गँड्यौला मल उत्पादनमा डोटीका किसान – Nepal Press

गँड्यौला मल उत्पादनमा डोटीका किसान

डोटी । डोटीको जोरायल गाउँपालिका-३ बरमकी आकृति कठायत जोशी अचेल गँड्यौला मल उत्पादनमा लागेकी छन् । कम लगानीमा राम्रो प्रतिफल पाइने भएपछि उनी गँड्यौला मल उत्पादनमा लागेकी हुन् ।

‘मैले गँड्यौला मल उत्पादन गर्न थालेको करिब एक वर्ष भयो’, बेलात कृषि तथा पशुपालन फर्मकी सञ्चालक आकृति भन्छिन्, ‘८ वटा खाडल बनाएर गँड्यौला मल उत्पादन गरिरहेकी छु ।’

आफूले उत्पादन गरेको मल कृषि ज्ञान केन्द्र डोटी र जोरायल गाउँपालिकाले खरिद गर्ने गरेको आकृतिको भनाइ छ ।

जोखिम पनि कम हुने, लगानी पनि कम लाग्ने र उत्पादन पनि राम्रै हुने भएपछि आफूले गँड्यौला मल उत्पादन गर्न लागेको उनको भनाइ छ । अहिले आफूसँग करिब ५० किलो गँड्यौला र १० क्विन्टल जति मल तयारी अवस्थामा रहेको उनको भनाइ छ । उनी थप्छिन्, ‘गँड्यौला र मलको माग बझाङ र डडेल्धुरा जिल्लामा समेत आइरहेको छ ।’

डोटीका किसानहरु पछिल्लो समयमा जिल्लामा गँड्यौला मल उत्पादनप्रति आकर्षित हुन थालेका छन् । कम लगानीमा राम्रो प्रतिफल पाउन सकिने देखेपछि किसानहरु गँड्यौला मल उत्पादनमा लागेका छन् । कृषि ज्ञान केन्द्र डोटीले गँड्यौला मल बनाउन आवश्यक सहयोग गरेपछि गँड्यौला मल र गँड्यौला उत्पादन गर्न थालेका हुन् ।

दिपायल सिलगढी नगरपालिका–५ सिलगढीका किसान जयबहादुर शाही पनि गँड्यौला खेतीमा लागेका छन् ।

‘समग्रमा आम्दानी पनि राम्रै हुन्छ, गड्यौला मल उत्पादन बढाउन सके पालिकाहरुले पनि खरिद गर्न सक्ने देखिन्छ’, शाहीले भने, ‘आफूसँग गाईभैंसी नभएकाले गोबर अन्यत्रबाट किनेर ल्याउनु परेको छ ।’

कच्चापदार्थ आफैंसँग भए गँड्यौला मल उत्पादन गर्न सहज हुने उनी बताउँछन् ।

जिल्लामा ८ किसानले व्यवसायिक रुपमा गँड्यौला मल उत्पादन गरिरहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले जानकारी दिए ।

‘जिल्लामा गँड्यौला मलको माग बढ्न थालेपछि अन्य किसानहरुलाई पनि गड्यौला मल बनाउन आवश्यक सामग्री उपलब्ध गराएका छौं’, अवस्थीले भने, ‘जिल्लामा गँड्यौला मलको उत्पादन बढाउन स्थानीय तहहरुसँग समन्वय गर्ने तयारीमा छौं ।’

अवस्थीले रसायनिक मलले माटोको गुणस्तर कमजोर हुने, आवश्यक परेको बेला रासायनिक मल नपाइने र अत्यधिक प्रयोगले माटोको उर्बराशक्तिमा ह्रास आउने र महँगो हुने भएकाले किसानहरुलाई गँड्यौला मल उत्पादन तथा प्रयोगमा जोड दिइएको बताए ।

‘गँड्यौला मलको प्रयोगले रासायनिक मलको प्रयोग घटाउँछ र बाली विरुवाको वृत्ति विकास पनि छिटो हुन्छ’, उनले भने, ‘गँड्यौला कम्पोष्टको कार्बन नाइट्रोजन अनुपात परम्परागत गोठेमल वा कम्पोष्टको भन्दा कम हुन्छ र यसमा भएको नाइट्रोजन विरुवालाई तुरुन्तै उपलब्ध हुने गर्छ ।’

खेती र घरेलु फोहर वस्तुहरुबाट यो मल बनाइने हुँदा वातावरणलाई स्वस्छ राख्न मद्दत पुग्ने अवस्थी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *