पुरुषले पनि गर्न थाले घरेलु हिंसाको उजुरी, कस्ता हिंसा घरेलु हिंसामा समेटिन्छ ? – Nepal Press

पुरुषले पनि गर्न थाले घरेलु हिंसाको उजुरी, कस्ता हिंसा घरेलु हिंसामा समेटिन्छ ?

चितवन । घरेलु हिंसाको घटनामा सामान्यतया पुरुष प्रभावित नभएर महिला हिंसामा हुने निवेदनहरु पर्ने गरेका थिए । तर, पछिल्लो समय भने घरेलु हिंसा प्रभावित भएँ भनेर उजुरी दिनेमा पुरुषहरुको संख्या पनि बढ्न थालेको छ ।

चितवन भरतपुर महानगरपालिकाका एक पुरुषले जिल्ला प्रहरी कार्यालयमा आफूमाथि श्रीमतीले घरेलु हिंसा गरेको निवेदन दर्ता गरेका छन् । उनले श्रीमतीसँग झगडा भएपछि श्रीमतीले आफ्नै हात काट्ने, विषादी सेवन गरेर मर्छु भन्ने धम्की दिने जस्ता काम गर्नाले आफू मानसिक हिंसामा परेको भन्दै निवेदन दर्ता गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा गएको आर्थिक वर्षको असार मसान्तसम्ममा चार सय ९६ वटा घरेलु हिंसाको निवेदन दर्ता भएको छ । तिमध्ये २२ वटा घरेलु हिंसाको निवेदन पुरुषले पीडित भएँ भनेर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारी बताउँछन् ।

उनका अनुसार पुरुषले दिने घरेलु हिंसामा वैदेशिक रोजगारसँग जोडिएका घटना बढी छन् । तिमध्ये आफूले पठाएको रकम दुरुपयोग गरेको, परपुरुषसँग सम्बन्ध बनाएको लगायतका आरोप महिलाले खेप्दै आएका छन् ।

डीएसपी भण्डारी समझदारीमा हुँदा श्रीमानश्रीमतीले आम्दानी खर्चको हिसाबमा ध्यान नदिने बिस्तारै व्यवहार बिग्रिदै जान थालेपछि प्रहरीमा उजुरी लिएर आइपुग्ने अवस्था बढ्दै गएको बताए ।

‘हिंसा महिला वा पुरुष जोबाट पनि हुनसक्छ, डीएसपी भण्डारीले नेपाल प्रेससँग कुरा गर्दै भने, – तर, पछिल्लो समय स्वस्थ्य जीवनपद्धती परिवारभित्रै नहुँदा घरभित्रको हिंसामा परेको जाहेरी पुरुषको पनि बढ्दै जान थालेका देखिन्छन् ।

यद्यपि, अझै पनि घरभित्रै हुने हिंसामा भने ९५ प्रतिशत हाराहारी हिंसा प्रभावित महिला नै छन् । अधिवक्ता फूलमाया रानाभाट घरेलु हिंसा कसुर तथा सजाय ऐनले जो पनि हिंसामा पर्नसक्ने जोखिमको परिकल्पना गरेको बताउँछिन् । उनका अनुसार समाजको बदलिँदो परिवेश अनुसार घटनाका प्रकृति पनि फरक हुन्छन् ।

पुरुष वा महिला जो व्यक्तिले पनि घरभित्रै हिंसामा परेँ भनेर न्याय माग्न जानुपर्ने अवस्था भने राम्रो नभएको बताइन् । चितवन प्रहरीमा पछिल्लो चार आर्थिक वर्षयताका घरेलु हिंसाको उजुरी हेर्दा घरेलु हिंसाको घटना बढ्दै गएको देखिन्छ ।

प्रहरीको तथ्याङ्क अनुसार खान लाउन नदिएको, कुटपिट गरेको र गाली बेइज्जती गरेको आरोपमा घरेलु हिंसा अन्तर्गतको उजुरी आउने गर्छ । जसमा गतवर्षको कुल उजुरी मध्ये १ सय २७ जनाले खान लाउन नदिएको उजुरी गरेका छन् । त्यसैगरि गाली बेइज्जतीमा उजुरी गर्ने १ सय ६७ जना र दुई सय जनाले गाली बेइज्जती गरेको उजुरी गर्ने गरेका छन् ।

घरेलु हिंसाको उजुरीमा सबैभन्दा पहिला श्रीमान श्रीमतीको जाहेरी पर्ने गरेको छ, त्यसपछि घरभित्र सासू, ससुरा तथा अन्य सदस्यसँगको सम्बन्धमा आएको खटपटक तथा हिंसाको उजुरी प्रहरीमा जाने गरेको तथ्याङ्क छ ।

प्रहरीमा गएको घरेलु हिंसाको उजुरीमा अधिकांश उजुरी मिलापत्र गरि पठाइने गरिएको छ । घरेलु हिंसा कसुर तथा सजाय ऐन अभिप्राय पनि परिवारलाई मिलाएर राख्नु रहेको प्रहरीको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा ४ सय ९६ घरेलु हिंसाको उजुरीमा चार सय ११ उजुरी मिलापत्र गरेको पठाइएको छ । भने, अदालतमा गएको घटना ७९ वटा मात्रै छ । आर्थिक वर्ष २०७९÷०८० मा घरेलु हिंसाको ३ सय ९५ वटा घरेलु हिंसाको उजुरी परेको थियो ।

घरेलु हिंसा कसुर तथा सजाय ऐन २०६६ अनुसार घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ, भनेको छ । यो कानून अनुसार घरेलु हिंसाको कसूर गरेमा त्यस्तो व्यक्तिलाई एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना र एक वर्षदेखि आठ वर्षसम्म कैद हुने व्यवस्था छ । भने, पीडितको उपचार, संरक्षण तथा क्षतिपूर्ति समेत गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *