आज ६ वर्षे कार्यकालको लागि भेनेजुयलामा राष्ट्रपतीय चुनाव हुँदै : मदुरोसहित १४ उम्मेदवार मैदानमा
काठमाडौं । ल्याटिन अमेरिकी मुलुक भेनेजुयलामा आज राष्ट्रपतीय चुनाव हुँदैछ । सबैभन्दा धेरै मत ल्याउनेले विजयी हुने चुनाव आजै एक चरणमा सकिनेछ ।
सन २०१३ बाट राष्ट्रपति भएका निकोलस मदुरो नै पुनः निर्वाचित हुने आङ्कलन गरिएको छ । तर, २५ वर्षबाट सत्तामा भएको मदुरोको दल भेनेजुयला एकीकृत समाजवादी पार्टीलाई आज हुने चुनाव सबैभन्दा ठूलो चुनौतीको चुनाव हुने बेलायती मिडिया बीबीसीले लेखेको छ ।
ह्युगो चाभेसका शिष्य मदुरोलाई यो चुनाव धेरै चुनौतीपूर्ण हुने बीबीसीले लेखेको छ । भेनेजुयलाको पोर्टल भेनेजुयला एनालीसीसका अनुसार चुनावमा २ करोड १३ लाख ९२ हजार ४६४ जना योग्य मतदाता रहेका छन् जसमा ६९ हजार विदेशमा भएका भेनेजुयलाका नागरिकहरूले चुनावमा मत हाल्नेछन् ।
राष्ट्रपतीय चुनावबाट विजयी हुने उमेदवारले छ वर्ष कार्यकाल चलाउन पाउँछ । १६ हजार २५ मतदान केन्द्र स्थापना भएका छन् भने मतपत्रमा १४ उम्मेदवार मैदानमा प्रतिस्पर्धामा छन् । तेस्रो कार्यकालको लागि चुनाव लडेका मदुरोका मुख्य प्रतिस्पर्धामा पूर्वकूटनीतिज्ञ एदमुन्दो गोन्जालेस छन् ।
उनको जित भएमा पश्चिमा देशहरूलाई सहज हुने र नभएमा चीन, रुस, इरान, उत्तर कोरिया लगायतका देशहरूलाई सहज हुने भन्दै बीबीसीले लेखेको छ ।
७४ वर्षका उनी नै मदुरकोका मुख्य प्रतिस्पर्धी भएको भेनेजुयला एनालिसिसले उल्लेख गरेको छ । चुनाव लागेसँगै सन २०१८ मा हत्या प्रयास भएपछि रोकिएको ठूला कार्यक्रममा मदुरो पुनः जोडिन थालेका छन् ।
दैनिक तीनवटा सम्म ठूला राजनीतिक सभामा मदुरोले सम्बोधन गरिरहेको भेनेजुयला एनालीसीसले बताएको छ । कुनै एक्जिट पोलको चलन नभएकोले अन्तिम चुनावी गणित कुर्नलाई सरकारी आँकडा नै कुर्नुपर्ने हुन्छ ।
निर्वाचित राष्ट्रपतिले सन २०२५ जनवरी १० मा शपथ लिनेछन् भने उनको कार्यकाल सन २०३० जनवरी १० सम्म हुनेछ ।