शपथ पनि खान नपाइ मन्त्री पद गुमाएका तामाङ भन्छन्: मुख्यमन्त्रीले संविधान कुल्चिनुभाे
हेटौंडा । गत बिहिवार बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका नेपाली कांग्रेसबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य प्रभात तामाङले आफूलाई शपथनै नगराई हटाइनु गलत भएको प्रतिक्रिया दिएका छन् ।
नेपालप्रेससँग कुरा गर्दै तामाङले शपथ ग्रहण भएपपछि आफूलाई फिर्ता बोलाउन पाउने, बर्खास्त गर्न पाउने अधिकार मुख्यमन्त्रीमा निहित रहँदा पनि शपथग्रहण अगाबै हटाइनु संविधानसम्वत नभएको बताए ।
गत साउन १० गते दिउँसो नियुक्ति भएर सोही साँझ शपथको लागि तयार रहेका तामाङलाई साउन १२ मा हटाउँदै उनले पाएको आर्थिक मामिला मन्त्रालय कुन्दनराज काफ्लेलाई जिम्मा दिएपछि तामाङले यो विषयलाई राजनीति गुटबन्दीको असरको रुपमा पनि केहीमात्रामा लिन सकिने बताए ।
आफ्नो इच्छा कुनै विषयगत मन्त्रालय भन्दा पनि समग्र अर्थ क्षेत्रको मन्त्रालयमा रहेको हुँदा मुख्यमन्त्रीले जिम्मेवारी दिएको तर एकाएक हटाइनुले राम्रो सन्देश नदिएको उनको भनाई छ ।
अहिले आर्थिक मन्दीको असर रहेको समयमा प्रदेशलाई मन्दीबाट मुक्त गर्ने योजनासहित आफू प्रस्तुत भएको तर एकाएक केन्द्र तथा पार्टीको केही ठाउँबाट अर्थ छाडेर खानेपानी मन्त्रालयको लागि दवाव आएपछि आफूले उक्त मन्त्रालयको जिम्मेवारी नलिने अडान लिएको उनको भनाई छ ।
उनले भने,‘ सकिन्छ भने अर्थनै जिम्मेवारी दिनुहोस नत्र म अन्य मन्त्रालयमा काम गर्ने मानसिकतामा छैन ।’
सामजिक संजालमा धेरै बधाई लिइसक्नु भएको थियो तर अहिले शपथनै नगरी बाहिरिँदा अप्ठेरोमा परेको अनुभुति भएको छैन भन्ने प्रश्नमा उनले भने,‘हेर्नुहोस राजनीतीमा यस्तो घटनाहरु भइरहन्छ्न। मैले भनिहाले मुख्यमन्त्री ज्युले आफ्नो अधिकार कुल्चिनु भएकै हो तर पछि केन्द्रका नेताले पनि अर्थ छाड्नु भनेपछि सहजताको साथमा छाडेको हुँ, अर्थ नभएर अरु मन्त्रालय अफर थियो तर मेरो नैतिकताले त्यो गर्न दिएन र म बाहिरिए । ’
तामाङ लगातार प्रदेशसभा सदस्यमा रसुवाबाट निर्वाचित सदस्य हुन् । उनकाे ठाउँमा हरिप्रभा खड्कीलाई मन्त्री बनाइएकाे छ ।