आकांक्षी धेरै भएपछि उपेन्द्रलाई पदाधिकारी छान्न सकस, सहअध्यक्षमा कसलाई रोज्लान् ? – Nepal Press

आकांक्षी धेरै भएपछि उपेन्द्रलाई पदाधिकारी छान्न सकस, सहअध्यक्षमा कसलाई रोज्लान् ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कमिटीको बैठकअघि पार्टी पदाधिकारीलाई पूर्णता नदिने भएका छन्।

जेठको अन्तिममा महाधिवेशन गरेको जसपाले पार्टी पदाधिकारी छान्ने जिम्मा अध्यक्ष यादवलाई दिइएको थियो।

तर, आकांक्षी धेरै भएकाले अहिलेसम्म उपेन्द्रले बाँकी पदाधिकारी नछानेका हुन्। महाधिवेशनको एक महिनापछि असार २७ गते उपेन्द्रले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको थिए।

बाँकी पदाधिकारी केन्द्रीय समितिको बैठकले टुंग्याउने तयारी छ। त्यसका लागि साउन २७ देखि ३० गतेसम्म ललितपुरको सानोगाउँस्थित थसी ब्याङ्क्वेटमा बस्ने गरी बैठक बोलाइएको नेता पूर्ण बस्नेतले बताए।

उनका अनुसार बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू९राजनीतिक अवस्थाबारे पनि छलफल हुनेछ।

आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय बैठकले लिने उनले बताए।

प्रवक्ता मनिष सुमनले पनि पदाधिकारी चयन प्रक्रिया अध्यक्षको अधिकारको विषय भएको बताए।

उनले भने, ‘महाधिवेशनले पदाधिकारी चयन गर्ने जिम्मा उहाँलाई दिइसकेको छ। अब केन्द्रीय समितिको बैठक पनि बस्दैछ। बैठकपछि बाँकी पदाधिकारी पार्टीले पाउँछ।’

उनले केन्द्रीय समितिको बैठक आह्वान भइसकेकाले त्यसअघि पदाधिकारी चयन नहुने बताए।जसपामा अध्यक्षसहित सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ हुने व्यवस्था छ। महाधिवेशनले उपेन्द्रलाई अध्यक्षमा दोहोर्याएर बाँकी नेता छान्ने जिम्मा उनैलाई सुम्झिएको थियो।

सहअध्यक्षमा रकम चेम्जोङ, राजकिशोर यादव र लालबाबु राउतको दाबी रहेपनि चेम्जोङको सम्भावना रहेको एक नेताले बताए।
२ महासचिवमा बोमबहादुर दर्लामी मगर, रामकुमार शर्मा, विजय कुमार, मनिष सुमन र अशोककुमार यादवले उम्मेदवारी दर्ता गराएका थिए। अहिले उपेन्द्रले अहिले प्रवक्ता समेत रहेका सुमन र शर्मालाई बनाउने सम्भावना रहेका ती नेताले दाबी गरे।

हालै माओवादी छाडेर जसपा नेपाल रोजेका शर्मालाई उपेन्द्रले महासचिव बनाउने आश्वास दिएर भित्र्याएको बताइन्छ। बाँकी पदाधिकारी पनि उम्मेदवारी दिएकाहरुभित्रबाटै मिलाएर छान्न उपेन्द्रले आन्तरिक छलफल गरिरहेको छन्। आकांक्षी धेरै भएकाले उपेन्द्रलाई नेताहरुको व्यवस्थापनमा समस्या परेको बताइन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर