बिरामीको मृत्यु भएपछि धनगढीको नोभा अस्पतालमा तोडफोड, प्रहरीसँगको झडपमा दुई जना घाइते – Nepal Press

बिरामीको मृत्यु भएपछि धनगढीको नोभा अस्पतालमा तोडफोड, प्रहरीसँगको झडपमा दुई जना घाइते

कैलाली । कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको उपचारको क्रममा मृत्यु भएपछि कैलालीको धनगढीस्थित नोभा अस्पताल तनावग्रस्त भएको छ । चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

आक्रोशित आफन्तलाई रोक्ने क्रममा केही बेर प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ । झडपमा परी मृतकका दुई जना आफन्त घाइते भएका छन् । मृतकका आफन्तले अस्पताल प्रशासन बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दुई सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गङ्गादत्त बडूले जानकारी दिए ।

जन्डिसको समस्या लिएर साउन ७ मा नोभा हस्पिटल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा मृत्यु भएको थियो । अस्पतालले उपचारमा लापरबाही गरेका कारण उनको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । उनीहरूले उचित क्षतिपूर्ति र उपचारमा संलग्न डाक्टरलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

‘सामान्य अवस्थामा अस्पताल आएको छोराको मृत्यु भएको छ, यहाँ डाक्टरले ठूलो लापरबाही गरेको छ’, मृतकका आमा राजकुमारी चौधरीले भनिन्, ‘यति धेरै बिरामी हुँदा मलाई डाक्टरले बोलाएनन् । उनीहरूलाई कारबाही हुनुपर्छ ।’

अस्पतालले शुक्रबार साँझ मृतकका आफन्तसँग वार्ता गरेको थियो, तर उनीहरूले जिम्मेवार व्यक्ति वार्तामा आउनुपर्नेमा नर्स पठाइएको भन्दै बहिष्कार गरेका थिए ।

घटनाका बारेमा अस्पतालले केही आधिकारिक धारणा दिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *