पर्यटकीय गन्तव्यस्थल बन्दै बुटवलकाे मणिमुकुन्द सेन उद्यान – Nepal Press

पर्यटकीय गन्तव्यस्थल बन्दै बुटवलकाे मणिमुकुन्द सेन उद्यान

रुपन्देही । बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) पछिल्लो समय भारतीय पर्यटकहरुको समेत रोजाइमा परेको छ । एक वर्षमा यहाँ पुगेका सात लाख पर्यटकमध्ये १० प्रतिशत भारतीय रहेका छ । यहाँको हरियाली, ऐतिहासिक सामग्री र वन्यजन्तुको संरक्षणले आन्तरिकसँगै भारतीय पर्यटकहरुलाई आकर्षित गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा झण्डै साढे पाँच लाख पर्यटक शुल्क तिरेर र एक लाख पचास हजार पर्यटक निःशुल्क प्रवेश गरेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका महासचिव युवराज घिमिरेले जानकारी दिए ।

यो अवधिमा ५७ हजारभन्दा बढी भारतीय पर्यटक र तीन लाख ९० हजारभन्दा बढी आन्तरिक पर्यटकले टिकट काटेर अवलोकन गरेको उनले बताए । आर्थिक वर्षमा ३ करोड ७३ लाख ६१ हजार आम्दानी भएको र ३ करोड ३७ लाख १४ हजार बराबरको विभिन्न काम गरिएको उनले जानकारी दिए ।

पछिल्लो पटक यहाँ बनाइएको स्काई साइक्लिलिङ, ऐतिहासिक मजार थान, शिवालय मन्दिर पुनर्निर्माण, कुंडुले घर तथा सन्चोविसन्चो केन्द्र, चिडियाखाना र बगैंचा निर्माण तथा व्यवस्थापनपछि पर्यटकहरु बढी आउन थालेका समितिले बताएको छ ।

समितिका अध्यक्ष माधव नेपालले मणिमुकुन्द सेन उद्यान फूलबारीमात्र नभई पुरातात्विक सम्पदा भएकाले यसलाई राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत गराउन सबै क्षेत्रबाट पहल हुनुपर्ने बताए । उद्यानमा विभिन्न संरचनाको विकास तथा निर्माण गर्नुपर्ने भएपछि स्रोत अभावका कारण काम अगाडि बढाउन नसकिएको उनले बताए ।

 

फूलबारीलाई आकर्षक बनाउन सके स्वदेशी तथा विदेशी पर्यटकहरुसमेत भित्र्याउन सकिने अहिलेको तथ्यांकले देखाएको छ । उनले आगामी वर्ष बनाइएका नयाँ रणनीतिले यसले थप आकर्षण बढाउने दाबी गरे । बुटवलको पश्चिम-उत्तरतर्फ जितगढी किल्ला र पुरानो बटौली बजारको माथिल्लो भागमा अवस्थित मणिमुकुन्द सेन उद्यान चुरेको शीरमा रहेको ऐतिहासिक स्थल नुवाकोट पैदलमार्गको प्रस्थान विन्दु हो । बुटवल उपमहानगरपालिका संरक्षक रहेको यो उद्यानको संरक्षणका लागि अलग्गै समिति बनाएर जिम्मेवारी दिइएको छ ।

तत्कालीन पाल्पाली राजा रुद्र सेनका जेठा छोरा मुकुन्द सेन विक्रम संवत् १५७५ मा पाल्पाका राजा भए । विक्रम संवत् १६१० मा देवघाटमा तपस्यामा लीन भई सिद्धी प्राप्तिपछि मुकुन्द सेनलाई मुनि मुकुन्द हुँदै मणिमुकुन्द भन्न थालिएको जनस्रुति छ । राजकाजमा पोख्त राजा मणिमुकुन्द सेनले बुटवलमा शीतकालीन तथा पाल्पा र रुपन्देहीको सीमा क्षेत्र नुवाकोटमा ग्रीष्मकालीन दरबार निर्माण गरी राज्य चलाएका थिए ।

उद्यानको पश्चिम कुनामा मणिमुकुन्द सेनले निर्माण गरेको त्यही शीतकालीन दरबारको भग्नावशेष छ । झण्डै ६०० वर्ष पहिले निर्माण गरिएको दरबारको भग्नावशेषलाई पुरातत्व विभागले संरक्षण गर्दै आएको छ । वरिपरि फलामे बार हालेर सुरक्षित गरिएको दरबारको भग्नावेशषको नियमित रेखदेखको काम भने मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले गर्दै आएको छ ।

मणिमुकुन्द सेनको इतिहासलाई जीवन्त र स्मरणीय राख्न मणिमुकुन्दको पूर्ण कदको घोड सवार सालिक निर्माण गरिएको छ । जसले उद्यानको आकर्षण त बढाएको छ नै, यहाँको ऐतिहासिक महत्व पनि उजागर गरेको छ । उद्यान परिसरमा मणिमुकुन्द सेनकै पालामा निर्मित शिव मन्दिरलाई प्यागोडा शैलीमा पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । दरबारको भग्नावशेष नजिकै रहेको स्वामीनारायण मन्दिरले धार्मिक पर्यटकहरुलाई आकर्षण गरिरहेको छ । विष्णुपादुकाका रुपमा चिनिने स्वामीनारायण मन्दिर दर्शनका लागि प्रत्येक वर्ष वैशाख र जेठमा भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा तीर्थयात्रु आउने गर्छन् ।

करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा तिनाउ किनारको पहरामा बंगारा भेटिएका मानव पुर्खा रामापिथेकसको पूर्णकदको प्रतिमा राखिएको छ । शान्ति र वीरताको सन्देशसहित मायादेवी, गौतम बुद्ध, मणिमुकुन्द सेन, कर्णेल उजिरसिंह थापा, यादवनाथ आलोक, दशरथ चन्द, तारापति भट्टराई, बसिर मिया, जीवराज आश्रित, सूर्यप्रसाद घिमिरे र चोकबहादुर गुरुङका अर्धकदका सालिक राखेर बुटवल स्मारक निर्माण गरिएको छ । उद्यानको पूर्वी उत्तर कुनामा प्रेमको प्रतीकको रुपमा मुनामदन बाटिका रहेको छ ।

सेन वंशका राजाहरुले रंगमहलका रुपमा प्रयोग गरेको यो दरबार १७ औं शताब्दीमा जितगढीमा भएको अंग्रेज फौजसँगको युद्धमा नेपाली सैनिकहरुले प्रयोग गरेका थिए । त्यही युद्धको क्रममा अंग्रेज फौजको आक्रमणमा दरबार भत्किएको थियो भन्ने इतिहास छ । मणिमुकुन्द सेनले बुटवलमा निर्माण गरेको शीतकालीन दरबारको संरक्षण गर्दै जाँदा मणिमुकुन्द सेन उद्यान अहिले बुटवल फूलबारीको नामबाट परिचित छ । बुटवलका समाजसेवी उद्यमी र राजनीतिकर्मीहरुको संरक्षण, विकास एवं प्रवर्द्धनको सोच र परिकल्पनाबाट मणिमुकुन्द सेन उद्यान अहिले आकर्षक पर्यटकीय स्थल बनेको छ ।

‘फूलबारी’ नाम २०३६ सालमा राखिए पनि डेढ दशकसम्म व्यवस्थित हुन नसकेको यो पार्कलाई २०५४ सालमा मणिमुकुन्द सेन उद्यान नामकरण गरिएको थियो । पार्कको नामकरणसँगै गठन गरिएको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले सञ्चालन र व्यवस्थापन गर्न थालेको हो । अहिले फूलबारीले विकासमा फड्को मारेको छ । उद्यानमा चितुवा, भालु, बाँदर, स्याल, वन बिरालो, सेतो मुसा, हरिण, नीलगाई, जरायो, मृग, अजिंगर, खरायो, कछुवालगायत जनावर र मयूर, सुगा, ढुकुर, परेवालगायत चराचुरुङ्गी संरक्षण गरी मिनि चिडियाखाना बनाइएको छ ।

चुरे पहाडको काखमा बोटबिरुवाको हरियाली र रंगीचंगी फूलका बाटिकासहितको प्राकृतिक छटाले भरिएको यो उद्यान बुटवल बजारको उखरमाउलो गर्मी छल्ने उपयुक्त विकल्प बनेको छ । उद्यानभित्र पर्यटकहरुलाई आकर्षित गर्न विभिन्न वाटिका र बालोद्यान निर्माण गरिएका छन् । संघसंस्था र समुदायले आयोजना गर्ने कार्यक्रम, वनभोज, विवाह, भेटघाटका लागि फूलबारी पहिलो रोजाइ बन्दै आएको छ ।

विभिन्न चाडपर्व, उत्सव, नयाँ वर्ष तथा सार्वजनिक बिदाका दिन अवलोकनको लागि यहाँ हजारौं पर्यटक आउने गर्छन् । हरेक उमेर समूहका मानिसहरुलाई उत्तिकै आकर्षित गर्ने यो पार्क चलचित्र र म्युजिक भिडिओ छायांकनस्थल पनि बनेको छ ।

मणिमुकुन्द सेन उद्यानमा सुरुङमार्गसमेत रहेको छ । नुवाकोट र जितगढीसँग गाँसिएको उद्यानदेखि जितगढीसम्म करिब ६ सय मिटर लामो सुरुङमार्ग रहेको विभिन्न तथ्यहरुले देखाएको छ ।

समर सौन्दर्यका नायक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा तत्कालीन इस्टइन्डिया कम्पनीको अंग्रेज फौजसँग जितगढीमा युद्ध लड्दा नेपाली फौज जितगढीदेखि मणिमुकुन्द सेन दरबारसम्म सुरुङमार्गबाटै पुग्थे भन्ने इतिहास छ । जितगढी किल्लामा सुरुङमार्गको उत्खनन् गरी अवलोकन गर्न मिल्ने बनाइएको छ । मणिमुकुन्द सेन उद्यानतर्फ भने उत्खनन् हुन सकेको छैन ।

उद्यानलाई बोटानिकल विषयको अध्ययन गर्ने थलो बनाउन सकिने सम्भावना रहेको अध्यक्ष नेपाल बताउँछन् । उद्यानको विकास गर्न दीर्घकालीन योजना र रणनीति बनाएर काम गरिएको र संघ, प्रदेश तथा स्थानीय सरकारसँग मिलेर विभिन्न क्षेत्रको सुझावलाई समेत मध्यनजर गर्दै विकासका काम अगाडि बढाइएको उनले बताए ।

समितिका पूर्वअध्यक्ष एवं राष्ट्रिय उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुइँटेलले १५ बिघा क्षेत्रफलमा रहेको पार्कलाई २५ बिघामा विस्तार गरी पूर्वाधार निर्माणको काम भइरहेको बताउँछन् । उद्यानसँगै रहेको भारतीय पेन्सन क्याम्पले गर्दा फूलबारीको विस्तारमा समस्या भइरहेको समितिको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *