नेपालको बाघ कूटनीति: शिकार युगमा चन्द्रशमशेर, संरक्षण युगमा माधव नेपाल सफल
काठमाडौं । सन् २०१० को नोभेम्बर २४ मा रुसको सेन्ट पिटर्सबर्गमा विश्वकै पहिलो बाघ सम्मेलन भयो । सम्मेलन सकिएको दिन बेलायती अखबार गार्डियनले समाचार बनायो- द्विविधाका बावजुद ३३ करोड युरो छुट्याउँदै विश्वको प्रथम बाघ सम्मेलन सम्पन्न । उक्त समाचारको प्रमुख तस्विरमा ‘बाघ जोगाऔं’ भनेर अङ्ग्रेजीमा लेखिएको नाराको अगाडि हिँड्दै गरेका तीन जनाको तस्विर छ । नेपालका माधवकुमार नेपाल, बंगलादेशकी शेख सहिना र रुसका भ्लादिमिर पुटिन । यो त्यतिवेलाको समय थियो, जतिबेला यी तीनै जना आआफ्नो देशका प्रधानमन्त्री थिए ।
विश्वको प्रथम बाघ सम्मेलनमा आगामी १२ वर्षमा बाघको संख्या दोब्बर बनाउने घोषणा भएको थियो । उक्त सम्मेलनमा सहभागी १३ देशमा नेपालको प्रतिबद्धता गम्भीर थियो । पुटिन र विश्व बैंकका प्रमुख रोबर्ट जोएललिकको अगुवाइमा भएको बाघ सम्मेलनमा नेपालले १२ वर्षमा बाघ दोब्बर बनाउने प्रतिबद्धता पूरा गरेरै छाड्यो ।
सरकारी तथ्यांकअनुसार सन् २०२२ मा नेपालमा बाघ आँकडा ३५५ पुग्यो । सन् २०१० ताका भएका १२१ भन्दा यो दोब्बरभन्दा धेरै भयो । अझै बाघको संख्या बढ्दो क्रममा छ । बाघ बढेर बस्तीमा पसेको समस्या त चुलिएकै छ, तर नेपालले रुसमा भएको विश्व बाघ सम्मेलनको प्रतिबद्धता पूरा गर्ने एकल देश हुने अवसर पायो । रुसको सम्मेलनमा सहभागी बाघ हुने देशहरुमा नेपालसहित आयोजक रुस, भारत, बंगलादेश, भुटान, चीन, इण्डोनेसिया, लाओस, म्यानमार, मलेसिया, कम्बोडिया, भियतनाम थिए । पाँच सय रुपैयाँको नोटमा बाघको चित्र राखेको नेपालमा बाघ यही गतिमा बढ्ने हो भने केही दशकमै पाँच सयको मार्क भेट्ने अनुमान गर्न सकिन्छ ।
नेपालको बाघ प्रतिबद्धताको पूर्णतामा माधव नेपालको नेतृत्वदायी भूमिका छ । बाघ सम्मेलनमा जानुभन्दा अगाडिदेखि नेपालको त्यो गम्भीरता देखिन्थ्यो । नेपाल देश र नेपाल प्रधानमन्त्री दुवैको सक्रियतामा त्यो सम्भव भएको थियो ।
उदाहरणको लागि रुस जानुभन्दा दुई महिना अगाडि सेप्टेम्बर १४ मै नेपालले बाघ अंकित हुलाक टिकट सार्वजनिक गरेको थियो । विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा नेपालले त्यस्तो निर्णय गरेको थियो । नेपालले रुसमा बाघ सम्मेलनमा सहभागिता जनाउनुभन्दा पहिले हो, हेडलाइनले विश्वको नेपालमा ध्यान पुगेको थियो । बाघ वर्ष भनेर सन् २०१० लाई तोकिएको थियो । नेपालको बाघबारेमा गम्भीरता सन् २००९ मै देखिएको थियो ।
बाघको संरक्षण गर्न प्रधानमन्त्री तहबाट देशको पहिलो बाघ विज्ञ सम्मेलन सन् २००९ अक्टोबर २७ बिहान ११ बजे आयोजना भएको सम्मेलनमा २१० बाघ क्षेत्रका जानकार, संरक्षणकर्मीहरु तथा विज्ञहरु सहभागी भएका थिए । यो सम्मेलनको अगुवाइ तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए ।
नेपालको बाघ दोब्बर त्यो समयमा भयो, जुन समयमा विश्वभर बाघ लोप हुने डर भइरहेको थियो । उदाहरणको लागि सन् १९९४ मार्च २८ को अंकमा अमेरिकाको टाइम म्यागाजिनले कभर स्टोरी बनाएर बाघ लोप हुने निश्चित भएको समाचार बनाएको थियो । बाघ क्षेत्रमा काम गर्ने जानकार महेन्द्र श्रेष्ठले बेलायती अखबार दि इन्डिपेन्डेन्टमा एक लेख लेखेर बाघको लोप रोक्न नसकिने झैँ गरेर आलेख लेखेका थिए । सन् २००७ अक्टोबर ३१ मा लेखिएको लेखको निचोडमा पुग्दा वासिङ्टनमा केन्द्र रहेको सेभ दि टाइगर नामक संस्था चलाउने श्रेष्ठले लेखेका थिए, ‘पछिल्लो शताब्दीको सुरुमा एसियामा एक लाख बाघ थिए । हामीले यी अन्तिम जीवहरुलाई बचाउनु छ भने केही जादु जस्तै हुन आवश्यक छ ।’
टाइम म्यागाजिनको चिन्ता आएको तीन दशक नपुग्दै र महेन्द्र श्रेष्ठको चिन्ता प्रकट भएको डेढ दशकमै नेपालले बाघ दोब्बर बनायो । यसैकारण पनि नेपालको बाघ दोब्बर भएको कथालाई विश्वले ध्यानपूर्वक हेरिरहेको छ । नेपाल बाघ संरक्षण्को विश्व नेता भएको छ । भारत, चीन, रुस जस्ता बाघ भएका विशाल देशहरुले पनि बाघ संरक्षणको कुरा गर्दा नेपाल जस्तो सानो देशको सफलताको कथा उदारहण दिने अवस्था आएको छ ।
बाघ संरक्षण युगमा मात्रै होइन, शिकार युगमा पनि सफल थियो नेपाल
सन् १९७३ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ल्याएर कानूनी रुपमा बाघको संरक्षण गर्नुभन्दा अगाडिसम्म बाघ शिकार नेपालमा गैरकानूनी थिएन । त्यो शिकार युगमा नेपाल त्यत्ति नै सफल थियो, जत्ति अहिले संरक्षण युगमा भएको छ ।
बाघको शिकारको कथामा बन्दुकको प्रवेश भारतीय उपमहादेशमा अकबरका छोराको पालाबाट भएको बताउँछन् बाघका जानकार तथा लेखक हेमन्त मिश्र । विश्व प्रसिद्ध प्रकाशन गृह पेन्गुइनबाट प्रकाशन भएको पुस्तक ‘बोन्स अफ दि टाइगर’मा मिश्रले अकबरका छोरा जाहाङ्गिरले पहिलो पटक बन्दुकले शिकार गरेको बताएका छन् । उनले यो पनि बताएका छन् कि उनै जाहाङ्गिरले नै बेलायतीहरुलाई सन् १६१७ मा भारतभर खुलेआम व्यापार गर्न दिए । जसले सन् १८५८ देखि १९४७ सम्म बेलायतको सीधा र त्योभन्दा अगाडि घुमाउरो उपनिवेशमा सहयोग पुग्यो । अकबरका छोराले ल्याएको शिकारमा बन्दुक र व्यापारमा बेलायतीसँगै जोडिन्छ नेपालको बाघ शिकार कूटनीति ।
भारतीय उपमहादेश सबैजसो कब्जामा लिएर बसेको बेलायती साम्राज्यसँग लय मिलाएर नेपाल एक स्वतन्त्र देश रहन सक्नुमा कुनै न कुनै देखिने रुपमा बाघको पनि भूमिका छ । बाघ क्षेत्र दक्षिण एसियामा नेपालबाहेक विभिन्न भारतीय उपमहादेशका राजारजौटाको क्षेत्रमा बाघ पाइन्थे, तर भएको बाघलाई शिकार गराएर आफ्नो कूटनीतिक फाइदा लिएर देशको अस्तित्व स्वतन्त्र राख्नलाई नेपालका जंगबहादुरदेखि जुद्धशमशेरसम्मका राणा शासकहरु धेरै चतुर थिए । त्यसमा पनि सबैभन्दा चतुर चन्द्रशमशेरलाई लिन सकिन्छ ।
चन्द्रशमेशर प्रधानमन्त्री बन्नु अगाडि सेनाको नेतृत्वमात्रै हुँदा बेलायतीसँग राम्रो सम्बन्ध बन्यो । अङ्ग्रेजी भाषा फरर बोल्ने, म्याट्रिक उत्तीर्ण तथा सन् १८८३ मा कोलकाता विश्वविद्यालयको प्रवेश परीक्षा पास गरेका कारण उनको अङ्ग्रेजसँग उठबस राम्रो थियो । त्यो उठबस बाघ शिकारसँगै जोडिन्छ । बाघ शिकारसँगै बलियो हुन्छ ।
सन् १८९९ मा बेलायत शासित भारतको नेतृत्वमा लर्ड कर्जन आए । सन् १९०१ अप्रिलमा उनी शिकार खेल्न नेपालको तराई मोरङ आए । त्यो समयमा सेनाको नेतृत्वमा मात्रै भएका चन्द्रशमशेरले कर्जनसँग राम्रो सम्बन्ध बनाए । त्यसको दुई महिनामै उनले देशशमशेरलाई रक्तपातविहीन कू गरेर हटाए । हटाउनासाथ चन्द्रशमशेरले लर्ड कर्जनको साथ पाए । त्यस्तो साथ चन्द्रशमेशरभन्दा अगाडिका प्रधानमन्त्री रणोद्वीप सिंहलाई हत्या गर्दै रक्तपातपूर्ण कू गरेर सन् १८८५ मा सत्तामा आएका वीरशमशेरले पाउन कैयौं महिना कुर्नुपरेको भारतस्थित नेपाली दूतावासले २०४७ वैशाखमा प्रकाशन गरेको पुस्तक ‘डिप्लोम्याटिक हिस्ट्री अफ नेपाल’मा लेखक मदनकुमार भट्टराईले उल्लेख गरेका छन् । चन्द्रशमशेर सन् १९०१ जुन २७ मा सत्तामा आउन बेलायती साथ भएको ‘लगभग निश्चित’ भएको बताउँछन् बेलायती लेखक तथा अवकाश प्राप्त जर्नेल साम कोवन । कोवनले लेखेको किताब ‘महाराजस, एम्पेरर्स, भाइसरोए, बोर्डस्’मा उनले यो लेखेका छन् ।
सन् १९०३ जनवरी १ मा बेलायतका राजा एडवार्ड सातौं दिल्ली आए । एडवार्ड राजकुमार हुँदै जंगबहादुरको समयमा नेपालमा बाघ शिकार खेल्न आएका थिए । नेपालका राजालाई गरिएको निम्तोमा चन्द्रशमशेरले प्रतिनिधित्व गरे । उनी दिल्ली पुग्नु अगाडि कोलकाता राजधानी भएको बेलायती शासक लर्ड कर्जनलाई भेट्न पुगे । सन् १९०२ डिसेम्बरमा उनीहरुको भेटवार्ता दश मिनेट भनिएको थियो, तर भेट डेढ घण्टा भएको थियो ।
दिल्ली गएकै बेला चन्द्रशमशेरले लर्ड किचनर भेटे । किचनर भारतमा रहेको बेलायती सेना प्रमुख थिए । यी दुईको मित्रता पनि बलियो भयो । त्यसैको फलस्वरुप किचनर सन् १९०६ मा काठमाडौं आएका थिए । सन् १९०८ मा चन्द्रशमेशर बेलायत बोलाइए । ५८ वर्ष अगाडि सन् १८५० मा बेलायत पुगेका जंगबहादुरकै पदचाप लिएर चन्द्रशमशेर बेलायत पुगेका थिए । राजा एडवार्ड सातौंले उनलाई स्वागत गरे । चन्द्रशमशेरले बेलायतबाहेक जंगबहादुरले घुमेको फ्रान्ससहित इटाली तथा स्विटजरल्याण्ड पनि यात्रा गरेका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले उनलाई मान्नार्थ महाविद्यावारिधि दियो ।
सन् १८५८ मा जंगबहादुरलाई दिइएकै तक्मा ‘जीसीबी’ चन्द्रशमशेरलाई पनि दिइयो । जंगबहादुरभन्दा स्तरीय देखाउन उनलाई तक्माको तारा हिराको दिइएको थियो । बेलायती अवकाश प्राप्त जर्नेल तथा लेखक साम कोवनका अनुसार त्यो हिराको मुल्य तत्कालीन समयमा ४८० पाउण्ड थियो । अहिलेको मूल्यको तुलनामा ६० हजार पाउण्ड बढी हुने उनले लेखेका छन् । हिराको तारा बनाउने प्रयत्न राजा एडवार्ड सातौं आफैंले गरेको कोवनले बेलायती अर्काइभ साभार गरेर पुस्तकमा लेखेका छन् ।
सन् १९१० मा मे ६ मा बेलायती राजा एडवार्ड सातौंको मृत्यु भएपछि नयाँ राजा भए जर्ज पाँचौं । उनी सन् १९११ मा भारतको दिल्लीमा आए । समारोहका निम्तालुमा एक चन्द्रशमेशर थिए । उनले जर्ज पाँचौंसँग सम्बन्ध बनाएर नेपाल भ्रमणको निम्तो दिए । सन् १९११ डिसेम्बरमा चितवनको ठोरी भएर जर्ज पाँचौं तराईमा शिकार खेल्न आए । चन्द्रशमशेर पनि शिकार खेल्न सँगै रहे ।
चन्द्रशमशेरका साइँला छोरा केशरशमशेरले लेखेको पुस्तक ‘सम नोट्स अन शिकार इन नेपाल’मा लेखिएअनुसार जर्ज पाँचौंले चितवनमा सन् १९११ को डिसेम्बर १६ देखि २८ सम्म शिकार खेलेका थिए । उनको टोलीले ३९ बाघ शिकार गरेकाे थियाे । शिकार खेलेर पुलकित राजा जर्ज पाँचौंले चन्द्रशमशेरलाई भावुक पत्र लेखेका थिए । पत्रमा उनले भनेका थिए, ‘प्रिय महाराजा, म तपाईं र तपाईंका जनतालाई मेरा सबैभन्दा सच्चा मित्रको रुपमा लिनेछु ।’
त्यो शिकार सकिएको एक दशकपछि फेरि चन्द्रशमशेरको बाघ शिकारमा आए तत्कालीन बेलायती राजकुमार तथा भविष्यका राजा एडवार्ड आठौं । राजकुमारले सन् १९२१ डिसेम्बर १४ बाट २१ सम्म चितवनमा बाघ शिकार गरेको ‘डिप्लोम्याटिक हिस्ट्री अफ नेपाल’मा लेखक मदनकुमार भट्टराईले उल्ल्लेख गरेका छन् । दशक अगाडि बाबुसँग र दशकपछि छोरासँग शिकार खेल्दा चन्द्रशमशेरले नयाँ सन्धि गर्न प्रस्ताव गरे । पहिलो विश्वयुद्धमा ज्यान दिएका नेपालीहरुको कथा, सन् १९०३ मा बेलायतले भोट हमला गर्दा नेपालले दिएको कूटनीतिक तथा लजिस्टिक साथको कथा र बाघ शिकारको क्रममा बढेका मित्रताले अन्नतः बेलायतले नयाँ सन्धि गर्न राजी भयो ।
त्यसैको फलस्वरुप सन् १९२३ डिसेम्बर २१ मा उक्त सन्धि भयो । सन्धिले नेपाल स्वतन्त्र देश भएको मान्यता औपचारिक रुपमा पायो । हुन त नेपाल स्वतन्त्र देश नै थियो । तर, स्वतन्त्र देश बन्नलाई कि त आफैं देश शक्तिशाली हुनुपर्छ कि त विश्व महाशक्ति देशले स्वतन्त्र भएको मान्यता दिनुपर्छ । त्यो सन्धि बेलायतले नेपाल स्वतन्त्र देश भएको मान्यता दिएको औपचारिक दस्तावेज थियो । सन्धिको पहिलो धारामै भनिएको छ, ‘नेपाल र ग्रेट ब्रिटेनका बीचमा सदाबहार मित्रता हुनेछ । दुवै सरकारले एकअर्काको आन्तरिक तथा बाह्य स्वतन्त्रतालाई मान्यता तथा सम्मान गर्नेछन् ।’
धेरैले त्यो सन्धि नभएको भए सन् १९४७ मा भारत स्वतन्त्र हुँदा गाभिएका विभिन्न राज्य जस्तै नेपाल पनि एक त्यस्तै राज्य हुनसक्ने तर्क पेश गर्दै आएका छन् । गोवा र हैदरावाद जस्ता राज्यहरु भारतको स्वतन्त्रतापछि भारतमा गाभिन तयार नहुँदा सैन्य हस्तक्षेप गरेरै भारतमा गाभिएका घटना हेर्दा पनि त्यो तर्कमा दम देखिन्छ ।
Great to read these kind of article