मौद्रिक नीतिको प्रभावले बैङ्कहरूको शेयरमा सर्किट, १५ अर्ब बढीको कारोबार – Nepal Press

मौद्रिक नीतिको प्रभावले बैङ्कहरूको शेयरमा सर्किट, १५ अर्ब बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११३ अङ्कले बढेको छ । मौद्रिक नीतिपछिको पहिलो कारोबारका दिन नेप्से परिसूचक ११३.४२ अङ्कले बढेर २६८१.५६ बिन्दुमा अडिएको हो ।

यस दिन बजारमा ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयरको खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार तीव्र उछाल आएको बजारमा आज बैङ्कहरूको सेयर मूल्य सर्किट लेबलमा कारोबार भएको छ । यस दिन नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबीआईै बैंक, सानीमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, कृषि विकास बैंक र नेपाल बैंक गरि १० वटा वाणिज्य बैङ्कहरूको सेयर मूल्यमा पोजेटिभ सर्किट लगेको छ । भने, उपकार लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर पनि सर्किट लेबलमा कारोबार भएको छ ।

आइतबार दोस्रो सर्किट खुलेको एक मिनेट नबित्दै नेप्से परिसूचकले २७०० को बिन्दुलाई पार गरेको थियो । जुन करिब २९ महिनापछि परिसूचकले पार गरेको हो । यसअघि २०७८ फागुन ११ गते नेप्से परिसूचक २७०० बिन्दुमाथि पुगेको थियो ।

आइतबार प्रि ओपन सेसनबाटै उच्च अंकले बढेको शेयर बजार ११ बजेर १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेक खुलेको दुई मिनेटमै दोस्रो सर्किट ब्रेक लगेर ४० मिनेटका लागि कारोबार बन्द भएको थियो ।

आइतबार प्रि ओपन सेसनमै नेप्से सूचक ३८ अंकले बढेर २६०६.४२ को बिन्दुमा अडिएको थियो । भने, कारोबार खुलेको १ मिनेटमै अर्थात् ११ बजेर १ मिनेटमै १०२.६८ अंकले बढेर शेयर बजारको कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।

दोस्रो सर्किट ब्रेक लाग्दा परिसूचक १२९.०७ अंकले बढेर २६९७.२१ को बिन्दुमा अडिएको थियो । दोस्रो सर्किट ब्रेकसम्म १३ लाख २०५ कित्ता सेयरको खरिदबिक्री हुँदा ५२ करोड ४९ लाख ६३ हजार रुपैयाँको कारोबार भएको थियो ।

शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ ।

मौद्रिक नीतिले बैंकहरुको नाफा वृद्धिमा सहयोग गरेको छ । जहाँ बैंकहरुले साउनको ब्याज आम्दानी पनि गत वर्षकै ब्यालेन्स सिटमा गणना गर्न पाउने  व्यवस्था गरिएको छ । यसका साथै मौद्रिक नीतिले सेयर धितो कर्जामा संस्थागत लगानीकर्ताका लागि लगाइएको २० करोडको क्याप पनि हटाइएको छ । यसले गर्दा पनि बैंकहरुको शेयर मूल्यमा उछाल आएको जानकारहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *