प्रहरीको गाडी मध्यरातमा लेकसाइडको चोकमा ठोक्कियो, मापसे गरेर चलाएको आशंका
पोखरा । वडा प्रहरी कार्यालय बैदामको गाडी गएराति पोखरा महानगरपालिका–६, लेकसाइडको शान्ति पाटन चोकमा ठोकिएको छ ।
वडा कार्यालयले प्रयोग गर्दै आएको ग १ झ ५५१ नम्बरको उक्त गाडी गएराति लोकसाइडको शान्तिपाटन चोकमा ठोक्किएको हो ।
चोकमा रहेको सिमेन्टेड डिभाइडरमा ठोक्किँदा गाडीको अगाडीको भाग कुच्चिएको छ भने, डिभाइडरसमेत भत्किएको छ ।
घटना गएराति एक बजेको भएको बताइएको छ । तर, उज्यालो हुन नपाउँदै गाडी त्यहाँबाट हटाइएको छ ।
गाडी ठोकिएको केही बेरमा प्रहरीले क्रेन लिएर ठोकिएको गाडीलाई हटाएका हुन् । त्यसै क्रमको स्थानीयले प्रहरीले मापसे गरेर गाडी चलाएकोले दुर्घटना भएको उल्लेख गरेका छन् ।
स्थानीयले प्रहरीले मापसे गरेर हिँड्दा उनीहरूको गाडीबाट असुरक्षित महसुस गर्नुपर्ने अवस्था आएको बताए ।
बैदामबाट काठमाडौं सरुवा भएर जान लागेका डिएसपी राजेन्द्र श्रेष्ठले ड्राइभरले मापसे नगरेको दाबी गरे ।
‘गाडी दुर्घटनापछि ड्राइभरलाई छातीमा लागेको रहेछ । त्यहाँबाट रेक्यु गरेर हस्पिटल पुर्यायौं । त्यहाँ गएर तत्कालै मापसे चेकिङ पनि भयो । त्यस्तो केही देखिएन,’ उनले नेपाल प्रेससँग भने ।
कुकुरलाई बचाउने क्रममा गाडी चोकमा ठोकिएको डिएसपी श्रेष्ठको जिकिर छ । उनले भने, ‘झार लिएर पानी लिन गएका हुन् । बाटोमा कुकुरलाई बचाउने क्रममा चोकका ठोकिएको हो ।’
जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी मोहनकुमार थापाले घटनाको विषयमा बुझ्ने काम भइरहेको बताए ।
‘गएराति पौने २ बजेको घटना हो । मानवीय क्षति चाहिँ भएको छैन । घटनाबारे बुझ्ने क्रम जारी छ,’ उनले भने ।