बजेट कार्यान्वयन गर्न मुख्यमन्त्री कँडेलले कार्यालय प्रमुखलाई गराए ९ बुँदे प्रतिबद्धता – Nepal Press

बजेट कार्यान्वयन गर्न मुख्यमन्त्री कँडेलले कार्यालय प्रमुखलाई गराए ९ बुँदे प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेट कार्यान्वयनको लागि नयाँ थालनी गरेका छन् । प्रदेशमा बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएपछि मुख्यमन्त्री कडेलले कार्यान्वयन गर्ने निकायका जिम्मेवारी अधिकारीहरुसँग प्रत्यक्ष संम्वाद गरेर सामुहिक प्रतिवद्धतामार्फत नयाँ थालनीको शुरुवात गरेका हुन् ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा शुरुवात देखिनै अग्रसरता लिनुपर्ने निष्कर्षसहित मुख्यमन्त्री कँडेलले प्रदेश सरकारका मन्त्रालयसहित १० वटै जिल्लामा रहेका १३४ वटा कार्यालय प्रमुखलाई प्रदेश राजधानी वीरेन्द्रनगर भेला गरि बजेट कार्यान्वयन र सुशासनमा आफूसहित सामुहिक प्रतिबद्धता गरेका हुन् ।

भेलालाई निर्देशन दिदै मुख्यमन्त्री कँडेलले नीति निर्माण र बजेट पारित जनप्रतिनिधि गर्ने भएपनि यसको कार्यान्वयनमा स्थायी सरकार मानिने कर्मचारी संयन्त्रको ठूलो भूमिका रहने बताए । प्रदेशसभावाट बजेट पास भएर मात्रै विकासले गति लिन नसक्ने आफूलाई राम्रो सँग हेक्का रहेको बताउदै मुख्यमन्त्री कँडेलले बजेट कार्यान्वयनको जिम्मेवारी सम्हालेका प्रमुखहरुको टीम नै यसमा सक्रियता देखाउनुपर्ने बताए ।

कर्णालीको अवस्था र मनस्थितीबारे आफूलाई भन्दा कर्मचारी संयन्त्रलाई बढी जानकारी रहेको बताउँदै मुख्यमन्त्री कँडेलले सरकारी तथ्याङ्क र आँकाडाप्रति सबैको औला ठडिन नदिने गरि काम निकाल्न सबै कार्यालय प्रमुखहरुलाई निर्देशन दिए ।

बजेट पास हुने वित्तिकै बर्खा लाग्ने, त्यसपछि चाडपर्व शुरु हुने र हिमाली जिल्लामा चिसोको मौसम देखाउँदै बजेट कार्यान्वयनमा गरिएको लापरवाहीलाई अब छुट दिन नसकिने उनको भनाई थियो । प्रदेश सरकारले विनियोजन गरेको बजेटका कार्यक्रमहरुमा जस जसले पहल गरे पनि त्यो सेवाग्राहीको लागी भएको भन्दै मुख्यमन्त्री कँडेलले मेरो पहलमा बजेट आयो भनेर व्यक्तिगत फाइदा उठाउनेलाई कानूनी दायरामा ल्याउन स्पष्ट निर्देशन दिए ।

उनले भने, योजना ल्याउन पहल गर्नेलाई धन्यवाद दिनुहोला तर ती योजना कुनै व्यक्तिका नभई सेवाग्राहीका हुन भनेर स्पष्ट सन्देश पनि दिनहोला । योजनालाई व्यवसायको रुपमा धन्दा चलाउने प्रवृतिको समूल नष्ट गर्ने अभियानमा आफू रहेको र त्यसमा साथ दिन उनले कार्यालय प्रमुखहरुलाई आव्हान समेत गरे ।

मुख्यमन्त्री कडेलले जनतामा प्रदेश सरकारको अनुभूति हुने गरि समन्वयकारी भूमिका खेल्न, शुसासनको मामिलामा कठोर कदम चाल्न र सार्वजनिक शिष्टता नैतिकता र आचरणमासमेत कुनै पनि प्रश्न नउठने गरि काम गर्न निर्देशन दिए । कर्मचारीलाई आफूले हेर्ने दृष्टिकोणको उसको कार्यक्षतामा निर्भर हुने उनको भनाई थियो ।

भेलामा प्रमुख सचिव चुडामणि पौडेलले कार्यालय प्रमुखहरुले समस्यामुखी भन्दा समाधानमुखी अवधारणा ल्याउन सके बजेट कार्यान्वयनमा सहजता ल्याउने बताए । उनले मातहतका कर्मचारीको मनोवल उच्च पार्न मुख्यमन्त्रीले लिएको अग्रसरताको प्रशसासमेत गरे ।

भेलामा पारित ९ बुँदा

सम्वत् २०८१ साल साउन १० गते माननीय मुख्यमन्त्री श्री यामलाल कडेलको अध्यक्षतामा प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा र चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयनको योजना तयारी सम्बन्धी सम्पन्‍न गोष्ठीका सहभागीहरु हामी मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिव, सचिव र कार्यालय प्रमुखहरुको तर्फबाट चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको सम्बन्धमा देहाय बमोजिम साझा प्रतिवद्धता गर्दछौ ।

१. प्रदेश सरकार अन्तर्गतका जिल्लास्थित सबै कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रममा रहेका योजनाको विवरण (योजनाको नाम, कार्यान्वयन हुने स्थान, कार्यान्वयन अवधि तथा विधि, बजेट आदि) सम्वत् २०८१ साउन मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई जानकारी तथा कार्यान्वयन सहजीकरणका लागि पत्राचार गर्नेछौ ।

२.स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक कार्यविधि, निर्देशिका तथा मापदण्डहरु सम्वत् २०८१ भाद्र मसान्तभित्र तर्जुमा र असोज १५ भित्र स्वीकृत गर्नेछौ।

३.स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गतका सालबसाली आयोजनाहरु सम्वत् २०८१ असोज १५ भित्र खरिद प्रक्रिया अगाडि बढाउनुका साथै वहुवर्षीय तथा क्रमागत आयोजनाको कार्यान्वयनलाई तीव्रता दिनेछौ ।

४. महालेखापरीक्षकको प्रतिवेदनमा कायम भएको बेरुजु फर्स्यौटको सम्वत् २०८१ साउन मसान्तभित्र कार्ययोजना बनाइ तदारुकताका साथ कार्यान्वयन गर्नेछौ।

५. प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने आयका स्रोतहरुको पहिचान गरी राजश्‍वमा वृद्धि गर्नेछौ।

६.आयोजना/कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरी वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समयवद्ध र पूर्णरुपमा कार्यान्वयन गर्नेछौ ।

७. बजेट तथा कार्यक्रम कार्यान्वयनको अनुगमन कार्ययोजना बनाइ प्रभावकारी र नतिजामूलक अनुगमन गर्नेछौ।

८. उपलब्ध स्रोत र साधनको मितव्ययी र कुशलतापूर्वक प्रयोग गर्दै आफ्नो निकायबाट प्रवाह गरिने सेवालाई नतिजामूलक, गुणस्तरीय, नागरिकमैत्री र प्रभावकारी बनाउनेछौ ।

९. आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति, बजेट तथा कार्यक्रमको तयारीको कार्यतालिका बनाइ दोस्रो त्रैमासिक देखि शुरूवात गरि समयबद्व रूपमा योजना तर्जुमाको कार्यसम्पादन गर्नेछौ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर