स्रोत नखुलेको रकम बरामद गर्दा क्यासिनोका महाप्रबन्धकबाट राजश्वका कर्मचारी कुटिए – Nepal Press

स्रोत नखुलेको रकम बरामद गर्दा क्यासिनोका महाप्रबन्धकबाट राजश्वका कर्मचारी कुटिए

रुपन्देही । बाँकेको नेपालगन्जमा स्रोत नखुलेको रकम बरामद गर्दा राजश्व अनुसन्धनका सुरक्षाकर्मी कुटिएका छन् ।

नेपालगन्ज–४ स्थित कलपत्रु होटलमा सञ्चालित ‘एसएन ब्लु गेमिङ क्लब’ (क्यासिनो)का महाप्रबन्धक अर्जुन खनालको समूहले नेपाल–भारत सिमानाका जमुनाहास्थित चेकपोष्ट नजिकै राष्ट्रिय अनुसन्धान विभागका सूचक अर्जुन खड्कामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धान विभागका सूचक खड्कालेख स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद गर्दा आक्रमण गरेको प्रहरीको भनाइ छ । आक्रमणबाट खड्का घाइते भएको र उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । खड्कामाथि खनालको समूहले बोत्तल र फलामको कुर्सी प्रहार गरेको बताइएको छ ।

आक्रमणमा संलग्न महाप्रबन्धक खनाललाई सिसीटिभी फुटेजका आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख (एसपी) तुलबहादुर कार्कीले नुुवाकोट घर भई नेपालगन्जस्थित क्यासिनो सञ्चालन गर्ने अर्जुन खनाललाई पक्राउ गरिएको बताए । उनले भने, ‘खनालसहितको समूहले सुरक्षाकर्मीमाथि आक्रमण गरेको बुझिएको छ, आवश्यक अनुसन्धान भइरहेको छ ।’

बरामद गरिएको रकमबारे भने एसपी कार्कीले अनविज्ञता प्रकट गरेका छन् । घटनामा अन्य ४र५ जनाको संलग्नता रहेको र उनीहरुको खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ । यो विषयमा यहाँका व्यवसायीले कुनै धारणा सार्वजनिक गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *