मौसम र सडकमा सुधार आएपछि आजबाट रात्रि बस सेवा सञ्चालनमा – Nepal Press

मौसम र सडकमा सुधार आएपछि आजबाट रात्रि बस सेवा सञ्चालनमा

रुपन्देही । यात्रु र सवारी साधनको सुरक्षाको कारण देखाई गत महिनादेखि स्थगित गरिएको रात्रि बस सेवा पुनः संचालन भएको पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले जनाएको छ ।

अविरल वर्षाका कारण बिभिन्न स्थानमा आएको बाढी पहिरोले सडक क्षतिग्रत भएकोले यात्रु र सवारी साधनको सुरक्षाका लागि स्थगित गरिएको रात्रि बस सेवा साउन १० गते बिहीबारबाट पुनः संचालन गरिएको हो । मौसम र सडक दुबैमा सुधार आएकोले सतर्कताका साथ रात्री सेवा संचालन गर्ने निर्णय भएको प्रा.लि.ले जनाएको छ ।

पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि. बुटवलका अनुसार यहाँबाट काठमाडौंका लागि छुट्ने दैनिक ६४ वटा र अन्य स्थानका लागि छुट्ने ५४ वटा रात्री बस १० गते बिहीबारदेखि पुनः संचालन भएका छन् ।

हाल अति आवश्यक प्रयोजनका लागि दैनिक ४ वटा मात्र रात्रि बस संचालन गरिएकोमा अव दैनिक १ सयभन्दा बढी रात्रि बसहरु नियमित संचालन हुने प्रा.लि.का प्रबन्ध संचालक रामचन्द्र भुसालले बताएका छन् । भुसालले भने, मौसम र सडक दुवैमा सुधार आएको छ रात्री सेवा उच्च सतर्कताका साथ सुरक्षा निकायसँग समन्वय गरेर सुचारु गर्छौं ।

प्रबन्धक भुसालका अनुसार रुपन्देही, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची र कपिलबस्तुबाट काठमाडौं, पोखरा, बीरगन्ज, बिराटनगरलगाएतका स्थानमा संचालन हुने रात्रि बसहरु नियमित संचालन हुनेछन् ।

वर्षायामका कारण सडकमा हुने संभावित घटना र सवारी दुर्घटनाको कुरालाई पनि मध्येनजर गर्दै प्राविधिक रुपले पनि जोखिम न्यूनिकरण गर्दै सुरक्षित तवरले यात्रा गराउने प्रा.लि.ले तयारी गरेको प्रबन्धक भुसालले जानकारी गराएका छन् ।

प्रमुख राजमार्गलगायतका सडकहरुमा रहेका पहिरो र ढुंगाहरु हटाइएको र क्षतिग्रस्त सडकहरु मर्मतसंभार गरिएको कारणले पनि बाढीपहिरो र संभावित जोखिम पनि न्यूनिकरण भएकोले यात्रुहरुलाई सुरक्षित यात्रा गराउने उद्देश्य रहेको प्रा.लि.का संचालक एवं दुर्घटना न्यूनीकरण अभियानका संयोजक नारायण घिमिरेले बताएका छन् ।

मौसम र सडक दुबै क्षेत्रमा सुधार आएकोले रात्री बस सेवा नियमित रुपमा संचालन गर्ने निर्णय गरिएको र सोही अनुसार सुरक्षा निकाय र व्यवसायीहरुलाई परिपत्रसमेत गरिएको बस व्यवसायी हिमाल गैरेले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *