रुपन्देहीका ५५३ जना भूमिहीनलाई भूमि व्यवस्थामन्त्री अधिकारीले दिए लालपुर्जा
रुपन्देही । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले रुपन्देहीका ५५३ जना स्थानीयलाई लालपुर्जा वितरण गरेका छन् ।
मन्त्री अधिकारीले सोमबार रुपन्देही जिल्लाको सियारी गाउँपालिकाको ४ वडामा रहेका १९ वटा गाउँ ब्लकहरुको नापी नक्सा पूरा भएका ५५३ वटा लालपुर्जा वितरण गरेका हुन् ।
लालपुर्जा पाएपछि ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरु अत्यन्त खुसी भए । वर्षौंंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पीडाबाट मुक्ति पाएको स्थानीयले प्रतिक्रिया दिए ।
लालपुर्जा वितरण गर्दै मन्त्री अधिकारीले भूमि आयोग गठनको अन्तिम तयारीमा रहेको बताउँदै भूमिहीनको समस्या स्थायी रुपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले पाँच लाख भूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको उनले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले मन्त्री अधिकारीका कारण लालपुर्जा वितरण सम्भव भएको बताए ।