लाओसमा ब्लिन्केन र चिनियाँ विदेशमन्त्री यीबीच भेट, छलफल ‘फलदायी’ भएको अमेरिकाको भनाइ – Nepal Press

लाओसमा ब्लिन्केन र चिनियाँ विदेशमन्त्री यीबीच भेट, छलफल ‘फलदायी’ भएको अमेरिकाको भनाइ

भियन्टाइन । चीनका विदेशमन्त्री वाङ यी र अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच शनिबार लाओसमा भएको भेटवार्ता ‘खुला र फलदायी’ भएको अमेरिकी स्रोतले जनाएको छ ।

दक्षिण चीन सागरलगायत बेइजिङको बढ्दो आक्रामकता र मस्कोसँगको गहिरो सम्बन्धलाई मध्यनजर गर्दै क्षेत्रीय सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले गरिएको बहुदेशीय एसिया भ्रमणको एक हिस्साका रूपमा ब्लिन्केन लाओस आएका हुन् ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का विदेशमन्त्रीहरूको बैठकका क्रममा चिनियाँ र अमेरिकी कुटनीतिज्ञबीच एक घण्टा २० मिनेट लामो वार्ता भएको अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले जानकारी दिए ।

चीनको विदेश मन्त्रालयले भने बैठकबारे कुनै विज्ञप्ति जारी गरेको छैन ।

बैठक हुनुभन्दा केही समयअघि ब्लिन्केनले चीन र फिलिपिन्सबीच क्षेत्रीय विवाद रहेको दक्षिण चीन सागरमा बेइजिङको ‘बढ्दो गतिविधि’को आलोचना गरेका थिए ।

वार्षिक खर्बौं डलरको व्यापार हुने जलमार्गको कुनै कानूनी आधार नभएको अन्तर्राष्ट्रिय अदालतको फैसलाका बावजुद बेइजिङले यो जलमार्गलाई लगभग पूरै दाबी गर्दै आएको छ ।

चीन र रूसका विदेशमन्त्रीले १० राष्ट्रको आसियान समूह र एकअर्कासँग भेटवार्ता गरेको दुई दिनपछि ब्लिन्केन लाओस आइपुगेका हुन् ।

मस्कोको विदेश मन्त्रालयका अनुसार वाङले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँग भियन्टाएनमा भेटवार्ता गरेका थिए ।

दक्षिणपूर्वी एसियाली मामिलामा हस्तक्षेप गर्ने अतिरिक्त क्षेत्रीय शक्तिको कुनै पनि प्रयासको संयुक्त रूपमा प्रतिवाद गर्न पनि चीन र रूस सहमत भएका छन् ।

रूससँग चीनको बलियो राजनीतिक र आर्थिक साझेदारी छ, केही नेटो सदस्य राष्ट्रले बेइजिङलाई युक्रेनको युद्धमा मस्कोको संलग्नताको ‘प्रमुख सहजकर्ता’ को रूपमा आरोपित गरेका छन् । -रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर