दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा पुगेन राहत, समस्या बुझ्न पुगे पूर्वमुख्यमन्त्री – Nepal Press

दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा पुगेन राहत, समस्या बुझ्न पुगे पूर्वमुख्यमन्त्री

कञ्चनपुर । असार तेस्रो साता जोगबूढा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाकी सपना सुनार विस्थापित बनिन् । बाढीले घर भताभुङ्ग बनायो। भित्रको अन्नपात, लत्ताकपडा सबै बगायो ।

त्यसपछि सुनारको बास स्थानीय जमुना आधारभूत विद्यालय बनेको छ । बाढीले विस्थापित बनेको तीन साता बित्नै लाग्दा पनि उनी अहिले पनि बस्तीमा फर्किन सकेकी छैनन् ।

‘जोगबूढा नदी बस्ती पस्दा मुस्किलले ज्यान जोगायौँ। घर बस्नै नमिल्ने बनेको छ । होचो भूभाग हुँदा अझै पानी जमेकै छ । बल्ल बल्ल ज्यान जोगाएपनि घरभित्रको अन्नपात, लुगाफाटो सबै बाढीले बगायो,’ सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलसमक्ष गुनासो गर्दै भनिन् ।

नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका रावल नेतृत्वको टोलीले बाढीले क्षति पुर्याएका दोधारा चाँदनी नगरपालिकाका तीन ठाउँको स्थलगत निरीक्षण गरेको छ ।

सुदूरपश्चिमका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्की, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बूसहित जनप्रतिनिधिको टोली बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्दै पीडितको गुनासो सुनेका छन् ।

बाढी र डुबानले विस्थापित कतिपय नागरिक घर फिर्ती भइसकेपनि पटराखल्लाका २७ परिवारको बास विद्यालय बनेको छ। जमुना आधारभूत विद्यालयको कोठामा बाढी विस्थापितले रात बिताइरहेका छन् ।

जमुना आधारभूत विद्यालयमा पटराखल्लाका वृद्धवृद्धा, गर्भवती, सुत्केरी तथा बालबालिकासहित एक सय ५ जना बाढी पीडितले आश्रय लिएर बसेको दोधारा चाँदनी–३ अध्यक्ष हरिसिंह धनाडीले बताए ।

विद्यालयमा पठनपाठन सुरु भइसकेकाले आश्रय लिएर बस्न समस्या भएको स्थानीय मंगल सुनारले बताए ।

‘सुरक्षित आवासको व्यवस्था गरिदिनुपर्यो । अहिले विद्यालयमा बसिरहेका छौँ। हल्का वर्षा हुँदा पनि बस्ती डुबानमा पर्छ’, उनले भने, ‘जोगबूढा नदीमा पक्की तटबन्ध निर्माण गरेर बाढी र डुबानको दीर्घकालीन समाधान गरिनुपर्छ ।’

दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर लिम्बुका अनुसार पटराखल्लाका बाढी विस्थापितको अस्थायी बसोबासको व्यवस्थापन गरिँदै छ । वर्षात् नसकिन्जेलसम्म बस्ती नजिकै उच्च भूभागमा त्रिपाल टाँगेर बस्ने प्रबन्ध मिलाइने उनले बताए ।

पटराखल्ला बस्तीका स्थानीयले झेल्दै आएको बाढी र डुबानको समस्या समाधानका लागि जोगबूढामा पक्की तटबन्ध निर्माणको लागि पहल गर्ने पूर्व मुख्यमन्त्री रावलले बताए ।

बाढी विस्थापितको गुनासो सुनेपछि रावलले विपद् व्यवस्थापन प्राधिकरणका सीइओ अनिल पोखरेलसंग टेलिफोन सम्पर्क गरेर पक्की तटबन्ध निर्माणका लागि आग्रह गरेका छन् ।

‘पक्की तटबन्ध निर्माणका लागि उहाँ सकारात्मक हुनुहुन्छ। बाढी र डुबानको समस्या समाधानका लागि हामी सम्बन्धित निकायलाई घचघचाउँछौँ’, रावलले भने, ‘पीडामा तपाईँहरूको साथमा छौँ। राहतको लागि पहल गर्छौ ।’

दोधारा चाँदनी–१० को १८ पिल्लर बस्ती जोगबूढा नदीको उच्च जोखिममा छ । तीव्र कटान गरिरहेको जोगबूढा नदीले यहाँका ७ परिवार विस्थापितको जोखिममा छन् ।

बिना बर्दिका सैनिकझैँ सीमामा नेपाली भूमि जोगाइरहेका जोगबूढा पारीको १८ नम्बर बस्ती जोड्ने झोलुङ्गे पुलसम्म बाढी आएको थियो । जोगबूढा नदीको कटान रोक्न नगरपालिकाले अहिले अस्थायी तटबन्ध निर्माण गरिरहेको छ ।

जोगबूढामा पक्की तटबन्ध निर्माण नहुँदा दोधारा चाँदनी नगरपालिका–८ को सुन्दरनगर बस्तीमा नदी पसेपछि स्थानीय प्रभावित बनेका थिए । खेतमा माटो भरिएर बगरमा परिणत भएको छ । बाढीले कतिपय घरमा क्षति पुर्याएर स्थानीय विस्थापित बनेको वडाध्यक्ष ओमप्रकाश रोकायाले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर