सोडारी नहट्दै सुदूरपश्चिममा मुख्यमन्त्रीका आकांक्षीहरू दौडधुपमा, शाहदेखि देउवासम्म पावर सेन्टरमा केन्द्रित – Nepal Press

सोडारी नहट्दै सुदूरपश्चिममा मुख्यमन्त्रीका आकांक्षीहरू दौडधुपमा, शाहदेखि देउवासम्म पावर सेन्टरमा केन्द्रित

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी तीन सातादेखि अल्पमतमा छन् । २० गते एमालेले समर्थन फिर्ता लिएर अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले अहिलेसम्म विश्वासको मत लिने मिति निर्धारण गरेका छैनन् । उनले १८ गते भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यता मुख्यमन्त्री सोडारीले कुर्ची नछोड्दै भावी मुख्यमन्त्रीको लागि तीव्र दौडधुप बढेको छ । केन्द्रमा एमाले र काङ्ग्रेसबीच अहिले सुदूरपश्चिम प्रदेशका कांग्रेसले नेतृत्व गर्ने भद्र सहमति भएसँगै अहिले काङ्ग्रेसभित्र मुख्यमन्त्रीको खोजी बढीरहेको छ । आधा दर्जन बढी सांसदहरूले मुख्यमन्त्रीमा आकाङ्क्षा राखेपछि शीर्ष नेताहरूबिच चार जनाको नाममा छलफल चलिरहेको छ ।

प्रदेशको ठूलो दलसमेत रहेको कांग्रेसमा यति बेला मुख्यमन्त्रीका लागि संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री कमलबहादुर शाह, पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा ,कांग्रेसका पुराना नेता बहादुर सिंह थापा र दिवानसिंह विष्ट केन्द्रमा लबिङ गरिरहेका छन् ।

कांग्रेस प्रदेश संसदीय दलको नेता रहेको र यस अगाडि राम्रोसँग प्रदेशको नेतृत्व हाँक्न नपाएको भन्दै शाह मुख्यमन्त्रीमा दोहरिन पाउनुपर्ने मागसहित केन्द्रमा लबिङ गरिरहेका छन् । कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेश सभा (१) बाट निर्वाचित शाह काङ्ग्रेसभित्र प्रकाशमान सिंह समूहसँग नजिक हुन् ।

उनी कांग्रेस महाधिवेशनमा शेखर समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए । कैलाली जिल्ला अधिवेशनमा आरजू राणा देउवा निकटका उम्मेदवार नारायणदत्त्त भट्टलाई समर्थन गरेपछि शाहकै समर्थनमा भट्ट दोस्रो चरणमा सभापति भए ।

अहिले भट्ट राष्ट्रिय सभा सदस्य निर्वाचित भइसकेका छन् । शाहले भट्टलाई समर्थन गरेपछि उनी देउवा निकट भएका थिए । उनले प्रदेश सभामा टिकट मात्रै पाएनन्, दलको नेता हुँदै मुख्यमन्त्री समेत बने । अहिले फेरी उनी मुख्यमन्त्री बन्ने योजनासहित अगाडी बढिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री बन्ने अर्काे सम्भावित सांसद हुन् प्रकाश देउवा । कैलाली क्षेत्र नम्बर ५ बाट प्रदेश सभा (२) मा विजयी भएका देउवा शेरबहादुर देउवाका सहोदर भतिजा हुन् ।

पहिलो पटक संसदीय निर्वाचनमा होमिएका देउवा प्रदेश सभा सदस्यमा निर्वाचित हुँदै भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । देउवाका भतिजा भएको हुँदा र भौतिक पूर्वाधार विकास मन्त्री हुँदा पनि राम्रो काम गरेको भन्दै उनलाई पनि सम्भावित मुख्यमन्त्रीको रुपमा हेरिएको छ ।

यस्तै, कांग्रेसका अर्का तथा पुराना नेता बहादुर सिंह थापाको निर्वाचन क्षेत्र भने कञ्चनपुर–२(२) हो । उनी संविधान सभा सदस्य पनि हुन् । अघिल्लो पटक पनि उनी संसदीय दलको नेता बन्ने लाइनमा थिए । प्रकाश देउवा र बहादुर सिंह थापाको दाबीका बिच कमलबहादुर शाह संसदीय दलको नेता भएका हुन् ।

तर, अहिले थापा आफूले मुख्यमन्त्री पाउनु पर्ने भन्दै तीव्र लबिङमा छन् । देउवा गुटकै नेता एनपी साउद समूहका मानिने थापाको यस पटक मुख्यमन्त्रीको बलियो सम्भावना रहेको छ। केन्द्रमा आफूले मन्त्री नबनाएपछि प्रदेशमा आफू निकटकालाई मुख्यमन्त्री बनाउन साउँद नै लागिरहेका छन् ।

त्यस्तै, कञ्चनपुर–१(२) बाट प्रदेश सभामा निर्वाचित भएका दिवानसिंह विष्ट पनि आफूलाई मुख्यमन्त्री बनाउन केन्द्रमा लबिङ गरिरहेका छन् । संविधान सभा सदस्य समेत रहेका विष्ट शेखर कोइराला समूहका हुन् । विष्ट यति बेला कोइराला समूह सुदूरपश्चिममा कमजोर रहेको भन्दै आफूलाई मुख्यमन्त्रीको लबिङका लागि शेखरलाई पटक पटक दबाब बढाइ रहेका छन् ।

अछामका मेघराज खड्का, बैतडीका पूर्व मन्त्री शिवराज भट्ट र प्रमुख सचेतक विक्रम धामी पनि मुख्यमन्त्रीको लबिङमा छन् । तर, शाह, देउवा थापा र विष्ट मध्ये बाटै एक जना मुख्यमन्त्री बन्ने कांग्रेस उच्च स्रोतले बतायो ।

‘कमल शाहकै सम्भावना बढि छ अन्त्यमा शेरबहादुर देउवाले आफ्ना भतिजा प्रकाश देउवालाई पनि मुख्यमन्त्री बनाउन सक्छन्’ कांग्रेस स्रोतले भन्यो ।

स्रोतका अनुसार शेखर पक्षले बलियो लबिङ गरे देवानसिंह विष्ट र एनपी साउदले जोड दिए बहादुर सिंह थापाको सम्भावना पनि रहेको छ । तर, शाह र देउवा मध्येबाट एक जना मुख्यमन्त्री बन्ने बढि सम्भावना रहेको स्रोतको दाबी छ ।

प्रदेशको मुख्यमन्त्रीका लागि लबिङ रहेका प्रत्याशीहरू यति बेला काठमाडौँमा आ–आफ्नै समूहका केन्द्रीय नेतासँग दबाब बढाइरहेका छन् ।तर, गृह प्रदेशकै मुख्यमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाले बढि चासो राखेका छन् । प्रदेशमा अझै सोडारी नेतृत्वको सरकार रहेको हुँदा मुख्यमन्त्रीको आधिकारिक उम्मेदवार टुङ्गो नलागेको कांग्रेस नेताहरू बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर