पोखरामा स्कुल बस दुर्घटना: छानबिन गर्न समिति गठन – Nepal Press

पोखरामा स्कुल बस दुर्घटना: छानबिन गर्न समिति गठन

पोखरा । पोखरा महानगरपालिकाले वडा नम्बर २१ छरछरेमा सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

मेयर धनराज आचार्यको निर्देशनमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ७ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिएको हो ।

समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य तथा समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारीलाई तोकिएको छ ।

समितिलाई दुर्घटनाको कारण, सवारीसाधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीहरूको सङ्ख्या, विद्यार्थी राख्न पाउने सङ्ख्यालगायत विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिए ।

बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीय आरती विक र उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *