आरजु मन्त्री बनेपछि रिक्त कृषि समिति सभापति पदका लागि निर्वाचन हुँदै
काठमाडौं । रिक्त रहेको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको सभापतिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सभामुख देवराज घिमिरेको निर्देशनमा संसद सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
सोमबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थनसहित प्रस्ताव दर्ता गर्नुपर्ने छ । यस्तै दिउँसो साढे ४ दर्ता भएका प्रस्तावको सूची प्रकाशन हुनेछ ।
साढे ४ बजेदेखि सम्बन्धित समितिको सभा कक्षमा सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले जानकारी दिए ।
समितिका तत्कालीन सभापति डा. आरजु राणा परराष्ट्रमन्त्री बनेपछि उक्त पद रिक्त छ ।