सुदूरपश्चिममा समायोजनमा आएका कर्मचारीहरूको वृत्ति विकास रोकियो, आइतबारसम्म समस्या समाधान गर्ने मुख्यमन्त्रीको आश्वासन – Nepal Press

सुदूरपश्चिममा समायोजनमा आएका कर्मचारीहरूको वृत्ति विकास रोकियो, आइतबारसम्म समस्या समाधान गर्ने मुख्यमन्त्रीको आश्वासन

कैलाली । सुदूरपश्चिम प्रदेशमा समायोजनमा आएका कर्मचारीहरूले आफूहरूमाथि विभेद भएको गुनासो गरेका छन् । आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी तथा निमित्त प्रदेश प्रमुख सचिव शिवराम पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले सुदूरपश्चिममा वृत्ति विकास रोकिएको बताएका हुन् ।

सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ प्रमाणीकरण भई लागू भइसकेको छ । तर केही व्यवस्थाहरू लागू नहुँदा आफूहरू मारमा परेको उनीहरुको गुनासो थियो ।

२२ जनाले सामूहिक हस्ताक्षर गरेर बुझाएको ध्यानाकर्षण पत्रमा कर्मचारीहरूको सेवा सर्त र सुविधा सम्बन्धमा ऐन ले विभिन्न व्यवस्था गरे पनि अहिले सम्म उक्त ऐनको पूर्ण कार्यान्वयन हुन नसक्दा सबै तहका कर्मचारीहरूको वृत्ति विकास र सेवा सुविधामा अवरोध खडा भएको उल्लेख गरिएको छ । अन्य प्रदेशहरूमा प्रदेशका कानुन बमोजिम तह वृत्ति, बढुवा लगायत कर्मचारीहरूको वृत्ति विकास सम्बन्धी कार्यहरू सुचारु हुँदा सुदूरपश्चिम प्रदेशमा त्यस्तो नभएको उनीहरुले बताए ।

‘संघीय कानुन बमोजिम समान तह र समान पदमा विभिन्न प्रदेशमा समायोजन भएका कर्मचारीहरू मध्ये सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेशहरूमा तह वृत्ति र बढुवा भई सिनिअर भइसकेको अवस्था छ’ मुख्यमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ‘सुदूरपश्चिम निजामती सेवा ऐन २०७९ को दफा ३८ मा यस प्रदेशमा पनि कार्यरत कर्मचारीहरूको स्तर वृत्ति सम्बन्धी व्यवस्था भएता पनि विभिन्न बहानामा उक्त व्यवस्था कार्यान्वयन नहुँदा हामी सुदूरपश्चिम प्रदेशका कर्मचारी पीडित भएका छौँ ।’

उनीहरुले उक्त व्यवस्था कार्यान्वयनका लागि आवश्यक मापदण्ड यथाशीघ्र तयार गरि सुदूरपश्चिममा पनि कर्मचारीहरूको लागि वृत्ति विकासको व्यवस्था गर्न माग गरेका छन् ।

उनीहरुको ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख सचिव पोखरेलले यस विषयमा सकारात्मक रहेको र समस्या समाधान गर्न पहल गर्ने बताएका थिए । मुख्यमन्त्री सोडारीले आइतबारसम्म समस्या समाधान गर्ने आश्वासन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *