द्वारिकादेवीदेखि लीलादेवीसम्म- जो महिलातर्फ पहिलो बने – Nepal Press

द्वारिकादेवीदेखि लीलादेवीसम्म- जो महिलातर्फ पहिलो बने

काठमाडौं । लीलादेवी गड्तौलालाई सरकारले मुख्यसचिव नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेकी गड्तौला पहिलो महिला मुख्यसचिव हुन्, अर्थात् निजामती प्रशासनको नेतृत्वमा पहिलो पटक महिला पुगेकी हुन् ।

भलै एक महिनापछि उनले अनिवार्य अवकाश पाउनेछिन् तर इतिहासमा भने पहिलो महिला मुख्यसचिव भनेर उनको नाम लेखिएको छ ।

पहिलो पटक प्रशासनिक कमाण्ड महिलालाई दिएको भन्दै केपी ओली नेतृत्व सरकारको प्रशंसा पनि भइरहेको छ ।

संयोग नै मान्नुपर्छ राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश सुशीला कार्कीसमेतको नियुक्तिताका ओली नेतृत्वको सरकार थियो ।

आज बिहान प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा आफ्नो सकारात्मक पहलमा उच्च नेतृत्वमा पुगेका ४ महिलाको संयोगले खुसी लागेको बताएका छन् ।

प्रशासनिक क्षेत्रमा गड्तौला पहिलो महिला भएजस्तै राजनीतिक, संवैधानिक र अन्य निकायमा पनि महिलाहरू सर्वोच्च पदमा पुगेका छन् । जुन आज हामी चर्चा गर्दैछौँ ।

द्वारिकादेवी ठकुरानी

सुदूरपश्चिमको डोटीमा जन्मिएकी ठकुरानी नेपालको निर्वाचित महिला सांसद र पहिलो महिला मन्त्री हुन् । २०१६ जेठ १३ मा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको पहिलो सरकारमा उनी उपमन्त्री बनेकी थिइन् । २००७ सालमा आफ्नो श्रीमान् उद्धवबहादुर चन्दसँगै नेपाली राष्ट्रिय कांग्रेसबाट राजनीतिमा उदाएकी उनी २००७ सालमा नै पार्टीको सदस्यता लिएकी थिइन् ।

उनी २०१५ सालको आमनिर्वाचनमा क्षेत्र नम्बर ६६ डडेल्धुराबाट निर्वाचन लडिन् । तीन हजार ९०३ मत ल्याइन् र विजेता पनि भइन् । त्यही जितले नेपाली राजनीतिमा पहिलो महिला मन्त्रीको रूपमा उनलाई स्थापित गरिदियो ।

विद्यादेवी भण्डारी

द्वारिका जस्तै विद्यादेवी भण्डारीको राजनीतिक उचाइ पनि ठूलो छ । भलै द्वारिकादेवी पहिलो महिला मन्त्री बनेको ५६ वर्षपछि उनी नेपालको सर्वोच्च पदमा पुग्ने अर्को ऐतिहासिक एकल महिला बनिन् ।

२०७२ कात्तिक १२ गते उनले नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा शपथ लिएकी थिइन् । उनी तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीकी पत्नी हुन् ।

भण्डारी पहिलो महिला राष्ट्रपति मात्रै होइन पहिलो महिला रक्षामन्त्री पनि हुन् भण्डारी । उनी २०५३ चैतमा जनसङ्ख्या तथा वातावरणमन्त्री र २०६६ जेठमा नेपालको पहिलो महिला रक्षामन्त्री बनेकी थिइन् ।

उनी दोस्रो पटक पनि राष्ट्रपति चुनिएकी थिइन् ।

सुशीला कार्की

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन् । तत्कालीन समयमा केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद् बैठकले उनलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतमा उनले २०७३ असार २७ देखि २०७४ जेठ २४ गतेसम्म बिताइन् । मोरङको विराटनगरमा २००९ जेठ २५ जन्मिएकी कार्कीलाई परिवारले डाक्टर बनाउन चाहे पनि उनको यात्रा न्याय क्षेत्रतिर नै मोडियो ।

उनले महेन्द्र मोरङ क्याम्सपबाट बीए पास गरेकी थिइन् । त्यसतै बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेकी छन् ।

२०३५ सालबाट वकालत सुरु गरेकी उनी सन् २००९ मा सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा प्रवेश गरेकी थिइन् ।

बहालवाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकी थिइन्। साधारण जीवनशैली रहेकी सुशीला कार्कीलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने न्यायाधीशको रूपमा चिनिन्छ।

प्रधानन्यायाधीश रहेकै बेला सुशीला कार्कीविरुद्ध तत्कालीन सत्ता गठबन्धनका सांसदहरूले महाभियोगको प्रस्ताव दर्ता गरेका थिए, जुन असफल भयो ।

कार्कीविरुद्ध १७ वैशाख २०७६ मा सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको थियो ।

ओनसरी घर्ती

२०४६ सालबाट राजनीतिमा लागेकी ‘उषा’ उर्फ ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख हुन् । माओवादी जनयुद्धको क्रममा पूर्व नेपाल र राजधानी वरपर बिताएकी घर्तीले केही समय जनमुक्ति सेनामा काम गरेकी थिइन् ।

जनयुद्ध थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिला मध्ये उनी पनि एक हुन् । अर्की महिला तारा घर्ती मगर थिइन् ।

उनी २०७२ असोज २९ देखि २०७४ माघ ५ गतेसम्म सभामुखको जिम्मेवारीमा रहिन् । २०३४ कार्तिक २८ गते रोल्पामा जन्मिएकी घर्तीका तीन दाजु र तीन दिदीबहिनी छन् ।

विसं २०५४ मा नेकपा माओवादी रोल्पा जिल्ला समिति सदस्य, २०५७ मा क्षेत्रीय ब्युरो सदस्य, २०६० मा केन्द्रीय सदस्य, २०७० सालमा पोलिटब्युरो सदस्य हुँदै २०६४ को पहिलो संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनिन् ।

शैलजा आचार्य

आजीवन अविवाहित रहेर राजनीतिमा लागेकी शैलजा आचार्य २०५५ सालमा नेपालको पहिलो उपप्रधानमन्त्री भएकी थिइन् । उपप्रधानमन्त्री, कृषि र जलस्रोत मन्त्री, उच्चस्तरीय सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष समेत उनी बनिसकेकी छन् ।

पिता डा. (चिकित्सक) पिनाकीप्रसाद आचार्य र आमा इन्दिराकी छोरी शैलजा नाताले विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसादकी भान्जी हुन् ।

२००१ जेठ अन्त्यतिर विराटनगरमा जन्मेकी शैलजा सानै उमेरदेखि लोकतान्त्रिक आन्दोलन र पार्टी राजनीतिमा लागेकी हुन् । २०१७ सालमा पञ्चायत व्यवस्थाको विरोधमा राजा महेन्द्रलाई काठमाडौँको टुँडिखेलमा कालोझन्डा देखाउने महिलाको नेतृत्व गर्दा उनको उमेर मात्र १७ वर्षको थियो ।

नेपाली कांग्रेसको उपसभापति हुने पहिलो महिला पनि उनै हुन् ।

लीला सुब्बा

लीला श्रेष्ठ सुब्बा नेपालको पहिलो महिला उपसभामुख हुन् । उनी नेकपा एमालेबाट २०५५ सालमा उपसभामुख बनेकी हुन् । उनी उपसभामुख भएका बेला रामचन्द्र पौडेल सभामुख थिए । उनी अहिले राष्ट्रपति छन् ।

त्यो समयमा सभामुखको आसनबाट आफ्नो पार्टी विभाजन गर्न भूमिका खेलेपछि एमालेले रामचन्द्र पौडेलविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको थियो ।

उपसभामुखले महाअभियोग प्रस्तावको छलफलको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था रहेकाले आफ्नो बहुमत नभएका कारण एमालेले लीलालाई राजीनामा गराउने कच्चा खेल खेलेको थियो ।

त्यसबापत लीलाको पद गयो र तत्कालीन मालेका भोजराज जोशी उपसभामुख बनेका थिए । उनी २०५५ साल असोज २४ गतेसम्म उपसभामुख थिइन् । लीला सुनसरी १ बाट २०४१ मा निर्वाचित भएकी थिइन् ।

अनुराधा कोइराला

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला नेपालको पहिलो प्रदेश प्रमुख हुन् । ओखलढुंगाको रुम्जाटारमा जन्मिएकी कोइरालाले वि.स् २०७४ माघ ३ देखि २०७६ कार्तिक १७ सम्म बागमती प्रदेशको प्रदेश प्रमुखका रूपमा जिम्मेवारी निभाइन् । २०७४ माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई बागमती प्रदेश (प्रदेश नम्बर ३) को प्रमुखमा नियुक्त गरेको थियो ।

अनुराधाले क्यालिफोर्नियाको लस एन्जलसमा सिएनएन हिरो उपाधि जितेकी छन् । पद्म श्री पदक लगायत उनले थुप्रै पुरस्कार जितेकी छन् । उनी अहिले पनि माइती नेपालमा सक्रिय छिन् ।

अष्टलक्ष्मी शाक्य

२०७८ भाद्र २ देखि २०७८ कार्तिक ११ गतेसम्म बागमती प्रदेश सरकारको नेतृत्व गरेकी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री हुन् । शाक्य २०३६ सालमा घर छोडेर भूमिगत राजनीतिमा होमिएकी नेतृ हुन् ।

काठमाडौंको नेवार परिवारमा २०१० सालमा  जन्मिएकी शाक्यले २०२९ सालमा एसएलसी पास गरेकी थिइन् । भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलामका पक्राउ परिन् र पछि अखिल नेपाल महिला संघको अध्यक्ष समेत भइन् । शाक्य निरन्तर रूपमा पार्टीमा सक्रिय महिला नेतृ मध्येमा पर्छिन् ।

शाक्य २०५६ साल र २०७१ सालमा भएको संविधानसभा चुनावमा सांसदमा निर्वाचित भएकी थिइन् ।

पञ्चायतकालमा झण्डै ११ वर्षसम्म भूमिगत जीवन बिताएकी शाक्यले २०३७ सालमा पार्टीकै नेता अमृतकुमार बोहरासँग विवाह गरेकी थिइन ।

विन्देश्वरी शाह

विन्देश्वरी शाह नेपालको पहिलो महिला राजदूत हुन् । शाहले २०४४ चैतमा जिम्मेवारी सम्हालेकी थिइन्। २०४५ मा भारतले नाकाबन्दी लगाएका बेला उनी राजदूत रहेकी थिइन् । बहुदलीय व्यवस्था पुनर्स्थापना हुने बित्तिकै सरकारले शाहलाई फिर्ता बोलाएको थियो।

उनले राजदूतका रूपमा नाकाबन्दी हटाएर नेपाल भारत सम्बन्धलाई सम्बन्धलाई नर्मल बनाउन भूमिका खेलेकी थिइन् ।

उनी नेपालको परराष्ट्रमन्त्रालयको सदस्य (अधिकृत) का रूपमा अमेरिकाको नेपाली दूतावासमा सरुवा भइन् । बंगलादेशले स्वतन्त्रता प्राप्त गरेपछि त्यहाँको राजदूतावास उनले नै स्थापित गरेकी थिइन् । उनी चर्चित बैंकर अनिल केशरी शाहकी आमा हुन् ।

लीलादेवी गड्तौला

२६ जना मुख्यसचिवले प्रशासनिक कमान्ड सम्हालेपछि मुख्यसचिव नियुक्त भएकी लीलादेवी गड्तौला पहिलो मुख्यसचिव हुन् ।

मुख्यसचिव डा. वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा दायर भएर निलम्बनमा परेपछि उनी मुख्यसचिव बनेकी हुन् । यद्यपि उनको कार्यकाल एक महिनाको हुनेछ । उनले त्यसपछि अनिवार्य अवकाश पाउनेछिन् ।

२०५२ सालमा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी उनी आउँदो भदौ १५ गते उमेर हदका कारण अवकाशमा जानेछिन् । नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक निमित्त र कामु मुख्यसचिवको जिम्मेवारी पनि गड्तौलाले नै पाएकी हुन् ।

तेह्रथुमको साबिकको पिप्ले हाल म्याङलुङ गाउँपालिकामा जन्मिएकी लीलादेवीले नेपाल ल क्याम्पसबाट आईएल र बीएल पास गरेकी छन् । २०५२ सालमा न्याय सेवामा उनी शाखा अधिकृतमा खुला प्रतिस्पर्धाबाट पहिलो नम्बरमा सिफारिस भइन् ।

साढे १० वर्षपछि २०६३ कात्तिकमा उपसचिवमा बढुवा भइन् । शाखा अधिकृत रहुन्जेल लीलादेवीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कानून तर्जुमा शाखामा बिताइन् ।

संवैधानिक निकायका पदाधिकारीसम्बन्धी कानूनको मस्यौदा त उनले हातैले लेखेर तयार पारेकी थिइन् । लीलादेवी शाखा अधिकृत हुँदा न्याय सेवाको कानून उपसमूहमा हाल सहसचिव रहेकी इन्दिरा दाहाल गरी अधिकृत दुई जना मात्रै थिए । उपसचिव बनेपछि गड्तौलाले ९ महिना कानून मन्त्रालय, त्यसपछि जलस्रोत, ऊर्जा, उद्योग, गृह, सिँचाइ र परराष्ट्र मन्त्रालयको कानून शाखा प्रमुख भएर काम गरिन् ।

परराष्ट्रको कानून शाखामै हुँदा लीलादेवीले आन्तरिक प्रतिस्पर्धाबाट २०६९ सालमा सहसचिवको लिखितमा नाम निकालेकोमा अन्तर्वार्तामा असफल भइन् । २०७० मा खुला प्रतिस्पर्धाबाटै सहसचिवमा नाम निकालेकी उनले आरक्षणको सुविधा लिएकी छैनन् ।

सहसचिव भइसकेपछि उनको पहिलो पदस्थापन निर्वाचन आयोगमा भएको थियो । उनले २०७० माघदेखि २०७२ सालसम्म २० महिना आयोगको सहसचिव भएर काम गरेकी थिइन् । त्यसपछि लीलादेवीले ५ वर्ष कानून मन्त्रालयमा बिताइन् ।

२०७७ कात्तिकमा उनी सचिवमा बढुवा भइन् । २ वर्ष उनले नेपाल कानून आयोगमा सचिवको जिम्मेवारी सम्हालिसकेकी छन् । त्यसपछि भने लीलादेवी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् ।

रेनु दाहाल

२०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी रेनु दाहाल पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालकी छोरी हुन् ।

उनी नेपालको पहिलो महिला मेयर (महानगरपालिका) हुन् । दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन्।

२०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भएकी दाहाल प्रवासमा अखिल महिला समाजकी केन्द्रीय समिति अध्यक्ष, सशस्त्र द्वन्द्वकालमा रोल्पामा सहइन्चार्ज, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव भइसकेकी छन् ।

चन्द्रकला किरण

चन्द्रकला किरण निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिवमा पुग्ने पहिलो महिला हुन् । २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी किरन २०४१ सालमा सचिव बनेकी थिइन् ।

उनी २०४६ सालमा सेवा निवृत्त भएकी थिइन् । किरण शिक्षासेवी र सामाजिक व्यक्तित्वको रूपमा समेत परिचित थिइन् ।


प्रतिक्रिया

3 thoughts on “द्वारिकादेवीदेखि लीलादेवीसम्म- जो महिलातर्फ पहिलो बने

  1. कार्की १०७९ यो होइन सच्याउन अनुरोध छ यो कि ईसं १९७९ हुुनुपर्छ विचार गरेर सच्याउन हुन तिन दाजुभाइ ति दिदीबहिनीलाई तिन बनाउन पर्ने हो कि?टाइप गरिसके पछि शुद्वाशुद्वि हेरेर प्रकाशन गर्न हुन ।

  2. अनी नेपालको पहिलो महिला सचिव चन्द्रकला किरण नाम कही खै त ।।

  3. साधना प्रधान पहिलाे जननिर्वाचित महिला हो अनी प्रथमं महिला सम्पादक पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *