मौद्रिक नीतिबारे सरोकारवाला- स्वागतयोग्य र आशावादी – Nepal Press

मौद्रिक नीतिबारे सरोकारवाला- स्वागतयोग्य र आशावादी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई एक आधार दिने र कहाँ कसरी लगानी बढाउने घटाउने आधार तय गर्दछ । लामो समसयसम्म मारमा रहेको निर्माण क्षेत्रदेखि बैंक तथा वित्तीय संस्था, पुँजी बजार, कृषि लगायत क्षेत्रलाई मौद्रिक नीतिले राहत दिने सरोकारवालाको अपेक्षा छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले वस्तुस्थितिको विश्लेषणका आधारमा सहज मूल्य र बाह्य क्षेत्र स्थितिलाई मध्यनजर राखी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको बताए ।

मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने प्रयास गर्न खोजिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले बताए ।

अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न सहयोग गर्ने गरी नै मौद्रिक नीति आएको उनको भनाइ छ ।

केसीले भने, ‘बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई पनि मौद्रिक नीतिमार्फत सम्बोधन गर्न खोजिएको छ । समग्र ऋणको प्रोभिजनलाई १.१ प्रतिशत झार्ने विषय सकारात्मक छ ।’

उनले निर्माण क्षेत्रमा बैंकले लिएका नीतिले यस क्षेत्रमा देखिएको समस्या समाधान हुने बताए ।

३ वर्षदेखि सम्बोधन नभएका समस्या मौद्रिक नीतिले सम्बोधन गरेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् ।

अध्यक्ष सिंहले नेपाल प्रेससँग भने, ‘कर्जा समायोजनको समय थप गरिदिएर व्यवसायीहरूलाई केही हदसम्म राहत प्रदान गरेको छ । मौद्रिक नीतिले सम्बोधन गरेका समस्याहरू विगत ३ वर्षदेखि भोग्दै आएका थियौं । र, लगातार सुनाउँदै आएका थियौं । समस्याहरू राष्ट्रियकरण गर्ने काममात्रै भएको थियो । अहिले हाम्रा अधिकांश माग सम्बोधन भएका छन् । हामीले यस मौद्रिक नीतिलाई आशाको किरणका रूपमा लिएका छौँ ।’

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले संस्थागत लगानीकर्तालाई प्रोत्साहन गरेको स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्की बताउँछन् । उनका अनुसार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति अघिल्लो वर्षभन्दा लचिलो आएको छ ।

कार्की भन्छन्, ‘समग्रमा लचिलो र पुँजीबजारमैत्री मौद्रिक नीति आएको छ । शेयर धितो कर्जाको २० करोडको सीमालाई खारेज गरिएको छ । यसले बजारमा ठूलो लगानीलाई बढावा दिने देखिन्छ । संस्थागत लगानीकर्ताहरूको २० करोडको क्याप हटाउने, नीतिगत दर तथा बैङ्क दर घटाउने, लघुवित्तहरूको सुधारको निम्ति ऋण पुन संरचना गर्ने लगायतका ६ बुँदाहरू, बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापनको निम्ति बैंक खोल्ने र क्यापिटल एडेक्वेसी फ्रेमवर्कमा परिमार्जन हुने लगायतको बुँदाहरूले पुजिबजार र समग्र लगानीकर्ताहरूमा थप ऊर्जा दिनेछ । आगामी बजारमा बिग बुलको प्रवेश हुने प्रष्ट संकेत गरेको छ ।’

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले मौद्रिक नीतिको स्वागत गर्दै सन्तुलित रूपमा आएको प्रतिक्रिया दिए । कर्जाको विस्तार हुने देखिएको बताउँदै उनले लघुवित्तलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

शाखाको मर्जरलाई समेत प्राथमिकता दिनेगरी आएको र ग्राहकको पक्षमा पनि प्रभावकारी बनाउने गरी आएको उनको भनाइ छ ।

मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई चलायमान गराउने उद्देश्यले लिएको देखिने शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेल बताउँछन् ।

फुलेले भने, ‘नीतिगत दर घटाएको छ । हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारिएको छ । त्यस्तै ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ । उपलब्ध हुने शर्तहरूलाई लचिलो बनाइनेसमेत घोषणा गरिएको छ । लघुवित्त कम्पनीहरूका राहतका कार्यक्रम आएका छन् । हाम्रा धेरै मागहरू सम्बोधन नभएता पनि आगामी समीक्षाहरूमा खुकुलो पार्दै आउने कुरामा आशावादी छौं । विद्यमान व्यवस्थाले समग्र अर्थतन्त्रलाई चलायमान गराउने उद्देश्यले आएको देखिन्छ त्यसै कारण शेयर बजारलाई समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *