हेल्पद्वारा ७२ जना विद्यार्थीलाई छात्रवृत्ति घोषणा – Nepal Press

हेल्पद्वारा ७२ जना विद्यार्थीलाई छात्रवृत्ति घोषणा

काठमाडौं । हेल्प संस्थाले सिन्धुपाल्चोकलगायत १२ जिल्लाका ७२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि छात्रवृत्तिको घोषणा गरिएको हो ।

वरिष्ठ कलाकार राजेश हमाल, टिच फर नेपालका सीईओ स्वस्तिका श्रेष्ठ, इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङ, विभिन्न पालिकाका जनप्रतिनिधि, विद्यालयका पदाधिकारीलगायतको उपस्थितिमा उक्त छात्रवृत्ति घोषणा गरिएको छ ।

कार्यक्रममा हेल्पका अध्यक्ष जिमी लामाले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिले उनीहरुलाई केही सहयोग पुग्ने विश्वास लिएको बताए ।

उनका अनुसार छानिएका विद्यार्थीले कक्षा ११ र १२ का लागि छात्रवृत्ति पाउनेछन् । काठमाडौंमात्र नभै विद्यार्थीले आफूलाई सहज हुने स्थानमा जहाँ अध्ययन गरे पनि छात्रवृत्ति उपलब्ध गराइने उनले बताए ।

अध्यक्ष लामाले अबदेखि वार्षिक एक महिला र एक पुरुषलाइ वार्षिक जनही १ लाख ५० हजार रुपैयाँ स्नातकोत्तर तह पढ्न पनि छात्रवृत्ति प्रदान गरिने बताए ।

कार्यक्रममा वरिष्ठ कलाकार हमालले धैर्य, मेहनत र इच्छाशक्ति भएमा मात्र सफल हुने बताए । यसलाई अवसरका रुपमा लिएर अघि बढन छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई उनले आग्रहसमेत गरे ।

करिब २०० आवेदकबाट ७२ विद्यार्थी छनोट गरिएको हेल्प स्कलरशिपका कोअर्डिनेटर रामहरि सापकोटाले जानकारी दिए ।साथी शिक्षकका कोअर्डिनेटर साधना श्रेष्ठका अनुसार अहिले हेल्पले सिन्धुपाल्चोक र तनहुँका १३ विद्यालयमा २६ साथी शिक्षकमार्फत पठनपाठनमा सहयोग गरिरहेको छ ।

हेल्पमार्फत छात्रवृत्ति पाएर अध्ययन गरिरहेकी पाँचपोखरी थाङपाल– ७ की रश्मी खत्रीले यो कार्यक्रमले आफू जस्ता धेरै विद्यार्थीलाई सहयोग पुगेको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *