लुम्बिनीका मन्त्री बादशाहविरुद्ध ओरेक नेपाल- तत्काल नहटाइए सडक संघर्ष गरिने चेतावनी – Nepal Press

लुम्बिनीका मन्त्री बादशाहविरुद्ध ओरेक नेपाल- तत्काल नहटाइए सडक संघर्ष गरिने चेतावनी

रुपन्देही । लुम्बिनी प्रदेशमा बुधबार मन्त्री बनेका नेपाली कांग्रेसका सांसद बादशाह कुर्मीलाई तत्काल हटाउन महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले माग गरेको छ ।

बादशाहको गृहजिल्ला बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको हत्यामा आरोपित सांसद कुर्मीलाई मन्त्री बनाएप्रति गम्भीर आपत्ति जनाउँदै ओरेकले यस्तो विवादमा आएको व्यक्तिलाई मन्त्री जस्तो गरिमामय पदमा भएको नियुक्ति तुरुन्तै फिर्ता गरी आरोपितलाई तत्काल पदबाट हटाउनका लागि माग गरेको हो । बादशाह मन्त्री बनेपनि अहिलेसम्म कुनै मन्त्रालय नपाई बिनाविभागीय रहेका छन् ।

ओरेकले कुनै पनि बहानामा यस्ता अक्षम्य त्रुटिहरू नसच्याइएमा सम्पूर्ण मानव अधिकारकर्मीहरू एकजुट भई यसको विरुद्धमा सडकमा उत्रिन बाध्य हुने चेतावनी दिँदै हत्याका मुख्य आरोपी रहेकालाई मन्त्रीमा नियुक्त गरिनु महिलामाथि हुने जघन्य अपराधको घटनालाई राज्यले कसरी सरलीकरण गर्छ र हिंसाका आरोपितहरूलाई कसरी संरचनागत संरक्षण गरिएको गम्भीर आरोप लगाएको छ ।

अध्यक्ष सविता पोखरेलद्वारा जारी विज्ञप्तिमा निर्मला हत्याको बारेमा पटकपटक सडक आन्दोलन गरी सरकार र आन्दोलन पक्षबीच असार १० गते चौथो पटक ५ बुँदे सहमति भएको र अभियुक्त भनिएका बादशाह कुर्मीलाई असारको अन्तिममा सम्मानित अदालतमा पेस गर्ने भनेर सहमति गरिएको उल्लेख छ ।

‘हाल सरकार परिवर्तन भई नयाँ सरकारले उक्त मुद्दाको स्वरूप नै परिवर्तन गर्ने उद्देश्यले आरोपित कुर्मीलाई मन्त्रीमा सिफारिस गरिनुले राजनैतिक शक्तिको आडमा बढ्दो दण्डहीनतालाई प्रोत्साहन गरेको प्रस्ट देखिन्छ’ विज्ञप्तीमा जनाइएको छ ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोगले उनको नाम उल्लेख नगरी कुनै पनि गम्भीर विवादमा मुछिएका व्यक्तिलाई सरकारको विशेष जिम्मेवारी दिन नहुने जनाइएको थियो । अधिकारकर्मी रुबि खानले यो विषयलाई बादशाह उम्मेदवार भएदेखि नै लगातार उठाउँदै आएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *