बागमती प्रदेशमा जिम्मेवारी बाँडफाँटकाे लफडा, रोकियो मन्त्रीको शपथ – Nepal Press

बागमती प्रदेशमा जिम्मेवारी बाँडफाँटकाे लफडा, रोकियो मन्त्रीको शपथ

हेटौंडा । बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार गरेपनि शपथ ग्रहण भने रोकिएको छ । आज साँझ ६ बजेलाई तय भएको शपथ ग्रहण मन्त्रालयको संख्या एकलौटी बढाएको र आफ्ना मन्त्रीहरुलाई नसोधी जिम्मेवारी तोकेको विषयले उग्ररुप लिएपछि शपथ रोकिएको हो ।

के हो विवाद ?

बागमती प्रदेशमा मुख्यमन्त्रीसहित १३ मन्त्रालय रहेकोमा एमाले र कांग्रेसले ती मन्त्रालयको संख्या र मन्त्रालय यस अघिनै बाँडफाँट गरिसकेका थिए । जसमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले छ मन्त्रालय लिने सहमति भएको थियो ।

सहमतिबमोजिम एमालेले पाएको मन्त्रालयमा रहनेगरि मन्त्रीहरुले हिजोनै शपथ ग्रहण गरेर आजबाट कामकाजमा लागिसकेका छन् । हिजै एमालेसँग शपथ खाएका तीनजना कांग्रेसका बिनाविभागीय मन्त्रीहरु आज मन्त्रालय पाउनेमा ढुक्क थिए ।

तर मुख्यमन्त्री लामाले हिजो शपथ खाएका मन्त्रीलाई नसोधी उनिहरुको विभाग मात्र तोकेनन सत्ता साझेदार दल नेकपा एमालेलाई नसोधी आज एकाएक पुनः काङ्रेसका चारजनालाई मन्त्री नियुक्त गरे ।

लामाले बिहीबार प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी मन्त्री नियुक्त गरेपछि एमालेले त्यसमा असन्तुष्टि जनाउँदै शपथ ग्रहण समारोहबाट बाहिरियो । हिजो नै ३ मन्त्रीहरु सपथ गराईसकेको काङ्ग्रेसले आज थप चार मन्त्री नियुक्त गरेर सहमति उल्लंघन गरेको आरोप एमालेको थियो ।

विवाद त्यति मात्र थिएन । लामाले आज हिजो शपथ लिएका तीनसहित आज शपथको लागि तयार भएका थप ३ लाई जिम्मेवारी समेत तोके । तर कांग्रेसबाट बुधबार मन्त्री बनेका कुन्दनराज काफ्लेले आफुलाई आर्थिक मामिला मन्त्रालय दिने सहमतिलाई कुल्चदै सामजिक विकास मन्त्रीको जिम्मेवारी दिएको र सो जिम्मेवारी आफुले नलिने अडान राखे ।

लामाले आज मन्त्री नियुक्ति गरेका प्रभात तामाङलाई अर्थको जिम्मेवारी दिएपछि काफ्ले बिच्किए । अर्को समस्या मदुकुमार श्रेष्ठको थियो । १४ मध्ये उनको जिम्मेवारी पछि तोकिने भन्दै उनलाई थुमथुम्याउन खोजियो । तर लामाको त्यो प्रयास पनि सफल नभएपछि आजको शपथ ग्रहण रोकिन पुग्यो । सपथमा खादा र माला लिएर नयाँ मन्त्रीलाई बधाई दिन पुगेकाहरु त्यसै फर्किए ।

यस्तो छ मुख्यमन्त्री लामाले तोकेको जिम्मेवारीः

प्रभात तामाङः आर्थिक मामिला तथा योजना मन्त्रालय

सुरजचन्द्र लामिछानेः आन्तरिक मामिला तथा कानुन मन्त्रालय

मिनकृष्ण महर्जनः युवा तथा खेलकुद मन्त्रालय

कुन्दनराज काफ्लेः सामजिक विकास मन्त्रालय

श्यामबहादुर खड्काः खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय

बिमल ठकुरीः संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय

मदुकुमार श्रेष्ठः बिना विभागीय

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर