काँकडभिट्टाबाट ३ अर्बको प्लाइउड र भेनियर निर्यात – Nepal Press

काँकडभिट्टाबाट ३ अर्बको प्लाइउड र भेनियर निर्यात

झापा । आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार ८०१ मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ ।

पूर्वी पहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन गरेर प्लाइउड बनाउने गरिन्छ ।

सोही अवधिमा २४ करोड १९ लाख ३४ हजार रुपैयाँ मूल्य बराबरको २१ हजार ९९४ मेट्रिक टन भेनियर उड भारत निर्यात भएको थियो । दुई अर्ब ७१ करोड ९९ लाख २० हजार मूल्य बराबरको ७७ हजार ७१२ मेट्रिक टन प्लाइउड निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवले जानकारी दिए ।

यस्तै चार लाख ५९ हजार मूल्य बराबरको ९२ मेट्रिक टन प्लाइउड उत्पादन गर्ने क्रममा निस्कने काठको धुलोसमेत र १८ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको तीन मेट्रिक टन काठबाट बनेका हस्तकलाका सामान भारत निर्यात गरिएको उनले जानकारी दिए ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईंले भारतीय मुद्रा आर्जन गर्न र व्यापार घाटा न्यूनीकरण गर्न प्लाइउडलगायत काठजन्य उत्पादनको निर्यातले ठूलो योगदान पु¥याएको बताए ।

केही वर्षयता प्लाइउडको व्यापारमा उतारचढाव आइरहे पनि कच्चापदार्थको सङ्कलन र निर्यातमा अवरोध नभएको उनको भनाइ छ ।

खेतबारीमा अन्नबाली रोप्दा बाँदर र वन्यजन्तुले नाश गरिदिने समस्या भोगिरहेका यहाँका किसानले रुखोपाखो बारीमा छिटो हुर्किने उत्तिसलगायत विरुवा रोप्न थालेका छन् । यसबाट पर्यावरण संरक्षण र किसानको जीविकोपार्जनका क्षेत्रमा योगदान पुगिरहेको अध्यक्ष प्रसाईंले बताए ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट सङ्कलन गरिएका काठबाट बनेका प्लाइउडलगायत काठजन्य उत्पादन पूर्वी नाका काँकडभिट्टा र तराईका अन्य नाकाबाट समेत भारततर्फ निर्यात भइरहेका छन् । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *