हार्दिक पाण्ड्याको सबै सम्पत्ति आमाको नाममा ! डिभोर्सपछि पूर्वपत्नीलाई फुटेको कौडी नदिने दाबी – Nepal Press

हार्दिक पाण्ड्याको सबै सम्पत्ति आमाको नाममा ! डिभोर्सपछि पूर्वपत्नीलाई फुटेको कौडी नदिने दाबी

कति छ हार्दिक र नतासाको वास्तविक सम्पत्ति ?

काठमाडौं । भारतीय क्रिकेटर हार्दिक पाण्ड्याले हालै आफ्नी पत्नी नतासा स्टेनोभिकसँग पारपाचुके गरेपश्चात उनीहरुको सम्पत्ति बाँडफाँटको विषयमा चर्चा–परिचर्चाहरु भइरहेका छन् । उनीहरुले केकस्तो शर्त र सम्झौता गरेर छुट्टिएका हुन् भन्ने सार्वजनिक भएको छैन ।

हार्दिकले आफूहरु अलग हुने निर्णय लिएको भन्दै एक पोस्ट गरेका थिए । यो निर्णय दुवैको हितमा लिइएको र छोरा अगस्त्यलाई सहअभिभावकत्व (मिलेर हुर्काउने) उनले उल्लेख गरेका छन् । डिभोर्सको कारण र सम्पत्ति बाँडफाँडको विषयबारे दुवैे केही पनि बोलेकी छैनन् । डिभोर्स लगत्तै नताशा छोरा च्यापेर आफ्नो जन्मभूमि सर्भिया पुगिसकेकी छन् ।

हार्दिक र नताशाको डिभोर्सको चर्चा तीन महिना अगाडिदेखि मिडिया र सोसल मिडियामा चलिरहेको थियो । तर, एकिन तथ्य बाहिर आउन सकेको थिएन । डिभोर्सको चर्चासँगै हार्दिकले नताशालाई आफ्नो सम्पत्तिको ७० प्रतिशत हिस्सा अंश दिनुपर्ने समाचार भाइरल भयो । उक्त समाचार सेयर गर्दै भारतीयहरुले नताशामाथि गालीगलौज गरेका थिए । हार्दिकको सम्पत्तिका लागि डिभोर्स गरेको आरोप उनीमाथि लगाइयो ।

तर, अहिले आएर हार्दिकको एउटा अलि पुरानो अन्तरवार्ता भाइरल भएको छ । उक्त अन्तरवार्तामा हार्दिकले आफ्नो सम्पत्तिबारे कुरा गरेका छन् । हार्दिकका अनुसार उनले आफ्नो सबै सम्पत्ति आमाको नाममा राखेका छन् ।

यो अन्तरवार्ता सन् २०१७ को हो, जतिबेला हार्दिकाको विवाह भइसकेको थिएन । उनले पछि कसैलाई आफ्नो ५० प्रतिशत सम्पत्ति दिनुपर्ने अवस्था नआवस भनेर सबै आमाको नाममा राखेको समेत अन्तरवार्तामा त्यसैबेला खुलाएका थिए ।

‘मम्मीले भनिन्, तिम्रो अकाउन्टमा म साझेदार हुन्छु । मेरो बुवाको अकाउन्टमा मम्मीको नाम छ । भाइको अकाउन्टमा पनि र मेरो अकाउन्टमा पनि । सबै उनको नाममा छ । मेरो कारदेखि घर सबै कुराहरु उनकै नाममा छन् । मैले भनेँ कि मेरो भरोसा छैन, आफ्नो नाममा केही पनि राख्दिनँ । म पछि ५० प्रतिशत कसैलाई पनि दिन चाहन्न । ५० प्रतिशतले मलाई साह्रै पोल्नेछ । योभन्दा राम्रो तिमीहरुको नाम लिन्छु, ताकि ५० प्रतिशत कतै जाने छैन ।’

भारतको कानून अनुसार डिभोर्सपछि श्रीमानले आफ्नो नामको ५० प्रतिशत सम्पत्ति श्रीमतीलाई दिनुपर्छ । यसैगरि, श्रीमती र नाबालग सन्तानको भरणपोषण खर्च पनि दिनुपर्छ । हार्दिक र नतासाबीच अंशबण्डा भए नभएकोबारे केही सार्वजनिक भएको छैन ।

भारतीय राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्यका रुपमा रहेका हार्दिकको कुल सम्पत्ति ९४ करोड भारु जति रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हार्दिकले भारतीय क्रिकेट बोर्डबाट वार्षिक ५ करोड र मासिक १.५ करोड पाउने गरेकोको दावी विभिन्न समाचारहरुमा गरिएको छ । उनी थुप्रै कम्पनीहरुका ब्रान्ड एम्बेसडर भएर थप कमाइ गरिरहेका छन् ।

हार्दिकको दुईवटा घर छन् । मुम्बइमा ३० करोड मुल्यको अपार्टमेन्ट छ भने गुजरातको बडोदरास्थित दिवासीपुरामा ३ करोड मूल्यको घर रहेको छ । उनले एउटा ग्यारेज पनि सञ्चालन गरिरहेका छन् ।

यता, नतासाको सम्पत्ति भने २० करोड भारु मात्र रहेको भारीय सञ्चारमाध्यमको दाबी छ । उनी एक मोडल, अभिनेत्री तथा नृत्यांगना हुन् । नताशाले ‘सत्याग्रह’ लगायत केही बलिउड फिल्ममा अभिनय गरेकी छन् । उनले टिभी रियालिटी शो ‘बिग बोस’ को आठौं सिजनमा भाग लिएकी थिइन् भने ‘नच बलिए’ को ९ आंै संस्करणमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

हार्दिक र नतासाले सन् २०१८ बाट डेट गर्न थालेका थिए । नतासा विवाहबिनै गर्भवती बनेपछि सन् २०२० को १ जनवरीमा उनीहरुले एउटा क्रुजमा सुटुक्क ईंगेजमेन्ट गरे । कोभिड लकडाउनका बेला सानो समारोहमा विवाह गरे । सन् २०२३ मा उनीहरुले फेरि भारतीय र सभियन परम्पराअनुसार धुमधामले विहे गरेका थिए । विवाहको केही समयमै खटपट सुरु भएको थियो । उनीहरुको डिभोर्समा हार्दिको परस्त्रीगमनलाई मुख्य कारण मानिएको छ । नतासाले हार्दिकलाई रंगेहात फेला पारेकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *