राइड शेयरविरुद्धको आन्दोलनले पोखरा दिनभर तनावग्रस्त, सार्वजनिक यातायात बन्द गर्ने चेतावनी (भिडिओ)
काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले विभिन्न माग राखेर सुरू गरेको आन्दोलनका कारण पोखराको पृथ्वीचोक क्षेत्र दिनभर तनावपूर्ण बनेको छ ।
रातो प्लेटका दुई पाँग्रे र चार पाँग्रे सवारी साधनले राइड शेयारिङ सेवा सञ्चालन गरेको विरोधमा यातायात व्यवसायी प्रदर्शनमा उत्रिएका थिए । आइतबारसम्म आफ्नो माग पूरा नभए सार्वजनिक यातायात नै ठप्प पार्ने उनीहरूको चेतावनी छ ।
राइड शेयरिङविरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकले पोखराको पृथ्वीचोकमा ग. २० प ३९७३ को स्कुटर तोडफोड गरेका छन् । आन्दोलित सार्वजनिक यातायात व्यवसायीले पोखरामा दुई पत्रकारमाथि समेत आक्रमण गरेका छन् ।
व्यवसायीको आन्दोलनको भिडिओ खिचिरहेका पत्रकारद्वय विना थापा मगर र सुरज थापा मगरमाथि पोखराको पृथ्वीचोकमा आक्रमण कुटपिट गरेका छन् । सुरज सवार ग.२० प ३९७३ को स्कुटरसमेत तोडफोड गरिएको छ । आक्रमण गर्नेविरुद्ध जाहेरी लिएर पत्रकारहरू जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् ।
त्यस्तै कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले पत्रकारलाई कुटपिट गर्ने कार्यमा संलग्न ४ जनालाई पक्राउ गरेको बताए । नियन्त्रणमा लिइएका चारजनाले नै रक्सी खाएको उनले सुनाए ।
यातायात व्यवसायीले निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्न बनाउन लागेको कार्यविधिलाई तत्काल खारेज गर्नुपर्ने माग राखे । यस्तै यातायात प्राधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरूको माग छ ।