सत्ता गुमेपछि पार्टी चलायमान बनाउँदै प्रचण्ड, विगतका त्रुटि सच्याएर जनतामा फर्किने – Nepal Press

सत्ता गुमेपछि पार्टी चलायमान बनाउँदै प्रचण्ड, विगतका त्रुटि सच्याएर जनतामा फर्किने

सदनदेखि सडकसम्मको आगामी कार्यक्रम तय गर्न बोलाए बैठक

काठमाडौं । सत्ताबाट करिब ९ वर्षपछि संघदेखि प्रदेशसम्म प्रतिपक्षमा हुत्तिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई चलायमान बनाउनमा केन्द्रित भएका छन्।

प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस एमाले मिलेपछि सत्ताबाट बढारिएपछि प्रचण्डले पार्टी सम्झिएका हुन्।

तर, तेस्रो शक्तिको रूपमा स्थापित भएर कहिले कांग्रेस, कहिले एमालेलाई प्रयोग गरेर सत्तामा टिक्ने प्रचण्डको प्रयास १९ महिनापछि विफल भएपछि पार्टी केन्द्रित अभियानमा लागेका हुन्।

यसअघि अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सत्ता केन्द्रित हुँदा पार्टी निष्क्रिय भएको आरोप लाग्ने गरेको थियो।

सत्ताबाट बाहिरिएपछि प्रचण्डले साउन ११ गते बिहान ११ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएको सचिव गणेश साहले बताए।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमका साथै पार्टीको अबको भूमिकाबारे छलफल हुने उनले बताए।

उनले भने, ‘पार्टीले सदनमा खेल्नुपर्ने भूमिका, पार्टी संगठनात्मक गतिविधि र पार्टी सञ्चालनको विषयमा छलफल हुन्छ। पार्टी अब प्रतिपक्षमा पुगेको छ यो बैठकले आगामी रणनीति तय गर्छ।’

पदाधिकारी बैठकले स्थायी र केन्द्रीय समितिको बैठकको मिति तोक्ने उनले बताए।

उनले थपे, ‘यो बैठकले स्थायी कमिटी र केन्द्रीय समितिको बैठक निर्णय तोक्छ। भदौ पहिलो सातामा केन्द्रीय समितिको बैठक बस्छ होला। त्यसले पार्टीलाई चलायमान बनाउने कार्यक्रमहरू ल्याउँछ। अहिलेसम्म भएको विषयमा पनि समीक्षा हुन्छन्।’

पार्टीलाई विधान अनुसार सञ्चालन गर्ने विषयमा पनि बैठकले तय गर्ने बताए। स्थानीय सरकारको परिचालन, अहिले संविधान विपरीत उठेको आवाजको विषयमा प्रतिवादन गर्ने विषयमा पनि पार्टीले योजना बनाउने सुनाए।

माओवादी सत्ताबाट प्रतिपक्षमा पुगेपछि सदनमा पनि आक्रामक रूपमा प्रस्तुत हुँदै आइरहेको छ। माओवादीले रवि लामिछाने नेतृत्वको रास्वपा र नेकपा एसलाई पनि विपक्षी मोर्चामा सहभागी बनाएर सदनमा कडा रूपले प्रस्तुत हुने रणनीति बनाइरहेको छ।

नेकपा एस प्रचण्डको रणनीति अनुसार चल्न तयार भए पनि रास्वपाले विपक्षी मोर्चामा सहभागी नहुने निर्णय गरिसकेको छ।

त्यसो त अध्यक्ष प्रचण्डले पनि माओवादी अब सरकारमा जाने भन्दा जनतामा जाने र पार्टीलाई एकताबद्ध, सुदृढ बनाउनमा ध्यान केन्द्रित हुने बताए।

बुधवार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘यो गठबन्धनले बढो अमूर्त ढङ्गले बनेको छ जनताले त्यसलाई बुझिरहेका छन्। विगतको इतिहास पनि छ। घटनाक्रम पनि छ। संविधान मिच्ने, समावेशी, समानुपातिक प्रतिनिधित्वको प्रणालीलाई उल्ट्याउने, सङ्घीयतालाई परिमार्जित गर्ने होइन त्यसलाई पनि पछि हटाउने खतरा छ।’

अहिले गठबन्धनले हिजोको जस्तै संसद् विघटन गर्ने खतरा रहेको औँल्याउँदै जनताको साथमा जानुपर्ने उनको भनाइ छ।

उनले थपे, ‘अब फेरि हामी सरकार भन्ने पक्षमा छैनौँ। जनतामा जाने र उनीहरूलाई जागृत गर्ने र त्यस्ता प्रतिगामी कदम चालिन्छन् भन्ने त हामीले देखेकै छौ। त्यो कदमकाविरुद्ध जनतालाई फेरि लिएर सडकबाट पनि सांसदबाट पनि सङ्घर्ष गर्ने हो। प्रतिगमनको खतराकाविरुद्ध पार्टीलाई एकताबद्ध गर्ने र जनतासँग जोडिएर प्रतिवाद गर्न आन्दोलनको तयारी गर्ने हो।’

उनले पदाधिकारी स्थायी कमिटी र केन्द्रीय कमिटी, केन्द्रीय निकायहरू र विभिन्न जनसंगठन र वर्गीय संगठनहरूका भेला सम्मेलन गर्दै युनिफाइड रूपमा एकताबद्ध भएर जनतामा जानुपर्ने बताए।

‘मलाई लाग्छ हामीले पाँच, छ महिना संकल्प र कार्य योजनाका साथ जनतामा गयौँ भने परिस्थिति अर्कै ठाउँमा पुग्छ भन्ने विश्वास छ। आफ्ना एजेन्डा, वर्ग र समुदायलाई समात्ने कुरा धेरै महत्त्वपूर्ण छ’ प्रचण्डको भनाइ छ, ‘सायद विगतमा हामीले कहीँ कहीँ त्रुटि पनि गरेका छौँ। हाम्रो वर्ग र जनतासँगको सम्बन्धका कडीहरू कमजोर पनि भएका छन् त्यसलाई बलियो पार्नु आजको आवश्यकता हो।’

प्रचण्डसहित पार्टीका शीर्ष नेताहरू सत्ता केन्द्रित भएकै कारणले पार्टी ओरालो लागेको भन्दै नेताहरूले त्यसको जिम्मेवारी लिनुपर्ने दबाब पनि चर्को रूपमा बढ्दै गइरहेको छ । आठौँ महाधिवेशनपछि प्रचण्डले ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने भने पनि त्यो अहिलेसम्म हुन सकेको छैन । गत फागुनबाट निर्माण गरिएको विधान समेत कार्यान्वयनमा हुन सकिरहेको छैन ।

अब बस्ने पार्टीको बैठकहरूमा पार्टीको विशेष महाधिवेशनको विषयमा पनि कुरा उठ्ने सचिव साहले बताए। यद्यपि, अहिलेसम्म माओवादीको नेतृत्वमा प्रचण्डको विकल्प देखिएका छन्।

अध्यक्षपछि शक्तिशाली मानिएको महासचिवमा वर्षमान पुन र जनार्दन शर्माबीच टकराब हुँदा गत महाधिवेशनमा देव गुरुङलाई ल्याएका थिए। तर, अध्यक्ष र वरिष्ठ उपाध्यक्ष सरकारमा हुँदा महासचिव गुरुङले पार्टी सञ्चालन गर्न नसकेको भन्दै आलोचना हुँदै आइरहेको छ।

त्यसैले अहिले माओवादीमा प्रचण्डको उत्तराधिकारी को भन्ने भन्न सक्ने अवस्था छैन। तर, पार्टीको विवाद बढेपछि प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवलाई पनि पार्टीमा भित्र्याउन खोजिरहेको सन्देश पनि दिइरहेका हुन्छन्।

पार्टीभित्रको नेतृत्वको विषयमा दबाब बढिरहेको बेलामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिए तयार रहेको बताएका छन्।

उनले पेरिसडाँडामा प्रचण्डसामु भने, ‘अध्यक्ष कमरेडले ३५ वर्ष मैले पार्टीको अध्यक्षता गरेँ, मैले मात्रै कति जिम्मेवारी लिने भनेर हामीमध्ये कोहीलाई तपाईँहरू अब चलाउनुस् भनेर कुनै दिन भनेको स्थितिमा हामी चलाउन तयार हुनुपर्छ।’

यद्यपि, अहिलेको अवस्थामा रूपान्तरणको प्रक्रियाको नेतृत्व पनि पार्टी अध्यक्ष दाहालले नै गरेर अघि बढ्नु र सबैले साथ दिने कुरा अहिलेको आवश्यकता भएको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर