चुनाव अमेरिकाको, चासो विश्वको – Nepal Press

चुनाव अमेरिकाको, चासो विश्वको

काठमाडौं । जनताले आफ्नो शासक आफैं छान्न पाउने परिकल्पनालाई मूर्त रुप दिने माध्यम चुनाव हो । यसो त चुनाव प्रणालीको इतिहासलाई केलाउँदा हामी पाँचौं शताब्दीको ग्रीस सभ्यतासम्म पुग्न सक्छौं, तर आधुनिक चुनाव प्रणाली सन्दर्भमा कुरा गर्दा सन् १७८७ मा संयुक्त राज्य अमेरिकाको संविधानले आधिकारिक चुनाव प्रणालीको व्यवस्था गरेको थियो । त्यसपछि विश्वभर चुनावी व्यवस्थाले व्यापकता पाएको देखिन्छ ।

‘इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलोक्टेरियल एसिस्ट्यान्स (इन्टरनेशनल आइडिया) का अनुसार हाल विश्वका १९५ मध्ये १६५ मुलुकले आफ्ना शासक वा प्रतिनिधि छनोट गर्न चुनावी प्रणाली अवलम्बन गर्दै आएका छन् । चुनावी प्रणालीको लामो इतिहासबीच सन् २०२४ ले विशेष महत्व राखेको छ । कारण सन् २०२४ मा संयोगवश विश्वका ४० मुलुकमा चुनाव हुँदैछ ।

४० मुलुकमा हुँदै गरेका वा भइसकेका चुनावले प्रत्यक्ष रुपमा विश्वका ४ अर्ब मानिसले आफ्नो देशको राजनैतिक नेतृत्व पाउनेछन् । यो विश्व समुदायको झण्डै आधा जनसंख्या हो । सन् २०२४ मा आफ्नो नेतृत्व चयन गर्न तम्तयार रहेका वा चयन गरिसकेका यी ४० मुलुकमध्ये विश्व महाशक्ति संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनाव विश्व समुदायको लागि विशेष चासोको रुपमा रहेको छ ।

कसरी चुनिन्छ अमेरिकामा राष्ट्रपति ?

संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बर ५ मा आफ्नो ४७औं राष्ट्रपतिको लागि मतदान गर्नेछ । हुन त अमेरिकामा सन् २०२४ सुरू
भएसँगै राष्ट्रपति चुनाव पनि अघि बढिसकेको छ । अमेरिकी राष्ट्रपति चुनावको प्रारम्भिक चरणलाई ‘प्राइमरी इलेक्सन’ भनिन्छ । यस चरणमा संयुक्त राज्य अमेरिकाका ५० वटा राज्यमा पार्टी सदस्य वा आममानिसले ‘डेलिगेटस्’ छनोट गर्छन् । डेलिगेटस् चुनावमा कसले मतदान गर्न पाउने भन्ने नियम भने राज्य र पार्टीअनुसार फरक हुने गर्छ । विभिन्न राज्यबाट चुनिएका यी ‘डेलिगेटस्’ले आफ्नो पार्टीबाट राष्ट्रपति उम्मेदवारको छनोट गर्छन् । यो अमेरिकी राष्ट्रपति चुनावको मध्य चरण हो, यसलाई ‘नेशनल कन्भेनसन’ भनिन्छ ।

संयुक्त राज्य अमेरिकाका दुई मुख्य प्रतिस्पर्धी दल रिपब्लिकन र डेमोक्रेटस्को नेशनल कन्भेनसनले क्रमशः डोनाल्ड ट्रम्प र जो बाइडेनलाई आफ्नो राष्ट्रपति उम्मेदवारको रुपमा अगाडि सारेका थिए, तर स्वास्थ्य अवस्था, राजनैतिक रणनीति, जनमानसको दबाबलगायतका कारण वर्तमान राष्ट्रपति जो बाइडेन आगामी चुनावमा राष्ट्रपतिको दौडबाट बाहिरिइसकेका छन् । यसकारण अमेरिकाले आगामी राष्ट्रपतिको रुपमा डेमोक्रेट पार्टीकी कमला ह्यारिस वा रिपब्लिकनका डोनाल्ड ट्रम्पमध्ये एक पाउनेछ ।

ट्रम्प भर्सेस ह्यारिस, कसको कस्तो छ माहोल ?

सफल व्यवसायी, मिडिया पर्सन हुँदै राजनीतिमा आएका डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपतिमा यो तेस्रो उम्मेदवारी हो । उनी पहिलो पटक सन् २०१६ को चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै अमेरिकाको ४५औं राष्ट्रपति बन्न सफल भएका थिए । सार्वजनिक रिपोर्टका अनुसार सन् २०१६ को चुनावमा सफलता हात पार्न ट्रम्पले अवलम्बन गरेको चुनावी रणनीति, मुद्दा, भौगोलिक समर्थन, बाह्य समर्थन र प्रतिस्पर्धी क्लिन्टनको ‘इमेल प्रकरण’ले मुख्य भूमिका निर्वाह गरेका थिए ।

प्रसिद्ध अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङटन पोस्ट, सीएनएन, न्युयोर्क टाइम्स आदिमा प्रकाशित राजनैतिक टिप्पणी तथा लेखहरूका अनुसार सन् २०१६ मा ट्रम्पले मिचिगन, पेनसलभेनिया, विस्कन्सिनलगायतका राज्यहरूमा प्राप्त गरेको समर्थन, अमेरिकी ‘अर्किङ क्लास’बीच प्रसिद्धी, राष्ट्रियता, आर्थिक संरक्षण र अध्यागमनविरुद्धको कडा अडान वरपर रहेर ‘अमेरिकालाई फेरि विशाल बनाऔं’ भन्ने नाराले ट्रम्पको पक्षमा आउन अहम् भूमिका निर्वाह गरेको थियो, तर दोस्रो उम्मेदवारीमा भने उनी राष्ट्रपति निर्वाचित हुन सकेनन् ।

रिपोर्टका अनुसार कोभिड १९ महामारीको समयमा दिएको प्रतिक्रियाको असरस्वरुप उनले दोस्रो चुनावमा हार व्यहोर्न परेको थियो । तर, आगामी राष्ट्रपति चुनावमा भने ट्रम्प फेरि एक पटक सशक्त उम्मेदवारको रुपमा देखापरेका छन् । अध्यागमनसम्बन्धी नियम र सीमा सुरक्षालाई विशेष मुद्दाको रुपमा व्याख्या गर्दै आएका ट्रम्पले यसै मुद्दालाई सन् २०२४ को चुनावमा पनि विशेष महत्व दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम केएसएलले जनाएको छ ।

अवैधानिक अध्यागमनलाई रोक्न मेक्सिकोमा ‘पर्खाल निर्माण’ गर्ने भन्ने मुद्दालाई ट्रम्पले अहिले पनि यथावत राखेका छन् । उनको अध्यागमनसम्बन्धी यस एजेण्डा ‘गोरा अमेरिकी’ बीच निकै चर्चित छ । यसले शान्ति सुरक्षा कायम गर्न र रोजगारको क्षेत्रमा विशेष अर्थ राख्ने उनीहरूको बुझाइ छ । यसबाहेक ट्रम्पले अगाडि सारेको आर्थिक नीति पनि उनको लागि फलदायी प्रमाणित हुनसक्ने अन्तर्राष्ट्रिय आर्थिक पोर्टल ‘इन्भेस्टर प्यालेस’को दाबी छ ।

यसबाहेक ट्रम्पले अगाडि सारेको वैदेशिक नीतिसम्बन्धी एजेण्डाले पनि आगामी चुनावमा महत्वपूर्ण भूमिका खेल्न गर्नसक्छ । रुस र युक्रेनबीच जारी युद्धको सन्दर्भमा पनि ट्रम्पले अमेरिकाले युक्रेनलाई प्रदान गर्दै आएको सहायताको खुलेरै आलोचना गर्दै आएका छन् । उनले अमेरिकाले वैदेशिक हस्तक्षेप कम गर्नुपर्ने र व्यापार सम्झौताहरूलाई पुनरावलोकन गरिनुपर्ने ‘अमेरिका फर्स्ट’ नामक अवधारणा अगाडि सारेका छन् । यसले बाह्य मामिलामा हस्तक्षेप गर्ने अमेरिकाको पुरानो परिपाटीबाट आजित मतदाताहरूलाई आकर्षित गर्नसक्ने ‘द गार्डियन’ले लेखेको छ ।

यता डेमोक्रेट पार्टीको नेशनल कन्भेनसनबाट दोस्रो कार्यकालको लागि राष्ट्रपति उम्मेदवारको रुपमा अगाडि बढेका जो बाइडेन चुनावी दौडबाट बाहिरिएपछि वर्तमान उपराष्ट्रपति कमला ह्यारिस अगाडि सरेकी छन् । सुरुमा ट्रम्प भर्सेस बाइडेनको चर्चा चल्दा ट्रम्पको पल्लाभारी भएको आँकलन थियो । अहिले कमला ह्यारिसको ‘इन्ट्री’ भएसँगै अमेरिकी राष्टपति चुनावमा कडा प्रतिस्पर्धा हुने टिप्पणी सुरु भएको छ ।

नायब जिल्ला न्यायाधिवक्ता, जिल्ला अधिवक्ता, महान्यायाधिवक्ता, सिनेटर हुँदै उपराष्ट्रपति भएकी ह्यारिस महिला प्रजनन अधिकार, आर्थिक नीति, जलवायु परिवर्तन, फौजदारी न्याय सुधारलगायतका मुद्दालाई अगाडि सार्दै चुनावमा होमिएकी छन् ।

ट्रम्प र कमलाका एजेण्डामा अन्तरविरोध ?

अध्यागमन नीतिलाई लिएर ट्रम्प र कमलाको एजेण्डाबीच अन्तरविरोध प्रस्ट देखिएको छ । ट्रम्प कडाभन्दा कडा अध्यागमन नीतिको वकालत गर्दै मेक्सिको सिमानामा पर्खाल लगाउन पर्छ भन्ने पक्षमा छन् । कमला अप्रमाणित आप्रवासीहरूका लागि नागरिकताको बाटो र आप्रवासनका मूल कारणहरूलाई सम्बोधन गर्नेलगायतका व्यापक अध्यागमन सुधारलाई समर्थन गर्छिन् ।

यसबाहेक फौजदारी न्याय सुधारको एजेण्डामा पनि ट्रम्प र कमलाबीच भिन्नता छ । कमला व्यापक आपराधिक न्याय सुधारका लागि जवाफदेहिता बढाउने, सामूहिक कारावास घटाउने र जातीय असमानताहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने वकालत गर्छिन् । यता ट्रम्प कडा कानून र व्यवस्थाको वकालत गर्छन् । उनले अघिल्लो कार्यकालमा पनि प्रहरीको अधिकार बढाउने तथा अपराधीलाई कडा सजाय दिने प्रावधानलाई बढावा दिएका थिए ।

जलवायु परिवर्तनको मुद्दामा पनि यी दुईबीच भिन्नता देख्न सकिन्छ । ट्रम्पको अघिल्लो कार्यकालमा अमेरिका जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि ‘पेरिस एग्रिमेन्ट’बाट पछाडि हटेको थियो । यस्तै प्रजनन् अधिकार तथा एल्जीबीटीईक्यू समुदायको अधिकार सम्बन्धमा पनि यी दुई उम्मेदवारबीच भिन्नता छ ।

अमेरिकामा राष्ट्रपति चुनाव हुन अझै साढे ३ महिनाभन्दा बढी समय बाँकी छ । त्यसैले अहिले कसले जीत हात पार्ला भन्ने आँकलन गर्नु जायज हुँदैन । प्रारम्भिक चरणको प्रक्षेपणलाई हेर्दा हालसम्म रिपब्लिकन उम्मेदवार ट्रम्पको सम्भावना डेमोक्रेट उम्मेदवार ह्यारिसभन्दा केही प्रतिशत बढी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गोली काण्डले चुनावमा ट्रम्पलाई कति असर पार्ला ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराको एक रिपोर्टअनुसार ट्रम्पमाथिको गोली प्रहारले अमेरिकाको विभाजित राजनीतिलाई थप सतहमा ल्याउन अहम् भूमिका निर्वाह गरेको कारण यसको असर आगामी चुनावमा पनि पर्नसक्छ । यो घटनाले अमेरिकालाई थप ध्रुवीकरण गर्नसक्ने अलजजिराको दाबी छ ।

साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टका अनुसार ट्रम्पमाथि लाग्दै आएका आरोप तथा मिडिया भाष्यका कारण ट्रम्पलाई राजनैतिक उत्पीडनको शिकार भएको उम्मेदवारको रुपमा लिँदै आएको छ । यस्तो परिस्थितिबीच ट्रम्पमाथि भएको उक्त आक्रमणले चुनावी नतिजामा असर पार्नसक्ने आँकलन गरिएको छ । यता अमेरिकी अखबार ‘भ्वाइस अफ अमेरिका’ले यस किसिमको घटनाले उब्जाउने प्रतिक्रिया क्षणिक भएकाले यसले राष्ट्रपति चुनावको नतिजामा खासै असर नगर्ने दाबी गरेको छ ।

अमेरिकी चुनावले विश्वमा कुन कुन क्षेत्रमा गर्छ असर ?

संयुक्त राज्य अमेरिका विश्व महाशक्ति राष्ट्र हो । यसैकारण अमेरिकी सत्ताको बागडोर कसले सम्हाल्छ भन्ने विषयमा विश्व समुदायको चासो हुने गर्दै आएको छ । अमेरिकी चुनावले विशेषगरी विश्व आर्थिक बजार, अन्तर्राष्ट्रिय व्यापार नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा वैदेशिक नीति, सैन्य सुरक्षा गठबन्धन, कूटनैतिक सम्बन्ध तथा सहमति, मानवीय तथा विकास सहायतालगायतका क्षेत्रहरूमा असर पार्ने गर्छ ।

उदाहरणका लागि व्यापार संरक्षणवाद र व्यपार नीतिको पुनरावलोकनको वकालत गर्दै आएका ट्रम्पले पहिलो कार्यकालको लागि चुनाव जितेसँगै अमेरिकी व्यापार नीतिमा ल्याएको परिवर्तनले गर्दा चीनसँग व्यापार युद्ध सुरू भई विश्वकै व्यापार तथा सप्लाइ चेनमा असर गरेको चाइना ब्रिफिङको एक रिपोर्टमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी, रोयटर्सलगायतका रिपोर्टहरूले पनि यस मान्यतालाई थप आधार दिएका छन् । यसबाहेक जलवायु परिवर्तनको असरलाई कम गर्ने लक्ष्यले अगाडि बढाइएको ‘पेरिस सम्झौता’बाट पछि हट्ने अमेरिकाको निर्णयलाई पनि अमेरिकी चुनाव, त्यसको नतिजा र यसले विश्व समुदायमा पार्ने असरको गतिलो उदाहरणको रुपमा लिन सकिन्छ ।

कार्बन उत्सर्जनमा विश्वका मुख्य मुलुकमध्य पर्ने अमेरिका नै पेरिस सम्झौताबाट बाहिरिनुले जलवायु परिवर्तनको असर न्यूनीकरणको मुद्दा फितलो बनेको दाबी विज्ञहरूको छ । यस अर्थमा अमेरिकाको आगामी नेतृत्वको विकास तथा सैन्य सहायता, वैदेशिक मामिलामा संलग्नता, सैन्य गठबन्धन आदि जस्ता विषयमा रहेको धारणाले विश्व भू-राजनीतिमा विशेष अर्थ राख्ने बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर