा प्रयोग भएको पनि हेर्न सकिन्छ । यसबाट धेरै जानकारी पाउन सकिन्छ र महिलालाई मानसिक रुपले तयार पार्न सहयोग गर्छ । गर्भवती महिलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएमा, सामान्य प्रसूति गराउँछु भनेर मानसिक रुपले तयार हुनु अत्यावश्यक हुन्छ । यदि मानसिक रुपले तयार छिन् भने प्रसव पीडासँग लड्ने ऊर्जा उनीमा हुन्छ र त्यसलाई सजिलै सामना गर्न तयार हुन्छिन् ।

गर्भवती महिलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएमा, सामान्य प्रसूति गराउँछु भनेर मानसिक रुपले तयार हुनु अत्यावश्यक हुन्छ । यदि मानसिक रुपले तयार छिन् भने प्रसव पीडासँग लड्ने ऊर्जा उनीमा हुन्छ र त्यसलाई सजिलै सामना गर्न तयार हुन्छिन् ।

बच्चा जन्माउन महिला स्वस्थ हुन आवश्यक छ, जसको लागि महिलाले किशोरावस्थादेखि नै स्वस्थ र पोषिलो खाना खाएर आफ्नो स्वास्थ्य राम्रो बनाउनुपर्छ । महिलाले गर्भवती अवस्थामा सन्तुलित र पोषिलो खानेकुरा (अन्न, गेडागुडी, सबै प्रकारका तरकारीसहित हरिया सागसब्जी, मौसमअनुसारका फलफूल, दूध र यसबाट बनेका परिकार र पानी, यदि मांसाहारी खानेकुरा खानुहुन्छ भने माछा, मासु र अण्डा) सबै कुराहरु मिलाएर साविकको भन्दा बढाएर खानुपर्छ । सन्तुलित खानाले महिलालाई स्वस्थ बनाउनुको साथै प्रसव व्यथा र प्रसूतिको समयमा चाहिने शक्ति र दरिलोपना प्रदान गर्छ ।

शारीरिक सक्रियता जीवनको महत्वपूर्ण पाटो हो । सक्रिय जीवनशैलीले मानिसलाई स्फुर्त तथा तन्दुरुस्त बनाउँछ । अहिलेको समयमा खानपान र जीवनशैली परिवर्तनसँगै हामीहरुमा शारीरिक निष्क्रियता बढिरहेको छ, स्वास्थ्य समस्या बढाइराखेको छ । अरु बेलामा जस्तै गर्भवती समयमा पनि शारीरिक सक्रियता तथा कसरत आवश्यक पर्छ । अमेरिकन कलेज अफ अब्सटेटृसियन एण्ड गाइनेकोलोजिस्टको अनुसार गर्भवती तथा सुत्केरी महिलाले हप्तामा १५० मिनेटसम्म मध्यम खालको कसरत गर्नुपर्छ । गर्भवती समयमा गरिने कसरतहरुमा हिँडडुल गर्ने, योगा, डान्स गर्ने आदि पर्छन् । यो समयमा नयाँ खालको र गाह्रो कसरत गर्नुहुँदैन ।

जो गर्भवती महिला स्वस्थ छिन् र स्वास्थ्यमा समस्या छैन भने त्यो अवस्थामा महिलालाई बच्चा पाउन तयारीको लागि नियमित कसरत गर्न सल्लाह दिनुपर्छ । गर्भवती समयदेखि नियमित कसरत गर्नाले महिलालाई विभिन्न स्वास्थ्यमा समस्या जस्तै मोटोपना, मधुमेह, उच्च रक्तचाप आदि हुनबाट बचाउँछ । यी समस्या नदेखिएपछि बच्चा पाउने समयमा हुने जटिलता पनि कम हुने सम्भावना हुन्छ । नियमित कसरत गर्ने महिलामा मासंपेशीहरुमा लचकता राम्रो हुन्छ, बच्चा जन्माउन सजिलो हुन्छ ।

अहिलेको समयमा खानपान र जीवनशैली परिवर्तनसँगै हामीहरुमा शारीरिक निष्क्रियता बढिरहेको छ, स्वास्थ्य समस्या बढाइराखेको छ । अरु बेलामा जस्तै गर्भवती समयमा पनि शारीरिक सक्रियता तथा कसरत आवश्यक पर्छ ।

स्वास्थ्यकर्मीको सल्लाहअनुसार गर्भवती हुँदा र बच्चा पाउने तयारीको लागि गरिने कसरत गर्न सकिन्छ, तर महिलाको विशेष प्रकारका स्वास्थ्य समस्यामा कसरत गर्दा सावधानी अपनाउनु पर्छ वा गर्न नमिल्ने हुनसक्छ । जस्तै : पहिलाको बच्चा जन्मने क्रममा महिना नपुगी व्यथा लागेको अवस्था, पहिलाको बच्चा खेर गएको अवस्था र हालको गर्भवतीमा पाठेघरको मुखमा समस्या छ, रगत बगेको छ, बच्चाको साल बच्चाभन्दा अगाडि छ, उच्च रक्तचापको समस्या आदि । आफ्नो स्वास्थ्य अवस्थाको बारेमा स्वास्थ्यकर्मीसँग जानकारी लिनुपर्छ ।

बच्चा जन्माउन गइरहेका महिलाको लागि घरपरिवारमा चिन्ता र तनावरहित वातावरणको सृजना हुनुपर्छ । उनले श्रीमानसँगै परिवार र आफन्तहरुबाट आवश्यक साथ, सहयोग र हौसला पाएको हुनुपर्छ । महिलाको मानसिक स्वास्थ्य ठीक छ भने उनमा आँट र साहस हुन्छ, जसले गर्दा कष्टकर प्रसव व्यथालाई सामना गरी सामान्य तरिकाले बच्चा जन्माउन सफल हुन्छिन् ।

समग्रमा भन्नुपर्दा सामान्य प्रसूतिबाट बच्चा जन्माउँदा आमा र बच्चाको लागि धेरै नै फाइदाजनक छ । यदि गर्भवती महिला र उनको बच्चाको स्वास्थ्यमा जटिलता छैन भने सामान्य प्रसूति गराउन परिवारका सदस्यहरु र स्वास्थ्यकर्मीहरुले महिलालाई प्रोत्साहन गर्नुपर्छ । यो प्राकृतिक प्रक्रिया हो भनी बुझ्न र बुझाउन आवश्यक छ ।

(लेखक घिमिरे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ नर्सिङ एण्ड मिडवाइफरी(ललितपुर नर्सिङ क्याम्पसकी सहायक प्राध्यापक हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *