रोहितको सुस्त ब्याटिङ, टोरन्टोको पहिलो हार
काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० मा नेपालका रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनलले पहिलो हार व्यहोरेको छ । सर्रे जगुअर्स विरुद्धको खेलमा टोरन्टो ८० रनको विशाल अन्तरले पराजित भएको हो ।
जगुअर्सले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १६१ रन बनाएको थियो । जगुअर्सका कप्तान मार्कस स्टोइनिसले ३७ बलमा सर्वाधिक ५७ रन बनाए ।
जवाफी ब्याटिङका टोरन्टोले ८१ रन मात्र जोड्न सक्यो । रोहितले पहिलो पटक ब्याटिङको मौका पाएका थिए । तर उनको प्रदर्शन बिर्सनलायक रह्यो । उनले २५ बल सामना गर्दा १० रन मात्र जोड्न सके ।
रोहित क्रिजमा आउँदा टोरन्टोले ७.४ ओभरमा ३ विकेट गुमाएर ५७ रन जोडिसकेको थियो । तर रोहितले सुरूबाटै सुस्त ब्याटिङ गरेपछि रनरेटको दबाब बढ्यो । अर्को इन्डमा लगातार दुई विकेट गएकाले रोहित रक्षात्मक बन्न बाध्य भएका थिए । उनले एउटा पनि बाउन्ड्री लगाउन सकेनन् ।
१७ औँ ओभरमा सटोइनिसले रोहितसहित तीन ब्याट्सम्यानलाई शिकार बनाउँदै जगुअर्सलाई लज्जास्पद हार चखाए । टोरन्टोले यसअघि दुई खेल लगातार जितेको थियो ।