साथीकाे हत्या गरेर यूएईमा ५ वर्षदेखि जेल जीवन बिताइरहेका भुवन नेपाल फर्किए, पहलमान पनि छिट्टै फर्किने – Nepal Press

साथीकाे हत्या गरेर यूएईमा ५ वर्षदेखि जेल जीवन बिताइरहेका भुवन नेपाल फर्किए, पहलमान पनि छिट्टै फर्किने

दुबई । संयुक्त अरब इमिरेट्स युएईमा ५ वर्षदेखि जेल जीवन बिताइरहेका भुवन श्रेष्ठ नेपाल फर्किएका छन् ।

युएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका चिशखुगढी ३ ओखलढुंगाका भुवन श्रेष्ठ बिहीबार बिहान नेपाल फर्किएका हुन् ।

श्रेष्ठलाई सन् २०१९ को जुन ३ मा मध्यविन्दु नगरपालिका ११ नवलपुरका बाबुराम आलेमगरको हत्या आरोपमा पक्राउ गरी जेल चलान गरिएको थियो ।

सोही हत्या आरोपमा नेत्रवती गाउँपालिका– ४ धादिङका पहलमान थापा पनि संलग्न भएको भन्दै युएईको उपल्लो अदालतले आजीवन कारावास हुँदै ब्लडमनी बुझाउनुपर्ने फैसला गरेको थियो । पहलमान अहिलेपनि युएईको सारजाह जेलमा छन् ।

हत्या आरोप लागेका भुवन र पहलमानलाई प्रतिव्यक्ति १ लाख ५० हजार युएई दिराम (जम्मा ३ लाख) दिराम पीडित परिवारलाई नेपालमा दिने तथा ५ वर्षको जेल सजाय सारजाहको उपल्लो अदालतले फैसला सुनाएको थियो ।

जेल सजाय भुक्तान गरिरहेका उनीहरूको उद्धारका लागि नेपालमा अभियान सञ्चालन गरी आर्थिक संकलन गरी पीडित परिवारलाई बुझाएपछि भुवन बुधबार साँझ सारजाह रिहाई भई राती एयर अरबिया मार्फत नेपाल फर्किएका हुन् ।

हत्या आरोपमा जेल जीवन बिताइरहेका भुवन र पहलमानको उद्धारका लागि संसारभरका नेपालीले पैसा संकलन गरेर सहयोग रकम जुटाएका थिए ।

संकलित रकम नेपालमै रहेको पीडित परिवारलाई बुझाई परराष्ट्र मन्त्रालय, कन्सुलर विभाग मार्फत नेपाली दुतावासमा कागजपत्र पठाएपछि नेपाली दुतावास अवुधावीले कानुनी प्रकृया पुरा गरेर भुवनलाई नेपाल पठाएको हो ।

एकैजनाको हत्या आरोपमा भुवन र पहलमान संलग्न भएपनि पहलमानको पासपोर्टको म्याद सकिएको र अन्य कागजी प्रकृया बाँकी रहेकाले छिट्टै नेपाल फर्किने नेपाली दुतावास आबुधाबीले जनाएको छ ।

स्थानीय प्रशाशनद्वारा अनुसन्धान गरी युएईको अदालतमा पेश भएका कागजात अनुसार श्रेष्ठ र मगरले मदिरा सेवन गरी आफ्नै साथी नवलपुरका बाबुराम आलेमगको छुरा प्रहार गरी हत्या गरेको र आफ्नो कसुर पीडितहरुले स्विकारेका आधारमा ब्लडमनीको फैसला सुनाएको हो ।
आफ्नो श्रीमान बाबुरामको हत्या हुँदा उनकी श्रीमती नरिमा आलेमगर पनि बैदेशिक रोजगारीकै क्रममा युएईमा भएको र उनैले किटानी जारीसहित अनुसन्धानका लागि निवेदन दिएकी थिइन् । सोही उजुरीका आधारमा दुबै जनालाई पक्राउ गरी अनुसन्धान गरी अदालतमा सुनुवाई भएको थियो । सुनुवाईका क्रममा नेपाली दुतावास आबुधावीका स्थानीय जनसम्पर्क अधिकृत पीआरओ इरफान आलम पनि सहभागी थिए ।

युएईको अदालतले ब्लडमनीको फैसला गरेपनि सो फैसलालाई तोडमोड गरी दिनगन्ती गर्दै भुवन र पहलमानलाई यस अघि मृत्‍युदण्ड दिइन लागेको भन्दै बिभिन्न सामाजिक सन्जालको प्रयोग गरी अनाधिकृत रुपमा केही व्यक्तिहरुले रकम असुलेको समेत पाइएको थियो ।

त्यसो नगर्न सरोकारवालाहरुले सुझाएपछि ब्लडमनी संकलनका लागी भुवन श्रेष्ठको बुवा यम नारायण श्रेष्ठको नाममा राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेर रकम संकलन अभियान सुरु गरिएको स्थानीय वार्ड अध्यक्ष भीष्म श्रेष्ठले जानकारी दिए ।

पीडितलाई बुझाउन संकलन गरिएको ब्लडमनी नेपालमै बुझाए पनि झण्डै ८ लाख रकम पुनःअपुग भएको भन्दै युएई अदालतले कागजात फर्काएको र पूर्ण रकम लिएको र दिएको कागजातसहित पुनः नेपाली दुतावास अवुधावीका श्रम काउन्सिलर दीनबन्धु सुवेदी स्वयम् आफैले समन्वयव गरी सारजहाको उपल्लो अदालत , विभिन्न निकायहरुमा पुगेर भुवनलाई नेपाल फिर्ता पठाउन पहल गरेका थिए ।

नेपाली दुतावास आबुधाबीले पीडितको तर्फबाट बहस पैरवी गर्न दुतावासका स्थानीय जनसम्पर्क अधिकृत इरफान आलमलाई खटाएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *