आफन्त भेट्न बुटवलमा आएका दुई बालक तिनाउ नदीमा डुबेका एकको मृत्युु, एक बेपत्ता
रूपन्देही । बुटवलमा आफन्तकोमा आएका एक बालकको तिनाउ नदीमा डुबेर मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।
बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित श्रृजनानगरमा रहेको आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा बगेको बुटवल उपपमहानगरपालिका वडा नं ११ का सदस्य नकुल शाहीले बताए।
आफ्नी आमासँग सानी आमाको घरमा भेट गर्न आएका बरेङ गाउपालिका वडा नं ४ बाग्लुङ घर भई श्रृजनानगर बस्ने १२ वर्षीय विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन्।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदीमा पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए। तिनाउ नदीमा बगेका दुवै बालक दिदी बहिनीका छोराहरु हुन्।
तिनाउ नदीमा बगेका मध्ये १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल मृत अवस्थामा नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए।
पण्डितका अनुसार नदीमा हराई रहेका बिप्रन पाण्डेको खोजी भइरहेको छ।