दुर्घटनाको पनि वर्ग हुन्छ सरकार ?
गत असार २८ गते देशभर भीषण वर्षा भइरहेको थियो । देशको संघीय राजधानी भने ठूला साना दलहरू सत्ता अदलीबदलीको चटारोमा व्यस्त थिए । वर्षा वा राजनीतिक उथलपुथल आम नागरिकका गन्तव्य खोज्ने यात्रा रोकिएको थिएन । उनीहरू पूर्व हिँडेका थिए, पश्चिम हिँडेका थिए, गन्तव्य खोज्दै ।
वर्षाले राजनीतिलाई असर नगरेपनि सडक बाटोबाट हिँड्नेहरूलाई रोकिरहन्छ । त्यो समय पनि कहिल्यै पहिरो नझरेको काली खोलामा ठूलो पहिरोले बाटो रोकेको थियो । सडकमा गुडेका गाडीहरु सुस्त अघि बढ्दै थिए ।
त्यही समय, बिहानको झिसमिसे भुइँमा झरेकै थिएन । नेपालको काठमाडौं छिर्ने मुख्य राजमार्ग मुग्लिन-नारायणगढ सडकमा लेदोसहितको पहिरो गाडी गुडिरहने सडकको भित्तातर्फ बनाइएको कुलेसो, तारजाली सबै नाघेर आयो । मुग्लिन बजारबाट २३ किलोमिटर ५ सय मिटर नारायणगढतर्फको सिमलताल भन्ने ठाउँ थियो त्यो ।
लेदोसहितको पहिरो आउँदा सडकमा गन्तव्य काठमाडौं बनाएर वीरगञ्जबाट हिँडेका र गन्तव्य गौर बनाएर काठमाडौंबाट हिँडेका कुल ६५ जना यात्रु सवार बस त्रिशूली नदीमा खस्यो । तीमध्ये ३ जना त्रिशूलीको भेलमा पौडिएर सडकमा निस्किए, आफन्त गुमाएको अलाप गर्न लागे । आँखै अगाडि दुई बसलाई लतार्दै त्रिशूलीमा डुबाएर बेपत्ता बनाएको देखेका बसका चालकहरु हतास मनस्थितीमा अतालिँदै प्रहरीलाई खबर गरे ।
त्यो बसमा यात्रा गर्ने कोही केही पैसा कमाउन सकिएला जीवन सहज होला भनेर विदेश हिँडेका थिए, कोही सुन्दर भविष्य बनाउन सकिएला भनेर लोकसेवा परीक्षा दिन हिँडेका थिए । कोही राजधानी बाहिरको उपचारले निको नभएर संघीय राजधानीको सुविधासम्पन्न अस्पतालमा उपचार गरेर घर फर्किँदै थिए । समग्रमा भन्दा ति सबैजसो भुइँमान्छे थिए ।
त्यस दिन प्रधानमन्त्रीको कुर्सीमा थिए, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । बिहान झिसमिसे नहुँदै घटना भएको थाहा पाएर प्रधानमन्त्रीले फेसबुकमा घटनाप्रति दुःख मनाउ गरे ।
सुरक्षा संयन्त्र, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतलाई कमाण्ड गर्ने कमाण्डर अर्थात् त्यस बेलाका गृहमन्त्री चितवनको दुर्घटना भएकै क्षेत्रका माननीय समेत रहेका रवि लामिछाने थिए ।
सरकार बनाउने र परिवर्तनको खेल चलिरहँदा काठमाडौंमा बसेको उच्च पदस्थ बैठकले घटनाको दुःख मनाउ गर्यो । फेसबुके दुःखहरु सार्वजनिक भए । तत्कालै घटनास्थलको निरीक्षण गर्न आउने फुर्सद भएन ।
चितवनका प्रहरी प्रशासन घटनाकै दिनदेखि आज १४ औँ दिनसम्म त्रिशूली र नारायणी नदीमा बेपत्ता यात्रु खोजिरहेका छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव दुईवटा बसलाई एकैपटक त्रिशूलीमा खसाउनु र ठूलो संख्यामा मानिस बेपत्ता हुनु सिंगो देशको लागि ठूलो दुःख भएका बताउँछन् ।
चितवनको नदी किनाराबाट कम्तीमा शवमात्रै पाएपनि सद्गद् गर्न हुन्थ्यो भनेर कुरिरहेका यात्रुका आफन्तलाई के जवाफ दिने ? दिनभर नदीमा खोजेर रित्तो हात फर्किनुपर्दा र यात्रुका आफन्तमा दिने जवाफ नहुँदा चितवनका सुरक्षा संयन्त्र निराश बन्न थालिसकेका छन् ।
घटनाको तीन दिनपछि ११ दिनको लागि भनेर गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन कार्यदल बनाएको थियो । यो दुर्घटना चालकको लापरबाही थिएन । लापरबाही त मूल सडकमाथि खनिने सहायक सडक र त्यसका इन्जिनियरिङ गर्ने राज्यका उच्च पदस्तहरूकै होला । तर, यसको दोषी कसलाई देख्छ समितिले, उसको प्रतिवेदनले नै बोल्छ होला ।
चितवनमा कार्यदलका पदाधिकारी आउँदा यहाँका स्थानीयले सोधेका थिए, किन राज्यलाई सर्वसाधारणको मृत्यु दुख्दैन ? उनीहरुले नागरिकका प्रश्न गरेका थिए । समितिका पदाधिकारीले जवाफ दिएका थिए, राज्य संवेदनशील छ ।
मृत्यु त्यो पनि दुर्घटनाजस्तो भयानक कारण, आफैँमा निकै पीडादायी हुन्छ । सबैलाई शोकमा पार्छ । काठमाडौंमा हिजो भएको जहाज दुर्घटना जति भयावह थियो, बिहान झिसमिसे नहुँदै यात्रा गरिरहेको त्रिशूलीमा दुई बस लतारेर ६२ जना बेपत्ता बनाएको घटना अझ बढी भयाबह थियो । अकल्पनीय र पीडादायी थियो ।
त्यो दुर्घटनाले राज्यलाई पक्कै दुखेको होला । तर, व्यवहारमा देखिएन । १४ औँ दिनसम्म दुई लाख राहत दिने निर्णय मात्रै राज्यको देखिनेगरि काम हो । भवितव्य जुनसुकै समयमा आउन सक्छ । व्यक्तिलाई पीडा दिनसक्छ । राज्य त्यस्तै समयको अभिभावक हो । राज्यले गरेको विभेद नागरिकले महसुस गरे भने कल्याणकारी राज्यको के महत्व रह्यो र ?
आज बस दुर्घटना र जहाज दुर्घटनाको सहानुभूति व्यक्त गर्ने तरिकामा किन विभेद भयो ? के राज्यको लागि नागरिकको मृत्युमा पनि वर्ग फरक देखिन्छ ? हरेक व्यक्ति सतप्रतिशत आत्मसम्मानमा बाँच्न पाउनुपर्छ । आफ्नो राज्यमा भएका नागरिकको सतप्रतिशत अभिभावकत्व राज्यको दायित्व हो । एउटै परिवारको अभिभावकबाट किन फरक व्यवहार ? आज आम नागरिकले दुई ठूला दुर्घटनामा प्रश्न गरिरहेका छन् ।
उनीहरू सोधिरहेका छन्, ‘मृत्युको शोक राज्यलाई सडकमा मुस्किलले भाडा तिरेर हिँड्ने र जहाजमा सुविधाजनक यात्रा गर्नेबीचमा किन फरक भयो ? किन बराबरी दुखेन नागरिकको मृत्यु पीडा ?’
तिमी र म
तिमी जहाजमा थियौ, म बसमा थिएँ
तिमी जलेका थियौ, म भिजेको थिएँ
तिमीले सास फेर्न बिर्सेका थियौ
मैले पनि बिर्सेको थिएँ !
तिम्रो पूरै चर्चा चुलियो
मलाई पूरै भुलियो
तिम्रोमा आधा झण्डा झुक्यो
मेरोमा पूरै झण्डा लुक्यो !
यही न हो, लोकतन्त्र र गणतन्त्रको समानता
यति न जहाज र गाडीबीचको भिन्नता !