पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिने मन्त्री मनाङेलाई कारबाही गर्न माग
पोखरा । पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई कारबाही गर्न सञ्चारकर्मीहरुले माग गरेका छन् ।
संसदीय पत्रकार मञ्च गण्डकीले मनाङेलाई कारबाहीको माग गर्दै सोमबार कार्यबाहक मुख्यमन्त्री विन्दुकुमार थापालाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
पत्र बुझेपछि कार्यबाहक मुख्यमन्त्री थापाले आफूले आइतबार राति नै यस विषयमा मन्त्री गुरुङलाई ध्यानाकर्षण गराएको प्रतिक्रिया दिए ।
मनाङेले आइतबार भेष्ट लगाएर कार्यकक्षमा बसेको फोटो खिच्ने पत्रकारलाई कुट्नुपर्ने भनेर अभिव्यक्ति दिएका थिए ।
राइड सेयरिङलाई बन्द गर्नुपर्ने मागसहित यातायात व्यवसायीले आइतबार सार्वजनिक सवारी बन्द गरेका थिए । सो विषयको रिपोर्टिङ गर्न पुगेका दुई पत्रकारलाई यातायात मजदुरले कुटपिट गरेका थिए । त्यसपछि मन्त्रीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारलाई मनाङेले दुई जनालाई नभई पत्रकार अमृत सुवेदीलाई कुट्नुपर्ने अभिव्यक्ति दिएका हुन् ।