‘सौर्य’ विमान दुर्घटनाको विश्व हेडलाइन: हवाई सुरक्षा र नियामक निकाय कमजोर भएको सर्वत्र चर्चा – Nepal Press

‘सौर्य’ विमान दुर्घटनाको विश्व हेडलाइन: हवाई सुरक्षा र नियामक निकाय कमजोर भएको सर्वत्र चर्चा

काठमाडौं । नेपाल विश्व हेडलाइन बन्ने खबरहरुमा नकारात्मक खबरहरु धेरै छन् । चाहे भूकम्प होस् वा हवाई दुर्घटना, पछिल्ला दशकमा नेपाल यस्तै यस्तै कुरामा धेरैजसो विश्व हेडलाइन बन्ने गरेको छ । आज बिहान ११ः११ बजे भएको सौर्य एअरको हवाई दुर्घटना, दुर्घटनामा मृत्यु हुने १८ अनुहार र एक्ला जीवित क्याप्टेन मनिषरत्न शाक्यको कुरा अहिले विश्वभर हेडलाइन बनेका छन् । यो सामग्रीमा विश्वका चल्तीका कुन कुन मिडियाहरुले के के लेखे भन्ने प्याकेज बनाइएको छ ।

अमेरिकी विश्व च्यानल सीएनएनले नेपालको आजको दुर्घटनाको खबर प्राथमिकता दिएर प्रकाशन गरेको छ । उसले पाइलट एक्ला जीवित र १८ अरु सवार सबै १८ जनाको ज्यान गरेको हेडलाइन बनाएको छ । एक ‘सानो जहाज’ धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको भन्दै सीएनएनले जहाज प्राविधिक मर्मतको क्रममा यात्रारत भएको पनि छुटाएको छैन ।

सीएनएन समाचार नेपाल हवाई यात्रामा सबैभन्दा जोखिमयुक्त गन्तव्य भएकोमा यो दुर्घटनाले थप उजागर गरेको लेखेको छ । नेपालमा हवाई दुर्घटना हुने विभिन्न कारणहरुमा एक प्रमुख कारण हिमाल तथा पहाड हुनु रहेको सीएनएनले लेखेको छ । समाचारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको एक प्रतिवेदन साभार गरेर नेपालमा १९ सीट वा त्योभन्दा कम सीट भएका जहाजको दुर्घटनादर धेरै हुने समाचारमा लेखिएको छ ।

नेपालमा पछिल्लो समयमा हवाई सुरक्षाको कुरामा केही सुधार भए पनि दुर्घटनाहरु नरोकिएको समाचार लेखिएको छ । गत वर्ष यती एअरलाइन्सको दुर्घटनामा ६८ जनाको ज्यान गएको कुरा विगत तीन दशककै सबैभन्दा ठूलो दुर्घटना भन्दै सीएनएनले सन् २०१६ र २०२२ को तारा एयरको दुर्घटना, सन् २०१८ को यूएस बङ्ला एयरको दुर्घटनालाई पनि चर्चा गरेको छ ।

बेलायती विश्व च्यानल बीबीसीले आजको दुर्घटनालाई प्राथमिकताका साथ प्रकाशन गरेको छ । बीबीसीले १७ जना कर्मचारी लिएर उडेको जहाज दुर्घटना भएको र क्याप्टेन एक्लो जीवित भएर अस्पतालमा उपचाररत रहेको उल्लेख गरेको छ ।

नेपालको हवाई सुरक्षाको इतिहास कमजोर भएको र यसमा धेरैजसो मौसम तथा नियामक निकायको कमजोरी प्रमुख कारण रहेको समाचारमा लेखिएको छ । बिहीबारबाट मर्मतमा जान लागेको जहाज दुर्घटना भएको भन्दै समाचारमा दुर्घटना भएपछि ‘काठमाडौं विमानस्थल’ केही घण्टा बन्द गरिएको लेखिएको छ ।

कतारी विश्व च्यानल अलजजिराले सौर्य एयरको हवाई दुर्घटनाको समाचार प्रकाशन गर्दै दुर्घटना भएको जहाज ५० सीट क्षमताको काठमाडौंबाट पोखरा जान लाग्दा दुर्घटना भएको लेखेको छ । अलजजिराको समाचारमा उपत्यकाभित्र रहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नलाई पाइलटहरुलाई चुनौती हुने लेखिएको छ ।

पछिल्लो समयमा नेपालको हवाई यातायातले मान्छे तथा मालमत्ता बोक्न धेरै विकास गरेपछि हवाई सुरक्षामा भने नेपालको कमजोर मानक भएको अलजजिराले लेखेको छ । यसो हुनुमा अपुग्दो तालिम, मर्मत तथा भौगोलिक जटिलता भएको भनिएको छ ।

चिनियाँ विश्व च्यानल सीजीटीएनले सौर्य एयरलाइन्सको परीक्षण उडानमा सवार १८ को मृत्यु भएको लेखेको छ । धावन मार्गबाट उडेको जहाजमा आगलागी भएर काठमाडौंमा दुर्घटना भएको समाचारमा भनिएको छ । सीएनएनले जस्तै सीजीटीएनले पनि आज दुर्घटनामा परेको जहाजलाई ‘सानो जहाज’ भनेर चित्रित गरेको छ ।

भारतमा सञ्चालित विश्व च्यानल विओनले आजको दुर्घटनाको समाचार प्रकाशन गरेर सामाजिक सञ्जालमा राखिएका विभिन्न भिडिओहरु पनि साझा गरेको छ । धावनमार्गबाट उडेको जहाज दुर्घटनामा परेको र क्याप्टेन मनिष शाक्यलाई उपचार गर्न काठमाडौं मेडिकल कलेज लगिएको समाचारमा लेखिएको छ ।

जर्मनीको विश्व च्यानल डीडब्ल्यूले आजको दुर्घटनाको समाचार प्राथमिकता दिएर प्रकाशन गरेको छ । राजधानी काठमाडौंबाट पर्यटकीय शहर पोखरा जाने जहाज दुर्घटना भएको भन्दै समाचारमा सौर्य एयरलाइन्सको बोम्बार्डियर सीआरजे २०० जहाज नेपालको क्षेत्रीय उडान भर्ने जहाज भएको बताइएको छ । यस्तै समाचारमा युरोपेली संघले नेपालका सबै जहाजलाई युरोपेली आकाशमा उड्न प्रतिबन्ध गरेको कुरा पनि लेखिएको छ ।

नेपालको आजको दुर्घटनाको समाचार यूरो न्यूजले पनि प्रकाशन गरेको छ । दुर्घटना भएको समयमा पानी नपरेको भए तापनि नेपालभर राम्रो भिजिबिलिटी नभएको समाचार लेखिएको छ । क्रूबाहेक १६ यात्रु भएको भन्दै क्याप्टेनमात्रै एकल जीवित भएको समाचारमा लेखिएको छ ।

समाचारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भएका अरु दुर्घटनाको कुरा पनि समेटिएको छ । जसमा सन् २०१८ को यूएस बङ्ला विमानको दुर्घटना र मृत्यु भएका ५१ जनाको कुरा लेखिएको छ । यस्तै सन् २०१५ मा टर्किस एयरको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको तर २३८ सवार जहाजमा कसैको ज्यान भने नगएको सन्दर्भ समाचारमा लेखिएको छ ।

यस्तै जापानको विश्व च्यानल एनएचके वर्ल्डले आज भएको जहाज दुर्घटनाको समाचार प्राथमिकता दिएर प्रकाशन गरेको छ । समाचारमा १९ जना चढेको जहाजमा कोही यात्रु नभएर सौर्य एयरलाइन्सका कर्मचारी तथा इन्जिनियरहरु भएको बताइएको छ । जहाज दुर्घटनापछि धूवाँ उडेको तथा जहाज छिन्नभिन्न भएको दृश्य समाचारमा बताइएको छ ।

पोखरातर्फ मर्मत गर्न गएको जहाज दुर्घटना भएको भन्दै नेपाली अधिकारीहरुले दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताएको समाचारमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *