प्रतिपक्षमा हुत्तिएको माओवादी ‘ठूलो रुपान्तरण’ को प्रक्रियामा जाने (भिडिओ) – Nepal Press

प्रतिपक्षमा हुत्तिएको माओवादी ‘ठूलो रुपान्तरण’ को प्रक्रियामा जाने (भिडिओ)

काठमाडौं । कांग्रेस-एमालेको गठबन्धनसँगै प्रतिपक्षमा हुत्तिएको माओवादीले ‘ठूलो रुपान्तरण’ को प्रक्रियामा जाने बताएको छ ।

आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले ठूलो रुपान्तरणको प्रक्रियामा जाने निर्णय गरेको हो । बैठकपछि सञ्चाकरर्मीसँग प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान परिस्थिति र पार्टी निर्माणसम्बन्धी छलफल भइरहेको बताए ।

बैठकमा आज जनार्दन शर्मा, गणेश साह, हितमान शाक्य, गिरिराजमणि पोखरेल, श्रीराम ढकालले आफ्ना धारणा राखेका थिए ।

माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई लिएर जनतामाझ जानुपर्नेमा नेताहरूले जोड दिएको उनले सुनाए । जनतामा गएर राष्ट्रियता, जनजीविकाका सवालहरूलाई थप बलियो बनाउनुपर्ने सुझाव आएको पनि सापकोटाले जानकारी दिए ।

‘सरकारमा बसेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा भएको कुराको सामूहिक स्वामित्व लिनुपर्ने र कमी कमजोरी पनि गम्भीर समीक्षा गर्नुपर्नेमा अधिकांशको जोड रहेको छ’, उनले भने ।

सापकोटाले थपे, ‘वर्तमान परिस्थिति र पार्टी निर्माणसम्बन्धी नै छलफल भइरहेको छ । आज ५ जना कमरेडहरूले आफ्नो भनाइ राख्नुभयो । राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा, विश्व दृष्टिकोणका बारेमा सीमारहित छलफल छ । जसलाई जति समय आवश्यक छ, त्यसैअनुसार समय दिइएको छ । परिस्थिति जटिल र पेचिलो छ । हामीले एक खालका कार्यक्रम बनाएर जनतामा जानुपर्छ । हामी एउटा ठूलो रुपान्तरणको प्रक्रियामा छौँ ।’

पार्टी एक पटक पुनः जनतामा जाने गरी अभियान सञ्चालन गर्ने उनले सुनाए ।

पदाधिकारी बैठक सकिएपछि स्थायी कमिटी र केन्द्रीय कमिटी बसेर आवश्यक निष्कर्ष निकाल्ने प्रवक्ता सापकोटाको भनाइ छ ।


प्रतिक्रिया

4 thoughts on “प्रतिपक्षमा हुत्तिएको माओवादी ‘ठूलो रुपान्तरण’ को प्रक्रियामा जाने (भिडिओ)

  1. यस्ता ढाँटका छल कुरा कसले पत्याउने अब ? ठग कुरा लिएर जनताकोमा नआउ ।

  2. सत्ता प्राप्त हुदा comfortable government देखि गेरूबस्त्रशस्त्र सम्म देखेकै हो २०६४ देखि लगातार सत्तामा रहदा विकृतिको डंगुर माओवादीहरूले प्राप्त गरेकै हुन ससस्त्र आन्दोलनको उपलब्धि माओवादी नेता कार्याकर्ताले यो लोक मात्र होइन परलोक पनि सुधारेकै हो अब बाकी के छ र

  3. पूर्व आतंककारीहरुको समूह अब विलयमा जानुपर्छ ।

  4. माओवादी देशव्यापीरुपमा आफ्नो पार्टीको structural conversion मा जुट्दा देशलाई निक्कै राम्रो हुने पक्का छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर