मन्त्री चयनले कांग्रेसमा असन्तुष्टि बढ्दै, शेखर-गगन समूहले सात प्रदेशमा माग्यो ११ मन्त्री – Nepal Press

मन्त्री चयनले कांग्रेसमा असन्तुष्टि बढ्दै, शेखर-गगन समूहले सात प्रदेशमा माग्यो ११ मन्त्री

काठमाडौं । प्रदेश सरकारमा मन्त्री चयनले सत्तारुढ दल नेपाली कांग्रेसमा आन्तरिक विवाद बढ्दै गएको छ । आफूहरुको मागलाई बेवास्ता गरिएको भन्दै शेखर कोइराला-गगन थापा पक्षले आपत्ति जनाएको हो ।

कोइरालाले सभापति शेरबहादुर देउवाले प्रदेश सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा अहिलेसम्म आफूहरुसँग कुनै छलफल र समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रदेश सरकार गठन भइ कांग्रेसबाट पनि मन्त्रीहरु नियुक्त भइरहँदा कोइराला पक्षले आफूहरुसँग छलफल नगरेकोमा आपत्ति जनाएको हो ।

प्रदेश सरकार गठन र आफ्नो समुहको सहभागीताबारे मंगलबार विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए ।

छलफलमा कोशीमा – २ वागमतीमा – ३, गण्डकीमा– २, लुम्बिनीमा – २, कर्णालीमा – १ र सुदुरपश्चिममा – १ गरी ७ प्रदेशमा ११ जना मन्त्री आफ्नो समुहलाई दिनुपर्ने निष्कर्ष निकालेको कोइरालाको सचिवालयले जानकारी दिएको छ । तर देउवाले आफूखुशी गरिरहेको शेखर गगन पक्षको आरोप छ ।

बैठक सकिएलगत्तै शेखर कोइरालाले सभापति देउवालाई फोन आफ्नो समूहको धारणा सुनाएका थिए। तर अहिलेसम्म पार्टी सभापतिबाट कुनै जवाफ नआएको र एकतर्फी मन्त्रीहरुको टुंगो लगाइरहिएको कोइराला पक्षको भनाइ छ । विभिन्न प्रदेशमा सरकार गठनका विषयमा सञ्चारमाध्यमबाट आएका समाचारमा कोइराला बेखबर रहेको बताइएको छ ।

जबकी लुम्बिनीमा सरकार गठन भइसकेकाे छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर