मृत्युले विभेद देखेको दिन
बितेको १२ दिनदेखि चितवनका सुदीप विक, रौतहटका फिरोज रहुप मियालगायत ६३ जनाका परिवार र आफन्तहरूको आँखा ओभाएका छैनन् । काठमाडौं जान र काठमाडौंबाट जान भनेर हिँडेका उनीहरूको सासलाई त्रिशूली किनारको त्रिभुवन राजपथमा आएको पहिरोले सधैंका लागि थुनिदियो । यीमध्ये कति परिवार त सास नफेर्ने लास हेर्न नै आश गरेर बस्नु परिरहेको छ ।
धेरै जनाका लागि यो प्राकृतिक विपत् होला, तर मेरा लागि यो राज्यले गरेको हत्या हो । ए कोल्ड ब्लडेड मर्डर ! चालीसौं वर्षसम्म एउटै प्रकृतिमा जब निर्दोष व्यक्तिहरूको जीवन गइरहन्छ, तब त्यो विपत् हुँदैन । सायद कति जनालाई त्यही विपत्मा कमाउने भाँडो छ । त्यसैले त सायद राज्यका लागि यस्ता घटना र घटनामा ज्यान गुमाउने जीवन फगत अङ्कमात्र बन्छन् ।
आममानिसलाई राज्यले ‘तिमीहरू फगत अङ्क हौ’ भनेर पटकपटक नभनेको पनि होइन । कहिले नबन्ने त्रिभुवन राजपथ होस् वा बाढीपहिरोका बेला हेलिकप्टर चार्टर गरेर अनुगमन गर्ने नेताहरूको यात्रा होस्, राज्यले देखाउने हरेक जात्रामार्फत हरेक पटक ‘ए निमुखा जनता तिमीहरूको हामीलाई के मतलब’ भन्ने कुराको हुँकार त सधैं देखिन्थ्यो नै । जनतालाई पनि सायद राज्यको आश छैन र त ऊ भगवानमाथि आस्था राख्दै खोला जस्ता बाटाहरूमा यात्रा गरिरहन्छन् हरेक दुःख झेल्दै, हरेक दुर्घटना छिचोल्दै ।
जनताका एउटा पनि कुरामा खरो नउत्रेको राज्य जब हेपाहा र विभेदकारी बन्छ, तब भने एउटा सामान्य नागरिकको मन दुख्छ । राज्यले अस्ति देखाएको विभेदमा सिमलतालमा ज्यान गुमाउनेहरूका परिवारले के अनुभूति गर्दै होलान् भन्ने कुरा सोचेर म रन्थनिएकी छु । म स्तब्ध छु, राज्य चलाउनेहरूको अकर्मण्यताले नेपाली जनताको मनमा राज्य भनेकै भावनाविहीन, निर्दयी र विभेदकारी हुन्छ भन्ने कुरा सदाका लागि गड्यो भनेर !
धेरैलाई लाग्नसक्छ, मृत्युको परिभाषा गर्ने यो सायद सही समय होइन, तर होइन अब त बोल्नुपर्छ । अब त लेख्नुपर्छ । राज्य चलाउनेहरुलाई उनीहरूको निर्दयता बुझाउनलाई पनि हामी शब्दमा निर्दयी बन्नैपर्छ । हामीले गर्नसक्ने सायद यति नै हो ।
अरे यार, एउटा राज्यका लागि आफ्नो नागरिकको मृत्युको मूल्य कसरी फरक हुनसक्छ ?
सिङ्गो देश १८ जनाको दुखद निधनमा दुखिरहँदा, एकदमै फरक कोणमा मैले अहिले सोचिरहँदा म निर्मम देखिन सक्छु । धेरैलाई लाग्नसक्छ, मृत्युको परिभाषा गर्ने यो सायद सही समय होइन, तर होइन अब त बोल्नुपर्छ । अब त लेख्नुपर्छ । राज्य चलाउनेहरुलाई उनीहरूको निर्दयता बुझाउनलाई पनि हामी सायद शब्दमा निर्दयी बन्नैपर्छ । हामीले गर्नसक्ने सायद यति नै हो ।
कुरा राज्यले आज झण्डा किन झुकायो भनेर हुँदै होइन । राष्ट्रिय शोकको अपनत्व गर्न नागरिकको दुखेको मनलाई साङ्केतिक रूपमा जोड्न झण्डा झुकेको हो । सरकारलाई दुःख मनाउन झण्डा किन झुकायौ भन्ने प्रश्न हुँदै होइन । यो दुखद घटनाको गम्भीरता र यसले पु¥याएको चोटमा राष्ट्र एक हुनैपर्छ, राष्ट्र रुनैपर्छ ।
प्रश्न केमात्र हो भने यी निर्दोष १८ आत्माको शोक गरिरहँदा दुई हप्ता अगाडि बस दुर्घटनामा आफ्नो ज्यान गुमाउनेहरूले मर्ने क्रममा थप के गर्नुपथ्र्यो, जसले गर्दा राज्यले दुखे जस्तो गरी नाटक गर्न बाध्य पाथ्र्यो ? हुन त आँसुमा पनि राजनीति गरिदिने राज्यले साँच्चै नै मन दुखेर झण्डा झुकाएको जस्तो लाग्दैन । राज्यको मन दुख्थ्यो भने यो राज्य अर्कै हुन्थ्यो ।
यद्यपि अराज्यमा पनि यस्तो विभेद हुनुहुँदैन । नागरिकहरूबीचको जीवनको मूल्य फरक हुनुहुँदैन । शव र लास यी दुई फरक शब्दले समाजको फरकलाई देखाउनु हुँदैन । महलमा बस्ने होस् वा झुपडीमा, जमिनमा खुट्टा नटेक्ने होस् वा जमिनमै जीवन सक्ने होस्् वा देशका हरेक नागरिकको जीवन एउटै हो ।
हुन त आँसुमा पनि राजनीति गरिदिने राज्यले साँच्चै नै मन दुखेर झण्डा झुकाएको जस्तो लाग्दैन । राज्यको मन दुख्थ्यो भने यो राज्य अर्कै हुन्थ्यो ।
जीवन चाहे जसरी अन्त्य भएको होस्, त्यसको महत्त्व समान छ । समान हुनुपर्छ । बस दुर्घटनामा ज्यान गुमाएका सन्तानको आमाको मुटु प्लेन दुर्घटनामा ज्यान गुमाएका सन्तानको आमाको मुटुभन्दा कम दुख्छ होला र ! विधवा हुने श्रीमतीहरूको सिन्दूरको रङ कम गाढा हुन्छ होला र ! आमाको स्नेह, बुवाको सहारा, श्रीमतीको प्यारमाथि नापतौल देखिने तरिकाले नगरिदिए हुन्थ्यो भन्ने थोरै आशमात्र गरेको हो ।
दुर्घटनामा आफ्नालाई गुमाउँदाको पीडा र त्रासदी कहालीलाग्दो हुन्छ । मुटु कमाउने यस्ता दुर्घटना आकाशमा वा जमिनमा जहाँ भए पनि सधैं आकस्मिक र दुखद नै हुन्छन् । यस्ता दुर्घटनाले परिवारलाई टुक्राएर राखिदिन्छन् । समाजलाई कहिले नभरिने घाउ दिएर जान्छन् ।
यो विमान दुर्घटना र लगत्तै राष्ट्रको आधा झण्डा झुकाउने निर्णयले गुमेको जीवनको राष्ट्रिय मान्यता र सार्वजनिक शोकको अभिव्यक्तिलाई सङ्केत गर्दछ । यसले जीवन कति अमूल्य छ र आकस्मिकतामा गुमाइने जीवन सदैव सामूहिक शोकका विषय हुन्छन् भन्ने कुरालाई भावनात्मक रूपमा प्रतिविम्बित गर्छ, तर यो भावना पनि जब क्लासअनुसार परिवर्तन हुन थाल्छ, समस्या त्यहाँ खडा हुन्छ । दुःखका साथ भन्नुपर्छ, हवाई दुर्घटनामा बढी र बस दुर्घटनामा कम दुख्दै गर्दा राज्यमात्र होइन, नेपाली मिडिया र समाज पनि मृत्युलाई मास र क्लासमा वर्गीकरण गर्न अभ्यस्त भइसकेको छ भनेर नमीठो, तर सत्य आक्षेप लगाए भने पनि अतिशयोक्ति सायद नहोला ।
सायद यो आक्षेप पनि होइन । यो भिन्नता त तपाईं हामी बसिरहेकै समाजको सामाजिक मान्यता र प्रतिक्रियाहरूको प्रतिविम्ब नै हो नि होइन र ? जहाजको मूल्य धेरै हुन्छ । जहाजमा यात्रा गर्ने मानिसहरू प्रायजसो सम्भ्रान्त परिवारकै हुन्छन् । आकाशमा उड्दै गरेर पहाडमा ठोकिँदा होस्, बादलभित्रै हराउँदा होस् वा अन्य विभिन्न अभयवरहरूबाट होस्, जहाज दुर्घटना गलत अर्थ नलाग्ने हो भने ग्लामरस हुन्छन् ।
जीवन चाहे जसरी अन्त्य भएको होस्, त्यसको महत्त्व समान छ । समान हुनुपर्छ । बस दुर्घटनामा ज्यान गुमाएका सन्तानको आमाको मुटु प्लेन दुर्घटनामा ज्यान गुमाएका सन्तानको आमाको मुटुभन्दा कम दुख्छ होला र ! विधवा हुने श्रीमतीहरूको सिन्दूरको रङ कम गाढा हुन्छ होला र !
त्यहीनेर बस दुर्घटना सायद सधैं एउटा फुङ्ग उडेको समाजको थोत्रो घर जस्तो हुन्छ । एउटा त्यस्तो घर, जसको कथाबारे कसैलाई न मतलब छ न त कसैलाई सुर्ता । त्यसैले त सामान्य बनाइएका बस दुर्घटनाहरू न अन्तर्राष्ट्रियकरण हुन्छन् न त दुःख नै राष्ट्रिय हुन्छन् । त्यसैले पनि होला यस्ता दुर्घटनाहरूको बाछिटा तिनीहरूकै नजिकसँग मात्र पुग्ने ।
यो लेख पढ्दै गर्दा आफ्नै मनलाई सोध्नुहोला, आफ्नै विवेकसँग प्रश्न गर्नुहोला र विगतमा भएका हवाई दुर्घटना र गाडी दुर्घटनाहरूमा के तपाईंको मन उस्तै प्रकारले दुखेको छ । दुखेको छैन भने राज्यलाई मात्र दोष दिएर काम छैन । सायद राज्य पनि हामीलाई देखेर नै विभेदी पो भएको हो कि ? भन्छन् नि you get a state according to the citizen!
कुरा जे होस्, कारण जे होस्, यसले कहीँ न कहीँ हाम्रो समाजको विभेदलाई प्रस्ट रूपमा देखाइदिन्छ र ठूल्ठूलो स्वरमा भनिदिन्छ, देशमा अझै पनि केही जीवन अरू जीवनभन्दा फरक त छन् । यो हाम्रो समाजको विद्यमान असमानताको ठूलो घचघच्याइ हो, जसले गरिबहरू प्रायः शोकको मौनताभित्र कहीँकतै हराउँछन् भन्ने तथ्यलाई फेरि पनि सतहमा ल्याइदिएको छ ।
पछिल्लो बस दुर्घटनामा ज्यान गुमाउनेका परिवारहरू सायद शोकमा यति धेरै डुबेका छन् कि उनीहरूले सायद टीभी हेरेका छैनन्, रेडियो सुनेका छैनन् । सायद ठीकै भयो नहेरेर, हेरेको भए, सुनेको भए समवेदनामा पनि राज्यले गरेको विभेद देखेर उनीहरू भावशून्य हुन्थे होलान् !
राष्ट्रिय झण्डा देशभरि झुक्दै गर्दा यो राज्य र समाजले आफ्नो टाउको झुकाउँदै एक चोटि आफैंमाथि निर्मम प्रश्न गरोस् । सामाजिक मान्यताका हरेक त्यस्ता अवयवहरूमाथि प्रश्न गरोस्, जसले मृत्युपछिको यात्रामा पनि असमानता सिर्जना गरिरहन्छन् । यो प्रश्नको ध्वनि यति ठूलो होस् कि यसले समावेशी र सहानुभूतिपूर्ण समाज सृजना गर्न मद्दत गरोस् । यो सामूहिक दुःखको क्षण अब सामूहिक दृढताको पनि क्षण बनोस् । जसले सामाजिक संरचनाको खाडललाई सधैंका लागि पुरिदियोस् ।