एकै जिल्लाका प्रधानमन्त्री र मुख्यसचिव: के भन्छन् तेह्रथुमका उत्साहित पालिका नेतृत्व ? – Nepal Press

एकै जिल्लाका प्रधानमन्त्री र मुख्यसचिव: के भन्छन् तेह्रथुमका उत्साहित पालिका नेतृत्व ?

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लीलादेवी गड्तौलालाई कायममुकायमबाट पूर्ण मुख्यसचिव बनाएसँगै तेह्रथुम जिल्लाको राजनीतिक तथा कर्मचारीतन्त्रको प्रोफाइल एकै पटक दुई मोर्चामा चुलिएको छ ।

तेह्रथुम जिल्लाको हालको आठराई गाउँपालिका- ४ ईवा तीनसल्लेमा २००८ सालमा जन्मिएका केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन् । तेह्रथुमकै हालको म्याङलुङ नगरपालिका- ४ पिप्लेमा २०२३ सालमा जन्मिएकी लीलादेवी मुख्यसचिव छिन् । यो खबरले तेह्रथुमका जनप्रतिनिधिहरु उत्सहित छन् ।

केपी शर्मा ओलीको तेह्रथुमप्रति र उनको जन्मघरप्रतिको प्रेमलाई नजिकबाट हेरेका छन् आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले । हाल काठमाडौंमै भएका पाहिमलाई मुख्यसचिवमा लीलादेवीको नियुक्तिले झनै खुशी तुल्यायो । आफ्नो पालिकामा जन्मिएका प्रधानमन्त्री र आफ्नै जिल्लामा जन्मिएकी मुख्यसचिव भएपछि पाहिमको खुशी निशर्त भने छैन । उनका केही विकासे चाहना छन् ।

‘हाम्रो पालिकामा खानेपानी समस्या धेरै छ’, अध्यक्ष पाहिमले नेपाल प्रेससँग भने, ‘हाम्रो पालिका सुख्खाग्रस्त पालिका हो ।’

उनले पालिका तथा जिल्लामा पूर्वाधारको समस्या भएको भन्दै त्यसमा केही साथ पाउने आशा भएको बताए । उनले भने, ‘केही दिनमा प्रधानमन्त्रीसँग भेटघाट गरेर यी सबै कुरा सुनाउने प्रयासमा छु ।’

यस्तै तेह्रथुम सदरमुकाम आसपासको क्षेत्र समेटेर बनेको म्याङ्लुङ नगरपालिकाकी उपमेयर जमुना कार्की सुवेदीले आफ्नो पालिकाको अनुहार मुख्यसचिव भएकोमा ज्यादै खुशी भएको बताइन् । आफूले र पालिकाले नसोचेको सुन्दर संयोगले पालिकाको मान्छे मुख्यसचिव र जिल्लाको मान्छे प्रधानमन्त्री भएको भन्दै सुवेदीले आफूले पालिका र जिल्लाको विकासमा आशावादी हुने आधार बढेको बताइन् ।

‘पालिकामा शिक्षक अभाव छन्, गुणस्तरीय विद्यालय बनाउनुपर्नेछ’, नेपाल प्रेससँग सुवेदीले भनिन्, ‘जिल्ला अस्पताल भए तापनि अत्यधिक सुविधासम्पन्न बनाउन आवश्यक छ ।’

सुवेदीले महिलाहरुको तालिमको लागि स्तरीय हल निर्माणदेखि पालिकाको जिरीखिम्तीमा क्षेत्रीयस्तरको खेलमैदान आवश्यक भएको बताइन् ।

यस्तै पालिकासँग जोडिएको लालीगुराँस नरपालिकाका पर्यटन म्याङलुङ ल्याउन, दुई पालिकाको सीमामा भएको शिवधाम विकास गर्न, सीमावर्ती मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ-गौखुरी धाम सडक खण्ड निर्माण तथा चौकी-मंगलबारे-गुफापोखरी जस्तो पर्यटकीय करिडोरमा स्तरीय सडक बनाउन अत्यावश्यक भएको पनि सुवेदीले बताइन् ।

उनले भनिन्, ‘हाम्रो पालिकाका आदिवासी जनजाति क्षेत्रमा आवश्यक होमस्टेलाई पनि प्रोत्साहन चाहिएको छ ।’

प्रधानमन्त्री तथा मुख्यमन्त्री दुवैबाट यी क्षेत्रहरुमा सकारात्मक सहयोगको आशा गरेको सुवेदीले बताइन् ।

यस्तै तेह्रथुमका ६ पालिकामा सबैभन्दा धेरै पर्यटक ल्याउने पालिकामा पर्ने लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङले भने विकासका कुराभन्दा नीतिका कुरामा प्रधानमन्त्रीसँग आशा भएको बताए । मुख्यसचिवको कार्यकाल धेरै नभएको भन्दै उनले प्रधानमन्त्रीबाट पालिकाहरु मर्जर गर्ने, सांसद संख्या घटाउनेतर्फ कदम चाल्ने आशा भएको बताए ।

‘पहिले केन्द्रमा धेरै कर आएर पालिका जान्थ्यो, अहिले पैसै छैन’, लेखकसमेत रहेका अध्यक्ष माबुहाङले नेपाल प्रेससँग भने, ‘काठमाडौंमा न्यूरोडमा संघले कि स्थानीय तहले कसले बजेट हाल्ने भन्ने प्रतिस्पर्धा छ । स्थानीय तहमा पैसा नै छैन । आम्दानीले पालिका धान्दैन ।’

आफ्नो पालिका नमुना शहरको रुपमा विकास गर्न खोजिएको पालिका भए पनि पैसा अभाव भएको उनले बताए । आन्तरिक आम्दानीले पालिकाहरु चल्न सकस भएकोले अब आन्तरिक आम्दानी बढाउने र पालिकाका प्राविधिक खर्चहरु घटाउने कदम चाल्नुपर्ने माबुहाङले बताए । यसको लागि सरकारले आर्थिक तथा सामाजिक कोणबाट मात्रै नभएर राजनीतिक तथा कूटनीतिक कोणबाट काम गर्नुपर्ने उनले बताए ।

अध्यक्ष माबुहाङले नेपालबाट विषादी परीक्षण गरिएका तरकारी, फलफूल तथा अन्नबाली सहजै भारतमा प्रवेश गर्न पाउने खालको दुई देशको समन्वय र संयन्त्र भएमा पालिकाहरुलाई केही राहत हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *