लुम्बिनी केबलकारमा सोमबार बिहान टिकट आधा सस्तो – Nepal Press

लुम्बिनी केबलकारमा सोमबार बिहान टिकट आधा सस्तो

बुटवल । लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारको दिनमा टिकटदर आधा सस्तो हुनेगरी ‘मर्निङ अफर’ ल्याएको छ ।

गत वर्ष सुरु भएको यो अफर पर्यटकहरुको मागअनुसार यस वर्ष पनि ल्याएको कम्पनीले जनाएको छ । केबलकारको साधारण टिकटदर एक हजार रुपैयाँ छ । यो अफरअनुसार पर्यटक र भक्तजनहरुले केबलकारको दुईतर्फी यात्राका लागि ५०० रुपैयाँमात्र तिरे पुग्नेछ ।

साउन १४ देखि भदौ मसान्तका ८ वटा सोमबारका दिन बिहान साढे ८ देखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकटदरमा ५० प्रतिशत छुटसहित मर्निङ अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए ।

‘बिहान साढे ८ देखि १२ बजेसम्म टिकट खरिद गर्दामात्र छुट अफर लागू हुन्छ, तर टिकट लिएकाहरु १२ बजेदेखि साँझसम्म आफू अनुकूल समयमा केबलकार चढ्न पाउँछन्’, अपरेसन म्यानेजर कायस्थले भने ।

मर्निङ अफर भारतीय पर्यटकमा पनि लागू हुने र उनीहरुले ५०० भारुमा टिकट खरिद गर्नसक्ने केबलकारका म्याजेजर प्रज्ज्वल घिमिरेले जानकारी दिए ।

लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा छ । केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुुर्गा माता मन्दिर हिन्दू धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।

मन्दिर दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने संख्या बढ्दो क्रममा रहेको म्याजेजर घिमिरेले बताए ।

टप स्टेशनमा जीपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बालोद्यान, वरपिपल चौतारी, पोखरीलगायतका धार्मिक संरचनाहरु रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *