साहित्य साधनाका लागि नेपाल उर्बर भूमि हो : प्रधानमन्त्री ओली – Nepal Press

साहित्य साधनाका लागि नेपाल उर्बर भूमि हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला-संस्कृतिका लागि उर्बर भूमि भएको बताएका छन् ।

लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको शनिबार लोकार्पण गर्दै उनले भने, ‘हाम्रो मुलुक साहित्य साधनाको उर्बर भूमि र ज्ञानको उद्भव स्थल हो । मानिसका अनुभव र अनुभूतिहरू सङ्ग्रहित र परीक्षित भएपछि ज्ञान बन्छ । ज्ञानको सङ्ग्रह र वितरणको आरम्भ पृथ्वीको यही भागबाट भएको हो ।’

प्रधानमन्त्री ओलीले नेपालका घाँस, पात र पतिङ्गर, पँधेरामा पनि आँसु कविता प्रकट हुने वातावरण भएको औंल्याए ।

उनले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान साहित्यकारहरू नेपालमा जन्मिएको सन्दर्भ उल्लेख गर्दै रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने कला र प्रतिभा नेपालीहरुमा रहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले ८१ वर्षीय गौतमका ‘मेरो इतिहास’, ‘नेत्रका तीन खण्डकाव्य’ र ‘भूत पिसाचका कथा’ कृति लोकार्पण गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, सल्लाहकार कमिटीका अध्यक्ष अमृतकुमार बोहरा, समीक्षक रवीन्द्र भट्टराईले लेखक गौतमका कृतित्व र व्यक्तित्वबारे चर्चा गरेका थिए । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर